''सहकार्य प्रशासक राजनीतिको'' - डा. व्रजकिशोरप्रसाद शाहा
सचिव, उपराष्ट्रपतिको कार्यालय
उनले नेपाल सरकारको सेवाबाट अनिवार्य अवकाश लिन अब केही महीनामात्र बाँकी छ । तर, काममा उनको सक्रियता र उत्साह जागीर थालनी गर्दाताका भन्दा कम छैन । सहायक पशु चिकित्सकका रूपमा २०३५ सालमा सेवा प्रवेश भएको हो उनको । सलाहीको धनगढा गाउँमा जन्मेहुर्केका उनको पहिलो 'पोष्टिङ' सुदूरपश्चिमको कञ्चनपुरस्थित पशु चिकित्सालयमा भएको थियो । उपराष्ट्रपतिको कार्यालयका सचिव डा. व्रजकिशोरप्रसाद शाहाले प्रशासनिक सेवाको उपल्लो तहमा पुग्ने कल्पना गरेका थिएनन् । प्राविधिक समूहको मान्छेका निम्ति सचिव पद कोरा कल्पना थियो त्यसबेला । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा आएका परिवर्तनसँगै निजामती सेवामा भएको परिमार्जन र खुला प्रतिस्पर्धाबाट उनी अकल्पनीय त्यो पदमा पुगेका हुन् ।
छिमेकी मुलुक भारतको विहार पशु महाविद्यालयबाट पशु चिकित्साशास्त्रमा स्नातकोपाधि गर्नेबित्तिकै सरकारी सेवामा लागेका शाहालाई सर्वाधिक भोक ज्ञानको लाग्थ्यो कुनै समय । अष्टे्रलियाको पर्थबाट उनले पोष्ट ग्य्राजुएट डिप्लोमा इन डायग्नोष्टिक प्याथोलोजी, सोही राष्ट्रको न्यू इङल्याण्ड विश्वविद्यालयबाट एग्रिकल्चर इकोनोमिक्स एण्ड बिजनेश म्यानेजमेण्टमा डिप्लोमा गरेका छन् उनले । त्यत्तिको शैक्षिक योग्यताबाट पनि सन्तुष्ट हुन नसकेका उनले अन्तत: अष्ट्रेलियाको त्यही शैक्षिक प्रतिष्ठानबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेरै छाडे । निजामती कर्मचारी जस्तोसुकै जिम्मेवारी वहन गर्न सक्षम हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यसैले शिक्षाको क्षितिजलाई विस्तार गर्नु अपरिहार्य लाग्छ उनलाई । पशुचिकित्सक भए पनि रेबिज नियन्त्रणमा वर्षौंअघि मानव चिकित्सकको भूमिका निर्वाह गरे उनले । सगरमाथा एकीकृत विकास परियोजना स्वतन्त्र ढङ्गले २ वर्षसम्म सञ्चालन गर्नु तथा घाटामा गएको पशुआहार उत्पादन समितिलाई नाफामा चलाउनुलाई आफ्नो सेवाकालका उपलब्धि मान्छन् उनी ।
सामूहिक एवम् सहभागितामूलक कार्यप्रणालीमा विश्वास गर्छन् शाहा । तल्लो तहका कर्मचारीलाई पनि अधिकार र जिम्मेवारी दिएर कार्यसम्पादन गर्ने उनको बानी छ । प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न मातहतका कर्मचारीलाई झकझक्याइरहन्छन् उनी । कसैलाई काखापाखा नगर्ने र समान रूपमा अवसर दिन भरमग्दुर प्रयास गर्दै आएका छन् उनले । नैतिकता गुमाएको मान्छेसँग व्यवहार गर्न उनलाई मन लाग्दैन । सम्भवत: धेरै शत्रु कमाएका सचिवमा गनिन्छन् उनी । एक दर्जनभन्दा बढी मुद्दा खेप्नुपर्यो उनले ४ वर्षसम्म । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका १३ ओटै मुद्दामा सफाइ पाए उनले यद्यपि त्यो समयमा पाएको मानसिक तनाव उनी कहिल्यै बिसंदैनन् ।
नेपालको आर्थिक विकासका लागि वन, कृषि र पशुपालन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा शाहाको जोड छ । बाख्रा, कुखुरा र भैंसीपालन गरीबी निवारणका उत्तम माध्यम भएको उनको ठम्याइ छ । आर्थिक कानून अक्षरश: पालना गर्छन् उनी । र, कसैको दबाबमा काम गर्दैनन् । अर्काको भलो गर्न सकिँदैन भने कुभलो चिताउनु पनि पाप हो उनका निम्ति । प्रतिशोधमा विश्वास नगर्ने उनलाई क्षमाशीलता श्रेयस्कर लाग्छ । जनहितका कार्यमा राजनीति गर्न नहुने उनको विचार छ । नेतृत्व वर्गलाई बिगार्न प्रशासकहरू पनि उत्तिकै जिम्मेवार भएको उनको बुझाइ छ । भ्रष्टाचार संस्थागत भएको अस्वीकार गर्छन् उनी । दक्ष कर्मचारी राख्ने र कुस्त तलब दिने परिपाटी भए कुशासनको अन्त्य हुने उनको विश्लेषण छ । अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रजस्ता भ्रष्टाचार नियन्त्रणका निकायको औचित्य देखेका छैनन् उनले ।
नास्तिक होइनन् शाहा । परिवारका साथ मन्दिर जान्छन् उनी कहिलेकाहीँ । त्यहाँ जाँदा उनलाई शान्ति हुन्छ । उनलाई भाकल गरेर केही पाइन्छ भन्ने लाग्दैन । कामबाट सबै प्राप्ति हुने उनी उल्लेख गर्छन् । मुलुकमा संस्थागत संस्कारको विकास भएको उनी मान्दैनन् । मठमन्दिर निर्माण होइन, माइती नेपालजस्ता सामाजिक सङ्घसंस्थालाई सहयोग गर्नुपर्छ भन्ने उनी आफू पनि सकेको सहायता गर्छन् । राजनीतिक नेतृत्व र प्रशासनयन्त्रबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिने उनी राष्ट्र निर्माणको कार्यमा हरेक नेपाली मिल्नुको विकल्प छैन भन्छन् ।
Admin 2011-05-19