''सुकर्म, सुसाधान र सुपात्र'' - दिनेश श्रेष्ठ
प्रबन्ध निर्देशक, प्यासेफिक ग्रूप
नेपालमा उद्योग -व्यवसाय चौतर्फी आक्रमणको शिकार भएको उनको गुनासो केही हदसम्म जायज छ । राजनीतिक पार्टी र तिनका भ्रातृ सङ्गठनले
रोजगारी, बैङ्क तथा वित्तीय संस्थाले साँवा ब्याज र राज्यले करका निम्ति दिने दबाब उद्योग व्यवसायले झेलिनसक्नु भएको उनको दुखेसो छ । प्यासेफिक ग्रूपका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठ राजनीतिले मुलुकको अर्थनीतिलाई निर्देशन गर्ने भएकाले नचाहेर पनि राजनीतिक विषयमा बोल्नुपर्दा असहज महसुस गर्छन् । देशको अर्थतन्त्र द्वन्द्वकालको भन्दा पनि नाजुक भएकोमा खिन्न उनी 'राजनीति गर्नेले राजनीति नै हेरून्' भन्छन् । खस्केको अर्थतन्त्र उकास्न सबै राजनीतिक दलले साझा कार्यसूची बनाउनुपर्नेमा उनको जोड छ । गरिब तथा निमुखा जनताको जीवनस्तर उठाउने असल काममा दलहरूबीच मतभेद हुनु उनलाई बिडम्बनापूर्ण लाग्छ । उनी दलहरूलाई व्यङ्ग्ययुक्त प्रश्न गर्छन्-'जनहितका कार्यमा आपसी मतभिन्नता गौण हुनुपर्दैन ? ' सरकार परिवर्तनसँगै बदलिने नीतिले उद्योगधन्दाको प्रबर्द्धनमा प्रतिकूल असर परेको उनको विश्लेषण छ । बैङ्कहरूलाई जस्तै उद्योगहरूलाई पनि कानुनी संरक्षण आवश्यक भएको उनको धारणा छ । नेताहरूको शव्दजालमा मख्ख नपर्न नेपाली जनतालाई उनको अनुरोध छ । जनता जाग्दा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्त भएकाले आर्थिक क्रान्तिका लागि पनि नेपाली दाजुभाईलाई अग्रपङ्तिमा आउन उनी आग्रह गर्छन् ।
आयातमुखी अर्थतन्त्रले देशलाई लामो समयसम्म टिकाउन नसक्ने मत व्यक्त गर्ने श्रेष्ठ कलकारखानको स्थापना, रोजगारीका अवसरहरूको सृजना र पूर्वाधारको विकासलाई आर्थिक प्रगतिको बाहक ठान्छन् । विद्युत् उत्पादन, कृषि, पशुपालन, जडिबुटी र पर्यटन क्षेत्रको विकासबाट प्रशस्त आर्थिक गतिविधि बढ्ने उनको ठम्याइ छ । सहकारीको माध्यमबाट खेती गरेमा लक्ष्यित उपलव्धि हासिल हुने उनको बुझाइ छ । लगानी आकषिर्त गर्ने खालका उदार अर्थनीतिलाई तीव्र गतिमा अघि बढाउन उनी सरकारको ध्यानाकर्षा गराउँछन् । प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सुरक्षाको प्रत्याभूति संविधानमा नै गर्नुपर्ने उनको माग छ । सन् १९९० मा तत्कालीन सरकारले अघिसारेको नीतिलाई अझ परिष्कृत गर्दै कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । जुनसुकै दलको सरकार बनेपनि नीति स्थिर हुनुपर्छ भन्ने उनी दलित, उत्पीडितका नाममा राजनीति गर्नुलाई मनासिव ठान्दैनन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्ने कार्यलाई राजनीतिक दलले पहिलो प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । 'फुटाउ र राज गर'को सिद्धान्त अब परित्याग गर्नुपर्छ, दलीय मनोमालिन्यले निम्त्याएको विषम परिस्थितिबाट पार पाउने उपाय उनी सुझाउँछन् ।'नेपाली जनतालाई धनी बनाउने योजना र कार्यक्रम दलहरूले ल्याउनुपर्ने धारणा व्यक्त गर्दै उनी भन्छन्' ब्रि्रदो आर्थिक स्थितिबाट पारपाउन तत्काल गंभीर कदम चाल्नुपर्छ ।'
नेपालका लागि युरोपेली मुलुक माल्टाका अवैतनिक वाणिज्यदूतसमेत रहेका श्रेष्ठ आर्थिक कूटनीतिले गति लिन नसकेको बताउँछन् । स्रोत र साधनको अभावमा आर्थिक कूटनीति ओझेलमा परेको विचार व्यक्त गर्ने उनी नाफानोक्सानीमा बैङ्क, सरकार, उद्यमी र कामदार समान रूपमा भागीदार हुनुपर्ने प्रचलन स्थापना गर्नुपर्छ भन्छन् । जल विद्युत् र सेवाको क्षेत्रमा लगानी भित्र्याउन आर्थिक कूटनीति प्रभावकारी हुन्छ भन्ने उनी नेपाललाई चिकित्साशास्त्र अध्ययनको केन्द्रका रूपमा विकास गर्न सकिने प्रशस्त संभावना रहेको बताउँछन् ।
'सुकर्मबाट आर्जित सुसाधनलाई सुपात्रमा लगाऔं'लाई गुरुमन्त्र मान्ने श्रेष्ठ नेतृत्वको कम्पनीले झण्डै १ हजार ५ सय जनालाई रोजगारी दिएको छ । उनी नेतृत्वको समूहले कार्यालय सामग्री, सवारी साधन, सूचना प्रविधि, शिक्षणअस्पलताललगायतमा मनग्गे लगानी गरेको छ । कर्मचारीलाई एकाघरका परिवारका सदस्य मानेर त्यसैअनुरुप व्यवहार गर्ने उनको बानी छ । परिणाममुखी कार्यका लागि कर्मचारीलाई अभिप्रेरित गर्ने उनी उत्कृष्ट काम गर्नेलाई तलबमात्र होइन प्रोत्साहनस्वरुप अतिरिक्त रकम पनि दिन्छन् ।
'कसैलाई राम्रो गर्न नसके पनि नराम्रो गर्नु नपरोस्' श्रेष्ठ दार्शनिक भावना प्रस्तुत गर्छन् । पिताको प्रेरणाबाट कलिलो उमेरमा व्यापारमा हात हालेका उनले व्यवस्थापनमा स्नातक गरेका छन् । आध्यात्मिक शक्तिमा विश्वास गर्ने उनको लक्ष्यको सिमाना छैन । नेपाली जनताको मुहार हँसिलो पार्ने कार्यमा सकेसम्म सहयोग गर्ने र व्यापार विस्तारलाई उनले लक्ष्य बनाएका छन् । नेपालका उद्योग प्रतिष्ठानमा संस्थागत संस्कारको विकास शनैः शनैः भएको ठान्ने उनी आफू बसेको समाजको हितका लागि गच्छेअनुसार मद्दत गर्नुपर्ने बताउँछन् तर आफूले गरको दान र्सार्वजनिक गर्न भने रुचाउँदैनन् ।