शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दृष्टि जीवनस्तर सुधारमा
डा. दिनेशचन्द्र देवकोटा
उपाध्यक्ष
राष्ट्रिय योजना आयोग
दूरदराजका वस्तीलाई राज्यको मूल प्रवाहमा जोड्न उनी योजना बुनिरहेका छन् । त्यसैले उनको प्राथमिकता काठमाडौं होइन, गोरखाको छेकमजस्ता गाउँहरू परेका छन् । जहाँका जनता हप्ता दिन लामो बाटो चामलका बोरा बोकेर आफ्नो परिवारको गुजारा चलाइहेका छन् । काठमाडौंको शासन र सत्ताको प्रभावले नछोएका त्यस्ता गाउँवस्तीहरूलाई राज्यको अनुभूति दिलाउने योजना बुन्दैछन्- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा । नयाँ आर्थिक वर्षको प्रारम्भ हुँदै छ । त्यसैले उनको मस्तिष्कमा अहिले तिनै अभाव, गरीबी र दुर्गमक्षेत्रमा कष्टसाध्य जीवन बिताइरहेका जनताको तस्वीर घुमिरहेको छ । 'मैले आफ्नो जीवनको यो कालखण्डमा देखेका, भोगेका धेरै दृश्यहरू अहिले आँखाअगाडि आइरहेका छन्', उनले सम्झिँदै भने, 'तिनीहरूकै लागि केही गरौंजस्तो लागेको छ ।'

ग्रामीण अर्थतन्त्रलाई बलियो पार्न र जनतालाई रोजगारी दिलाउन कृषिक्षेत्रको विकास अपरिहार्य ठान्छन् उनी । यसका लागि गरीबी, बेरोजगारी र अभावको जीवन जिइरहेकाहरूको पक्षमा योजना बनाउन लागेको बताउँछन् देवकोटा । संयोजनकारी व्यवस्थापन मन्त्रमा विश्वास राख्ने देवकोटा आफूले काम गर्दा तीनओटा 'वर्क'मा विशेष ध्यान दिने बताउँछन् । उनी भन्छन्-'हार्ड वर्क, टीम वर्क र नेट वर्क' मा ध्यान दिन सके केही सफलता पाउन सकिन्छ ।

आजभन्दा ५१ वर्षअगाडि गोरखाको पालुङटारमा जन्मिएका देवकोटा शिक्षित परिवारका सदस्य हुन् । अमरज्योति माविका लुइँटेल गुरुबाट आफ्नो अध्ययन प्रारम्भ गरेका उनले पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । उनले ओभरसियर, इञ्जिनियर हुँदै सीटीईभीटीको निर्देशक पदसमेत सम्हाले । उनले जापानको साइतामा विश्वविद्यालयबाट 'फोहोरमैलाको कारणले भूगर्भमा रहेको पानीमा हुने प्रदूषण र समुदायको संलग्नताद्वारा यसको सुधार कार्यक्रम' विषयमा विद्यावारिधि गरेका छन् । उनीसँग यूएनडीपी, युनिसेफ, एडीबीलगायत संस्थाहरूमा परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ । योजना आयोगको सदस्य हुँदै हाल उपाध्यक्ष भएका देवकोटासँग राष्ट्रिय अर्थतन्त्रको विकासका लागि तत्काल गर्नुपर्ने केही योजना छन् । सहकारीमार्फत कृषि उत्पादन, व्यावसायिक तालीम, समुदायमा आधारित उद्यमशीलताको विकास नगरी मुलुकको कुल गार्हस्थ्य उत्पादनको सरकारी लक्ष्य पूरा हुन नसक्ने उन ठम्याइ छ ।

राजनीतिक परिवर्तनले जनताका आकाङ्क्षालाई चरमचुलीमा पुर्याइदिएको भन्ने उनी विद्यमान प्रशासनिक संरचना कमजोर रहेको दाबी गर्छन् । 'सरकारी काम कहिले जाला घाम'को संस्कृतिले जनताका वास्तविक माग पूरा गर्न नसकिने उनको बुझाइ छ । उनी भन्छन्, 'भौतिक संरचनामा सुधार, मन्त्रालयबीच आन्तरिक समन्वय, सुशासन, सङ्क्रमणकालीन अवस्थालाई हेरेर चाँडै प्रतिफल दिने कार्यक्रम ल्याउनुपर्छ, नत्र जनताका आकाङ्क्षालाई सम्बोधन गर्न सकिँदैन ।' विनातयारी केही काम गर्दैनन् उनी । 'विनातयारी काम गर्नु भनेको झारा टार्नु जस्तो लाग्छ', उनी भन्छन् । आफू यहाँसम्म आइपुग्नुमा आफ्नै मेहनत तथा परिवार र नेताहरूले गरेको विश्वासको परिणाम ठान्छन् उनी ।

सबै मानिसमा एक विशेष क्षमता हुने उनले आफैबाट बुझे । तर, हाल देशमा त्यसलाई चिन्ने खुबी नभएका नेतृत्वको अभाव रहेको उनको दाबी छ ।  प्रगतिशील साहित्य बढी रुचाउने देवकोटा म्याक्सिम गोर्कीको आमा र थिन्ले लामाद्वारा अभिनीत चलचित्र 'क्याराभान'बाट निकै प्रभावित छन् । अहिले बजेट निर्माणको चटारोले उनको दैनिकी प्रभावित छ । बिहान ७ बजे घरबाट निस्किएका उनी राति १०(११ बजेमात्रै घरमा पुग्छन् । मन्दिरमै गएर पूजा गर्दैनन् तर बाटो परे छिर्छन् । समाजसेवामा पनि उनी क्रियाशील छन् । सुस्त मनस्थिति कल्याण संस्थाको प्रवर्द्धनमा उनले सक्दो सहयोग गरेका छन् । नेपालमा विकासको थुप्रै सम्भावना हुँदाहुँदै पनि स्रोत र साधनको समुचित उपयोग हुन नसक्दा उनी खिन्न छन् । भन्छन्, 'तराईको अन्न भण्डार, जलविद्युत्को व्यापक सम्भावना र उत्तरतिरका यति धेरै हिमाल हुँदा त यतिबेला हामीले विश्व जितिसक्नु पर्ने हो ।'

Admin 2011-06-20