स्वदेशी लगानीले झलमल्ल गाउँघर
डा. डम्बरबहादुर नेपाली
प्रमुख कार्यकारी अधिकृत
मैलुङ खोला जलविद्युत् आयोजना
धेरैलाई लाग्न सक्छ, समाजमा प्रतिष्ठा र सम्मानको जिन्दगी बाँच्न सम्पन्न परिवारमा जन्मिनु र हुर्किनुपर्छ । तर, यसलाई बिलकुलै झूट्टा प्रमाणित गरेका छन् डा. डम्बरबहादुर नेपालीले । अनाथालयबाट प्रारम्भ भएको उनको जीवनयात्रा समाजमा एउटा सफल, योग्य, कर्मठ र मेहनती व्यक्तित्वका रूपमा स्थापित भएको छ । नेपाली मात्र आर्थिक स्रोत, प्राविधिक र निर्माण व्यवसायीहरूको मेहनतबाट पहिलोपटक विद्युत् उत्पादनको अगुवाइ गर्ने श्रेय उनैलाई जान्छ । पेशाले जलविद्युत् इञ्जिनीयर हुन् उनी । नेपाल विद्युत् प्राधिकरणको जागीरबाट अवकाशप्राप्त जीवन बिताइरहेका छन् । उनको मेहनत र कर्मलाई नियाल्न टाढा जानु पर्दैन । राजधानीनजिकै रहेको हिमाली जिल्ला रसुवा पुगे हुन्छ । यहाँ उनको अगुवाइमा नेपालीको मेहनतमा बनेको चिलिमे जलविद्युत् आयोजनाको सफलता देख्न पाइन्छ । नदी, खोलानालालाई प्रविधिसँग जोड्दै नेपाली ज्ञान, शीप, मेहनत र लगानीबाट बिजुली उत्पादन गरेर गाउँबस्तीलाई झलमल्ल बनाउने अभियानमा जुटिरहेका छन् उनी ।
सो आयोजनामा कुशल व्यवस्थापन रह्यो उनको । 'आखिर मेरो परिचय नै यही आयोजना बन्यो,' उनले भने । विदेशी कम्पनीहरूले नेपाली खोलानालामाथि आँखा लगाइरहेका बेला उनले पहिलोपटक कसैले नसोचेको चिलिमे आयोजना निर्माणको जोखिम उठाए । २०५० सालमा शुरू भएको सो आयोजनाको अवधारणा सबैलाई आर्श्चर्यचकित बनाउँदै २०६० को मध्यतिर सम्पन्न भयो । यो निकै छोटो अवधिमा सम्पन्न भएको आयोजना बन्न पुग्यो । चिलिमेले हाल २२ दशमलव १ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँ लागत रहेको सो आयोजनाले ४ वर्षमै सम्पूर्ण ऋण चुक्ता गर्दै एउटा उदाहरण प्रस्तुत गरेको छ ।
विसं.२००७ साउनमा भक्तपुरमा जन्मिएका उनी १ वर्षनपुग्दै अभिभावकविहीन बन्नपुगे । उनको विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा परोपकार अनाथालयले लियो । कसैले नसोचेको उत्कृष्ट नतिजा हासिल गर्दै ०२४ सालको एसएलसीमा उनी बोर्ड प्रथम भए । आईएस्सी पढेर 'कोलेम्बो प्लान'अन्तर्गतको छात्रवृत्ति प्राप्त गर्दै दिल्ली विश्वविद्यालयबाट इञ्जिनीयरिङ गरे उनले । नेपाल फर्किएर विद्युत् विभाग, खानेपानी विभाग, कन्काई बहुउद्देश्यीय, मस्याङ्दी, कालीगण्डकी र बागमती बहुउद्देश्यीयलगायतका आयोजनामा काम गरे । 'सेडिमेण्टोलोजी'विषयमा अध्ययन गरेका उनी पहिलो नेपाली इञ्जिनीयर हुन् । सोही कोर्षपूरा गर्न सरकारले उनलाई अमेरिका पठाएको थियो । र, त्यहीँ 'एक्सपेरिमेण्टल डिजाइन अफ फ्री रोटर रिभर टर्वाइन' (बगिरहेको नदीबाट टर्बाइन घुमाई बिजुली निकाल्ने) विषयमा उनले विद्यावारिधि गरे ।
