शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शिखर सारथि
आङछिरिङ शेर्पा
अध्यक्ष, एशियन ट्रेकिङ


सर्वोच्च शिखर सगरमाथाको फेदीमा पर्यटक एवम् हिमाल आरोहीहरूको सेवा गरेर जीवन बिताइरहेका छन् सोलुखुम्बुका शेर्पा जाति । यसबाट उनीहरू आफूले रोजगारी मात्रै पाएका होइन, सिङ्गो अर्थतन्त्रलाई नै टेवा पुर्याइरहेका छन् । मेहनतमा विश्वास गर्ने सरल स्वभाव शेर्पाहरूको विशेषता नै हो । तिनै जातिका एक अगुवा हुन् आङछिरिङ शेर्पा । सगरमाथा सफाइ अभियान होस् वा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार पर्यटन विकासको काममा उनको योगदान निकै महत्त्वपूर्ण छ ।प्रचारमा आउन नरुचाउने स्वभावले पर्यटन प्रवर्द्धनमा उनले गरेका महत्त्वपूर्ण योगदान छायाँमा परेका छन् । पर्यटन प्रवर्द्धनका लागि उनले ३० वर्षअगाडि आरम्भ गरेको संस्था एशियन ट्रेकिङको सफलतासँगै हाल शेर्पा होटल उद्योगमा लागिपरेका छन् ।

शेर्पा बाल्यावस्थामा चिकिन्सक बन्ने सपना बुन्थे । एसएलसी उत्तीर्णपछि उनी त्यही अभिलाषा बोकेर काठमाडौं छिरेका थिए । अमृत साइन्स क्याम्पसबाट आईएससी पूरा गरेपछि भारतको दरभङ्गा मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गर्ने थाले । सगरमाथाको फेदीको मान्छेका लागि दरभङ्गाको तापक्रम अनुकूल भएन । 'निकै बिरामी भएँ,' उनी भन्छन्, 'तीनपटक मेरो अपरेशन गर्नुपर्यो ।' बिरामी अवस्था देखेर क्याम्पसकै गुरुले उनलाई सुझाव दिँदै भनेछन्, 'रोगी डाक्टर भएर जानुभन्दा अहिलै घर र्फक' त्यसपछि डाक्टर बन्ने सपनालाई त्यहीँ छाडेर शेर्पा नेपाल फर्किए ।

केही समय उनी दिशाहीन यात्रामा रुमल्लिए । २०२८ सालमा उनी, उनका भिनाजु र एक बेलायती नागरिक मिलेर एशियन ट्रेकिङ नामक संस्थाको स्थापना गरे । र, पुर्खाको पेशालाई नै उनले व्यावसायका रूपमा अँगाल्न पुगे । ठमेलमा ३ लाखबाट शुरू भएको उनको संस्थाले पर्वतारोहण क्षेत्रमा निकै सफलता प्राप्त गरेको छ । यस अवधिमा आफ्नो संस्थामार्फत ५ हजार ५ सयभन्दा बढी आरोहण दल र ३ हजार ४ सयभन्दा बढीले व्यक्तिगत रूपमा सगरमाथा आरोहण गरिसकेको शेर्पा बताउँछन् । हिमाल आरोहण शारीरिक रूपमा जोखिमपूर्ण मात्रै होइन, आर्थिक रूपमा पनि निकै महँगो हुन्छ । सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । तर, समूह बनाएर चढ्ने हो भने आरोहण शुल्क सस्तो पर्ने उनी बताउँछन् । यो व्यवसायको प्रवर्द्धन गरिरहेका शेर्पा भन्छन्, 'अहिले सम्झिँदा ठीकै गरेजस्तो लाग्छ ।' हिमालयन वातावरणसम्बन्धी विज्ञका रूपमा उनको अन्तरराष्ट्रिय स्तरमा माग भइरहन्छ । महीनाको दुईपटक उनी यस्तै कार्यक्रममा भाग लिन विदेश जान्छन् ।

पर्यटन व्यवसायलाई अझ प्रभावकारी बनाउन उनले सगरमाथा जाने बाटोमा तीनओटा सुविधासम्पन्न 'हिमालय चाइना रिसोट' स्थापना गरेका छन् । त्यस्तै, राजधानीछेउको लाँकुरी भञ्ज्याङमा करोडौंको लगानीमा 'होटल माउण्ट मोनाष्ट्री' स्थापना गरेका छन् । यसै वर्ष रू. १७ करोड लगानी गरेर थप होटलको क्षमता विस्तार गर्दै छन् । राज्यले रोजगारी दिन नसकिरहेका बेला उनले साढे तीन सय कर्मचारीलाई स्थायी जागीर दिएका छन् । उनको संस्थाबाट २ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

निरन्तरता, लगनशीलता र कडा परिश्रमको परिणाम व्यवसायमा सफल भएको उनी बताउँछन् । पर्यटन विकासले मात्रै मुलुकको समृद्धि हुने उनको ठम्याइ छ । 'पर्यटनले गरीबधनी सबैलाई प्रतिफल दिन सक्छ,' शेर्पा भन्छन् । पर्यटनलाई उद्योगका रूपमा विकास गर्न पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारको जरुरी रहेको उनको बुझाइ छ । 'निजीक्षेत्रबाट मात्रै प्रचार भएको छ,' उनी भन्छन्, 'राज्यको ध्यान जसरी पुग्नुपथ्र्यो त्यो हुन सकेको छैन ।' राष्ट्रिय ध्वजावाहक सक्षम नहुँदा पनि मुलुकको पर्यटन प्रवर्द्धन हुन नसकेको उनको बुझाइ छ ।

आफ्नो सफलताको श्रेय सर एडमण्ड हिलारीलाई दिन्छन् उनी । 'हिलारी सरले हाम्रो गाउँमा विद्यालय स्थापना गरेर हामीलाई सक्षम बन्न सिकाउनुभयो,' उनी भन्छन् । नेपालमा 'कर्पोरेट कल्चर'को विकास नभएकोमा उनी दु:खी छन् । 'मालिक र कामदारको जस्तो व्यवहार हामीमा अझै छ,' शेर्पा भन्छन् । आफ्नो संस्थामा काम गर्ने कर्मचारीको सेवासुविधामा अत्यन्त ध्यान दिन्छन् उनी । त्यसैले उनको कार्यालयमा काम गर्ने जो कोही कर्मचारी छोडेर जान मान्दैनन् । फुसदमा हिमालय वातावरणसम्बन्धी पुस्तक अध्ययन गर्छन् । कर्मचारीलाई अत्यन्त विश्वास गर्छन् । ५८ वर्षीय शेर्पा देवीदेवताप्रति अत्यन्त विश्वास गर्छन् । अरूलाई सगरमाथा चुचुरो चुमाउन सघाउने उनी आफू भने ८ हजार मिटरसम्म मात्र पुगेको बताउँछन् । आफ्नो सम्पूर्ण व्यवसाय छोरालाई सुम्पिने तयारी गरिरहेका शेर्पा बाँकी जीवन सगरमाथाको सफाइमा लगाउने योजनामा छन् । पर्वतारोहण सङ्घका अध्यक्षसमेत भइसकेका शेर्पा ४ वर्षदेखि सगरमाथाको सरसफाइमा सक्रिय छन् । हिमाली क्षेत्रलाई खुला दिसामुक्त बनाउन उनी नयाँ प्रविधिको विकास गर्ने तरखर गर्दै छन् ।

Admin 2011-07-21