''सङ्गम साहित्य र सुशासन'' - शङ्करप्रसाद कोइराला
कार्यकारी सचिव, नेपाल ट्रष्टको कार्यालय
'पानी र बिजुलीलाई आर्थिक वस्तु मान्नुपर्छ र त्यसनिम्ति राजनीतिक सहमति हुनुपर्छ' बढ्दो ऊर्जा सङ्कट टार्न तथा मुलुकलाई आर्थिक रूपले समृद्धशाली बनाउने उपाय सुझाउँछन् सचिव शङ्कर कोइराला । राजा वीरेन्द्र र उनको परिवारका सदस्यको नाममा रहेको चलअचल सम्पत्ति राज्यको स्वामित्वमा ल्याउन गठित नेपाल ट्रष्टको कार्यालयमा कार्यकारी सचिव भएर उनले काम सम्हालेको १ महीना मात्र भएको छ । यस अवधिमा उनले चितवन र पोखराका विभिन्न स्थानमा रहेको तत्कालीन राजपरिवारको अचल सम्पत्ति नेपाल सरकारको मातहत ल्याएका छन् । बहुआयामिक व्यक्तित्वका धनी कोइराला शाखा अधिकृतबाट सहसचिवमा फड्को मार्ने पहिलो निजामती कर्मचारीमा पर्छन् । परीक्षा उत्तीर्ण गरेर त्यहाँ पुगेका हुन् उनी । उनको नसा-नसामा प्रशासनिक तत्त्व बगेको छ । शङ्करका पितामात्र होइन पितामह र परपितामह पनि सरकारी सेवामा नै हुनुहुन्थ्यो ।
साहित्यिक फाँटमा एस्पी कोइरालाका नामले चिनिन्छन् उनी । 'टाँकीको घाँस' र 'निर्वस्त्र नगरीमा' कविता सङ्ग्रहले उनलाई चर्चाको चुलीमा पुर्याएको हो । उनको 'धड्कन भित्र' गीतिसङ्ग्रहसँगै दुइओटा 'एल्बम' गीतिसङ्गीतका पारखीमाझ निकै लोकप्रिय मानिन्छन् । नववर्षको अवसर पारेर उनले एउटा कथासङ्ग्रह साहित्यानुरागीलाई समर्पण गर्ने योजना बनाएका छन् । राति र एकान्तमा उनका भावना प्रस्फुटित हुन्छन् । मध्यरातमा निद्रादेवीको बाहुपाशबाट बाहिरिएर कैयौं रचना पस्केका छन् उनले । प्रशासक र साहित्यकार दुइ व्यक्तित्व बोकेका छन् उनले । प्रशासक कोइराला जीवनयापनका निम्ति बाध्यता हो र त्यसलाई क्षणिक ठान्छन् उनी । आत्मसन्तुष्टिका लागि लेख्ने उनी लेखनप्रति नै लगाव रहेको बताउँछन्, जसले चिरस्थायी पहिचान दिन्छ ।
नारदमुनि थुलुङ, ज्ञानमणि नेपाल, परशु प्रधान, दैवज्ञराज न्यौपाने, मञ्जुल, प्रदीप नेपाल, शैलेन्द्र साकार, विप्लव ढकाल, श्रवण मुकारुङलगायत स्थापित स्रष्टाको जन्म र कर्मस्थलका शङ्करमा बाल्यावस्थादेखि नै नजानिँदो पाराले साहित्यप्रति रुचि बढेको हो । २०४४ सालदेखि निजामती सेवा शुरू गरेका उनले एशियाली विकास बैङ्कको मनिलास्थित प्रधान कार्यालयमा काम गर्ने अवसर पाउनुलाई जीवनको प्रस्थानबिन्दु मानेका छन् । 'नेपाल भ्रमण वर्षको सफलता, सूचनाको हकसम्बन्धी ऐन र नियम तथा श्रमजीवी पत्रकार ऐन संशोधनका साथै हातहातमा मोबाइल सेट, घरघरमा इण्टरनेट' जस्ता कार्यक्रम र कानून कार्यान्वयन गर्न पाएकोमा उनी गौरव गर्छन् । राम्रो मान्छे बन्ने उनको लक्ष्य छ । कसैलाई अप्रिय वचन बोल्दैनन् उनी न त अप्रिय व्यवहार नै गर्छन् ।
फिलिपिन्स र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा दोहोरो स्नातकोत्तर उपाधि लिएका शङ्कर कानूनका दाउपेच पनि राम्ररी बुझेका छन्- बीएल गरेर । पर्यटन क्षेत्रको समुचित प्रवर्द्धन, दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउने र ऊर्जा उत्पादन आर्थिक क्रान्तिका वाहक लाग्छन् उनलाई । मुलुकलाई १ सय मेगावाट माथिका परियोजना आवश्यक भएको उनको ठम्याइ छ । उनको विचारमा राजनीतिक इच्छाशक्ति र स्थायी सरकार देशको चौतर्फी विकासका पूर्वशर्त हुन् । सुशासन कायम गर्न पनि त्यो अपरिहार्य भएको उनी उल्लेख गर्छन् । एकमना सरकारको अभावमा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न नसकिएको उनको बुझाइ छ । सार्वजनिक प्रशासनको छवि बिग्रेको कुरालाई अस्वीकार गर्दैनन् उनी । बिटुलिएको निजामती सेवाको छवि उजिल्याउनु चुनौतीपूर्ण भएको उनको ठम्याइ छ । प्रभावकारी सेवा प्रवाह नहुनु सार्वजनिक प्रशासनका चुनौती हो । परीक्षाप्रणालीमा सुधार र सरकारी सेवामा सुविधाको वृद्धिबाट नयाँ पुस्तालाई आकर्षित गर्न सकिने उनको विश्लेषण छ ।
ईश्वरप्रति अगाध आस्था भएका शङ्कर सधैँ पाञ्चायन पूजा गर्छन् । आत्मानुशासन र काममा मन केन्द्रित गर्न ऊर्जा प्राप्त हुन्छ उनलाई उपासना गर्दा । सोमवार पशुपति, मङ्गलवार गणेशस्थान र बिहीवार बगलामुखीको दर्शन नगरी भोजन गर्दैनन् उनी । दुई छोरी र एक छोरा छन् उनका । भ्याएसम्म समय उनले परिवारलाई दिने गरेका छन् । देशमा संस्थागत संस्कारको श्रीगणेश भएको लाग्छ उनलाई । आफ्नो आर्थिक हैसियतअनुसार दान गर्नुपर्ने उनको मान्यता छ । द्वैधचरित्र भएकाहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन पर्दैन । नेपाली समाजलाई उचाल्न, उजिल्याउन र उन्नत पार्न सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनको मान्यता छ ।
Admin 2011-02-17