अमेरिकाका थुपै अवसरले उनलाई त्यता रोक्न सकेन । नेपालका नदीनालालाई सदुपयोग गर्दै गाउँबस्ती झलमल्ल पार्ने सपनाका साथ उनी नेपाल फर्किएको बताउँछन् । 'त्यसैले म स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै सानै भए पनि एउटा आयोजना निर्माण गर्न चाहन्थेँ,' उनले चिलिमे निर्माणका लागि पहल गर्नुपरेको कारण स्पष्ट पार्दै भने,' 'त्यही सिलसिलामा पुवा खोला, भोटेकोशी, मेलम्ची, बलेफी, मस्याङ्दी र चमेलिया जलविद्युत् आयोजनास्थलको पनि अध्ययन गरेँ' । नेपाली आफैले आयोजना निर्माण गर्न सक्छन् भन्ने कुरामा न त्यतिबेला प्राधिकरणले विश्वास गथ्र्यो न त राजनीतिक नेतृत्वले,' उनले विगत सम्झँदै भने, 'तर मैले अठोट लिएँ र चिलिमे आयोजना सम्पन्न गरेँ ।'
०६५ साल वैशाख १ गते विद्युत् प्राधिकरणको निर्देशक पदबाट अवकाश लिएका उनी हाल रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । पाँच मेगावाटको यो आयोजनालाई १ सय मेगावाटसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उनी बताउँछन् । अनुशासन, इमानदारिता र कडा परिश्रम नै उनको व्यवस्थापनको मूलमन्त्र हो । उनी कर्मचारीलाई काममा लगाउँदा खाने, बस्ने सुविधा र तलब राम्रो दिन्छन् । पेशागत भविष्य र स्तरोन्नतिका लागि तलीम र प्रशिक्षणमा पनि उत्तिकै ध्यान दिन्छन् । उनीहरूको सुरक्षित भविष्यका निम्ति कर्मचारीलाई आत्मबल बढाउन प्रोत्साहित गरिरहन्छन् । नाफाका लागि मरिहत्ते गर्ने व्यावसायिक संस्कारको उनी विरोधी हुन् । 'पारदर्शी रूपमा कर्म गर्ने हो भने नाफा स्वाभाविक हुन्छ । हरक्षण नाफा मात्रै लिन खोज्ने प्रवृत्ति 'कर्पोरेट कल्चर' हुन सक्दैन,' उनी भन्छन् । आफूभन्दा माथिका कर्मचारीलाई विश्वास दिलाउनु र आफू मातहतकालाई सुनिश्चिताको आधार दिलाउनुपर्ने ठान्छन् उनी । अहिलेसम्मका हरेक उपलब्धि र सफलतामा यही मन्त्र प्रयोग गरेको उनको दाबी छ । आफ्नो पेशागत र व्यावसायिक पाटोका अतिरिक्त समाजसेवामा पनि उत्तिकै सक्रिय छन् नेपाली । आफ्नो सच्चा अभिभावक ठान्ने परोपकार संस्थाको अहिले उनी कोषाध्यक्ष छन् । आफ्नो कमाइको प्रमुख हिस्सा उनले सोही संस्थाको हितमा लगाइरहेका छन् । परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकारलाई आदर्श ठान्ने उनी भन्छन्, 'एकमुठी चामल र एक पैसा दाम सङ्कलन गरेर मजस्ता थुप्रैको भविष्य निर्माणमा सहयोगी भूमिका खेल्ने आदरणीय दयावीर सर मेरो प्रेरणाका स्रोत हुन् ।'