''पितापुर्खाको प्रेरणा'' - विजयकुमार शाह
संस्थापक अध्यक्ष
जाउलाखेल/हिमालयन डिष्टिलरी
'विद्या ददाति विनयम्' अर्थात् विद्याले विनय दिने कुरा उनमा अक्षरशः लागू हुन्छ । चार दिनअघि उनले ६३औं जन्मोत्सव मनाएका हुन् । मुलुकको ज्येष्ठ नागरिकमा दरिने अवस्थामा पुगेका उनको एउटा बानी अचम्मको छ- आफूभन्दा ५० वर्षकान्छालाई पनि 'हजुर' ले सम्बोधन र जम्लाहात गर्ने । जाउलाखेल/हिमालयन डिष्टिलरीका संस्थापक अध्यक्ष विजयकुमार शाहलाई विद्याले नै विनयी बनाएको हो । बालककालदेखि विदेश बसेका उनलाई नेपाली फरर बोल्न आउँदैन । अङ्ग्रेजीमा भने अङ्ग्रेजको पनि पितृ बुझाइदिन सक्षम छन् उनी । नेपालगञ्जमा जन्मेहुर्केका भए पनि उनले भारतको पटनास्थित सेण्ट जेभियर्स स्कूलबाट म्याटि्रकुलेशन र त्यहीँबाट सिनियर क्याब्रिज गरेका हुन् । अमेरिकाको युनिभर्सिटी अफ सिन्सीनाटीबाट केमिकल इञ्जिनीयरिङ र त्यहीँको जेभियर युनिभर्सिटीबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका हुन् उनले । सन् १९६९ मा दुइओटा अमेरिकी डिग्री लिएर आएका उनले पिताको पदचिन्ह पहिल्याउँदै जाउलाखेल डिष्टिलरी स्थापना गरेका हुन् । आफूलाई पाँचौं पुस्ताको मदिरा व्यवसायीका रूपमा प्रस्तुत गर्छन् उनी । पितापुर्खाले मदिराको ठेक्का लिएर थालेको व्यापारलाई उनले त्यसको उत्पादनसम्बन्धी औपचारिक ज्ञान प्राप्त गरेपछि निरन्तरता दिएका हुन् । मदिरा पारखीहरूमाझ उनले नेतृत्व गरेको जाउलाखेल डिष्टिलरीको भोद्का निकै मनपराइएको पेय हो ।
विद्यार्थी जीवनमा साम्यवादी सोचबाट प्रभावित भएका विजयको सोचाइ एकाएक परिवर्तन भयो जब उनले तत्कालीन सोभियत सङ्घ र पूर्व जर्मनीमा साम्यवादको अभ्यास आफ्नै आँखाले देखे । सम्पन्न परिवारको भए पनि उनले अध्ययनका क्रममा पानी पिएर पेट भर्दाका कठिन क्षणलाई बिर्सेको छैनन् । भन्छन्- भोक के हो, राम्ररी बुझेँ । अमेरिका भ्रमणमा रहेका राजा महेन्द्रले आफूलाई त्यतिबेला राष्ट्रप्रतिको नागरिक उत्तरदायित्व वहन गर्न दिएको प्रेरणा कहिल्यै बिर्संदैनन् उनी । उनलाई व्यवसायमा लाग्न भने हजुरबा र बाबाले अभिप्रेरित गरेका हुन् । 'बाबाले मलाई संसारभरका 'ह्विस्की र भोद्का' को परख गर्न घचघच्याइरहनुहुन्थ्यो' अध्ययनअनुसन्धान नगरी व्यवसायमा हात नहाल्न पिताले पुत्रलाई सुझाएको सम्झना सुनाउँछन् शाह । उनको विचारमा मदिरा मात्न होइन, जीवनको मज्जा लुट्न पिउनुपर्छ जिम्मेवार भएर ।
शाहले स्थापना गरेका कम्पनीमा झण्डै ८ सय नेपालीले रोजगारी पाएका छन् । उनले उनीहरूसँग कर्मचारी होइन, आफ्नै सन्तानलाई जस्तो व्यवहार गर्ने गरेका छन् र उत्कृष्ट परिणामका निम्ति सधैँ केन्द्रित रहन प्रेरणा दिने गरेका छन् । काममा समर्पित हुन र भूलबाट पाठ सिक्न सल्लाह दिने उनको बानी छ । शाहलाई बेइमानहरूसँग काम गर्नु नपरोस् भन्ने लाग्छ । हिमालयन डिष्टिलरीलाई गुणस्तर र प्रविधिका हिसाबले दक्षिण एशियाको अग्रणी कम्पनी दाबी गर्ने शाह यसलाई सधैँ टाकुरोमा टिकाइ राख्नु आफ्नो एकमात्र लक्ष्य र उद्देश्य भएको बताउँछन् । त्यसैले उनी घण्टौं प्रयोगशालामा बिताउँछन्- नवीनताका निम्ति । नेपाली पनि 'वर्ल्डक्लास' मदिरा उत्पादन गर्न सक्षम छन् भन्ने पुष्टि गर्न उनको प्रयोगशालाको अनुसन्धान हरेक दिन बढिरहेको छ ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार बस्न्यात विजयलाई 'अल्कोहल इण्डष्ट्रीको पायनियर' मान्छन् । मदिरा उत्पादनसम्बन्धी प्रचुर ज्ञान भएका उनलाई मदिरा 'ब्लेण्ड' गर्ने क्षमतासमेत भएको अद्वितीय प्रतिभावान् उद्यमी मान्छन् बस्न्यात । उनी शाहलाई विवेकशील, व्यावहारिक, सहयोगी र मैत्रीपूर्ण व्यवहार भएको अति सामाजिक व्यक्तिका रूपमा चित्रित गर्छन् । शाहमा उनी कुनै अवगुण देख्दैनन् ।
अमेरिकी नागरिक म्यागीसँग लगनगाँठो कसेका शाहका २ छोरी र १ छोरा छन् । अति आध्यात्मिक प्रवृत्तिका उनी मानिसभित्र नै भगवान् भएको बताउँछन् । सानैमा हजुरबाले आफन्तहरूसँग नाता गाँस्नुभन्दा विविधताका निम्ति अन्यत्र नै विवाह गर्नु उपयुक्त हुने अर्ती दिएकाले आफूले म्यागीसँग बिहे गरेको बताउँछन् शाह । भ्रष्टाचारले गाँजेको मुलुकलाई उँभो लगाउने नेताको अभ्युदय नहुँदा देशको बेहाल भएको उनको ठम्याइ छ । उनले कैयौं विपन्न वर्गका केटाकेटीको लेखपढका लागि भौतिक एवम् आर्थिक सहयोग गरेका छन् । तर, त्यसको प्रचार पटक्कै गर्न चाहँदैनन् उनी । मुलुकमा संस्थागत कार्यसंस्कारको संस्कृति शैशवावस्थामा रहेको उनको बुझाइ छ । भारतमा उत्पादित मदिरा २० प्रतिशत भन्सारमा भित्रिने तर नेपाली उत्पादन उता पठाउँदा १ सय ५४ प्रतिशत राजस्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्नेमा उनको जोड छ ।