शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रयास परिवर्तनको'' - बालानन्द पौडेल
सचिव
सामान्य प्रशासन मन्त्रालय

दुई बीस आठ वयमा हिँडिरहेका उनी पर्वतको वितलब गाविसमा जन्मेका हुन् । मध्यमवर्गीय किसान परिवारका उनले गाउँकै विद्यालयबाट प्रवेशिका पास गरे भने आईए सक्दा नसक्दै राजधानीको ल्याबोरेटरी स्कूलमा माष्टरी पनि थाले- आफ्नो पढाइलाई निरन्तरता दिँदै । पिताले पठाएको पैसामा निर्भर हुन मन नलागेपछि शिक्षकको दुखिया पेशा अपनाएका हुन् उनले । अवसर र सम्भावनाको खोजीमा तल्लीन उनले सहायकस्तरकै भए पनि आर्थिक रूपमा आकर्षक नेपाल राष्ट्र बैङ्कको जागीर खाए र केही वर्षभित्रै अधिकृत पनि भए । कार्य विविधताको खोजीमा रहेका उनलाई एउटै छानामुनिको व्यवस्थापन प्रीतिकर लागेन ।  र, २०४५ सालमा तत्कालीन श्री ५ को सरकारको सेवक भए-शाखा अधिकृतका रूपमा महालेखा परीक्षकको कार्यालयमा प्रवेश गरेर । झण्डै अढाइ दशक लामो सरकारी सेवापछि सामान्य प्रशासन मन्त्रालयका सचिव बनेका बालानन्द पौडेललाई हालको पदमा पुग्नु उपलब्धिपूर्ण लाग्दैन । भन्छन्, 'सेवाकालमा कति योगदान गर्न सकियो, त्यो महत्त्वपूर्ण हुन्छ ।'

वाणिज्यशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका पौडेल कानूनशास्त्री पनि हुन् । आफूलाई लगनशील कर्मचारीको कोटिमा प्रस्तुत गर्छन् उनी । र, मातहतका कर्मचारीले पनि त्यही पदचिन्ह पहिल्याओस् भन्ने चाहन्छन् । मानव व्यवस्थापन सर्वाधिक जटिल विषय लाग्छ उनलाई । जुनसुकै व्यवस्थापकलाई मान्छेको व्यवस्थापन कठिन हुने उनको तर्क छ ।  व्यक्तिको आनीबानी र व्यवहारको भविष्यवाणी गर्न नसक्नु चरम जटिलता हो उनको विचारमा । आफूले गरेको कामको फाइदा र जोखिमको लेखाजोखा गर्नुपर्ने उनलाई लाग्छ । सार्वजनिक प्रशासनको क्षेत्रलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन धेरै काम गर्न बाँकी रहेको उनको ठम्याइ छ । अनि सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने उनको परिवर्तनको प्रयास पनि जारी छ । कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनुपर्ने उनको विश्लेषण छ । निर्णयो प्रक्रिया पार गरिसकेको विषयलाई पुनः छलफलमा ल्याएर समय स्वाहा गर्न चाहनेहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन ।

सुशिक्षित ठूलो जमात निजामती सेवाबाट टाढिएको मान्दैनन् बालानन्द । बरु प्रतिभाशाली व्यक्तिहरू नआएको स्वीकार्छन् । सार्वजनिक प्रशासनलाई सम्मानजनक बनाउनुपर्ने उनको मान्यता छ । निजामती सेवामा मेधावी मानिसलाई आकर्षण गर्न विश्वविद्यालयहरूमा नियमित अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेका छन् उनले । धनकुटा र डोटीमा निजामती कर्मचारीका बालबालिकाका निम्ति आवासीय विद्यालय सञ्चालन गर्ने सरकारी योजना कार्यान्वयन गर्ने उनी तयारी गर्दै छन् ।  दार्चुला र महोत्तरीमा कर्मचारी आवास, चिकित्साशास्त्र र इञ्जिनीयरिङमा उच्च शिक्षा हासिल गर्न चाहने निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्तिको व्यवस्थालगायत सार्वजनिक प्रशासनलाई आकर्षक बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

निजामती सेवामा १ लाख २ हजार ९ सय ७५ दरबन्दी भए पनि हाल ७७ हजार १ सय २४ जना कार्यरत छन् । ६६ हजार ७ सय ४३ पुरुष र १० हजार ३ सय ८१ महिलालाई रोजगारी दिएको छ राज्यले । लोक सेवा आयोगले सञ्चालन गर्ने परीक्षाप्रणालीमा सामयिक परिमार्जन आवश्यक भएको बालानन्दको बुझाइ छ । बजारको मागअनुसार दक्ष जनशक्ति आपूर्ति गर्नुपर्ने गहन दायित्व लोकसेवामा भएका उनलाई लाग्छ । सुशासन कायम हुन नसकेको अस्वीकार गर्दैनन् उनी । नतिजाप्रति जवाफदेही बनाउने परिपाटी नहुँदा त्यो मौलाएको उनको ठम्याइ छ । राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायको व्यावसायिक दक्षता अभिवृद्धि पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई-  सुशासन स्थापनाका निम्ति ।

बृहत् राष्ट्रिय हितका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिन्छन् बालानन्द । सबैले आफ्नो तहबाट सानो परिवर्तन गर्न सके विकास दुरुह नहुने उनको बुझाइ छ । लिँदाभन्दा दिँदा आनन्दको अनुभूति हुन्छ उनलाई । यथाशक्य दान गर्छन् उनी । र, सेवानिवृत्त भएपछि समाजसेवा गर्ने सोच छ उनको । मुलुकमा विस्तारै संस्थागत संस्कृतिको विकास भएको उनलाई लाग्छ । उनी ईश्वरलाई अदृश्य शक्ति मान्छन् । र, कहिलेकाँही मन्दिर पनि जान्छन् । त्यहाँको वातावरणले उनको मन आह्लादित हुन्छ । यद्यपि उनी त्यहाँ कुनै आकाङ्क्षा राखेर जाँदैनन् ।

Admin 2011-04-18