सानै उमेरदेखि सफल व्यवसायी
माइकल डेल
अध्यक्ष तथा कार्यकारी प्रमुख
डेल इङ्क
सफल व्यवसायी बन्न मानिसमा धेरै कुराको आवश्यकता पर्दछ- लगनशीलता, मेहनत र लक्ष्यको सही पहिचान । कतिपय व्यक्तिमा यी गुण सानैदेखि नै उजागर हुने गर्दछन् । विश्वको एक प्रमुख कम्प्युटर निर्माता अमेरिकी कम्पनी 'डेल इङ्क'का अध्यक्ष तथा कार्यकारी प्रमुख माइकल शल डेल पनि सानै उमेरदेखि आफ्नो व्यावसायिक र व्यापारिक प्रतिभा प्रदर्शन गर्ने एक सफल व्यवसायी हुन् । सन् १९६५ मा अमेरिकाको टेक्सासमा जन्मेका डेल विश्वको ४४औं धनी व्यक्ति हुन् । जुनियर हाइस्कूल तहमा पढ्दै गर्दा ७ वर्षको उमेरमा उनले आफूले जम्मा गरेको पैसाबाट एक क्याल्कुलेटर किनेपछि उनमा कम्प्युटरप्रतिको लगाव बढेको देखिन्छ । टेक्सासको ह्युष्टन शहरमा रहेको 'हेरोड एलिमेण्टरी स्कूल'मा पढ्दा किशोरावस्थाको प्रारम्भदेखि नै उनी आफ्नो खर्चका लागि शेयर कारोबार र मूल्यवान् धातुहरूको व्यापारमा लागेका थिए ।
१५ वर्षको उमेरमा उनले आफूसँग रहेको कम्प्युटर 'एप्पल टु'लाई खोलखाल पारेर त्यसभित्र रहेका यन्त्रको अध्ययन गरेका थिए । १५ वर्षकै हुँदा उनले बढी फाइदा हुने देखेपछि घरजग्गा कारोबारमा पनि लागे । घरजग्गा कारोबारीको एजेण्टका रूपमा काम गर्दै उनले त्यो वर्ष१८ हजार डलर आम्दानी गरे । उक्त आम्दानी उनलाई विद्यालयमा अर्थशास्त्र र इतिहास पढाउने शिक्षकहरूको भन्दा बढी रहेको थियो । त्यसपछि 'युनिभसिटी अफ टेक्सास'मा अध्ययन गर्दा डेलले कम्प्युटर मर्मत गर्ने काम पनि गरे जसबाट उनलाई कम्प्युटर व्यापारका बारे राम्रो जानकारी भयो । आफूले बटुलेको अनुभवका आधारमा उनले सन् १९८४ जनवरीमा आफै कम्प्युटर बनाएर विक्री गर्न 'पिसिज लिमिटेड' नामक कम्पनी दर्ता गरे । व्यापार बढ्दै गएपछि उनले मेमा उक्त कम्पनीको नाम परिवर्तन गरी 'डेल कम्प्युटर कर्पोरेशन' बनाए । उनले एक अन्तरवार्तामा त्यस समयको सम्झना गर्दै तीन जना कर्मचारीसहित आफू, केही स्क्रुड्राइभर, केही विद्युतीय उपकरण तथा ६ फुट लामो 'वर्किङ' टेबुलबाट कम्पनीको शुरुआत गरिएको बताएका छन् ।
सन् १९९२ मा डेल २७ वर्षकै उमेरमा कम्पनीको कार्यकारी प्रमुख भए । कम्प्युटर व्यवसायमा सफल हुँदै गएको 'डेल कर्पोरेशन' सन् १९९२ मा 'फोर्चुन ५००' कम्पनीहरूको सूचीमा परेको थियो । यसै क्रममा सन् १९९६ मा डेलका पसनल कम्प्युटर र सभरहरूको 'डेल डट कम' वेबसाइटमार्फत अनलाइन विक्री शुरू गरियो । अनलाइन विक्री शुरू भएको केही समयमै कम्पनीले विश्वभर दैनिक १ अर्ब डलरको कारोबार गर्दै कीर्तिमान कायम गरेको थियो । यस कीर्तिमानसँगै सन् २००१ को पहिलो त्रैमासमा कम्पनीले विश्वको कम्प्युटर बजारको १२ दशमलव ८ प्रतिशत हिस्सामा कब्जा जमाउन सफल भयो । त्यसले गर्दा उक्त समयमा विश्वको सबैभन्दा ठूलो पसनल कम्प्युटर निर्माताका रूपमा रहेको 'कम्प्याक'लाई उछिन्दै 'डेल इङ्क'ले पहिलो स्थान पाउन सफल भयो । प्रतिस्पर्धी कम्पनीहरूको व्यापार घटिरहँदा 'डेल इङ्क'का उत्पादनहरूको विक्री वृद्धिदर भने अमेरिकामा ३० दशमलव ७ र अन्य देशमा ३४ दशमलव ३ प्रतिशत रह्यो । सन् २००४ मा कम्पनीको कार्यकारी प्रमुखबाट राजीनामा दिएका उनी 'डेल इङ्क'को सञ्चालक समितिको विशेष अनुरोधपछि सन् २००७ मा फेरि सोही पदमा बहाल भए । 'डेल इङ्क'का उत्पादनहरूमा पसनल कम्प्युटर, सभर, प्रिण्टर, स्क्यानर र पछिल्लो समयमा स्मार्टफोनहरूसमेत रहेका छन् । सन् २०११ मा कम्पनीको आम्दानी ६१ अर्ब ४९ करोड डलर भएको बताइन्छ । त्यसैगरी विश्वका ठूला ५ सय कम्पनीको सूची 'फोर्चुन ५००' मा 'डेल इङ्क' ४१औं स्थानमा सूचीकृत छ ।
कम्प्युटर व्यापारबाहेक माइकल डेल घरजग्गा कारोबार, व्यापार सुरक्षण र शेयर कारोबारमा पनि संलग्न छन् । त्यसका लागि उनले सन् १९९८ मा 'एमएसडी क्यापिटल' नामक लगानी तथा पूँजी निवेश कम्पनी स्थापना गरेका थिए । न्यूयोर्क र लण्डनमा कार्यालय रहेको 'एमएसडी क्यापिटल'ले डेल परिवारका लगानीहरूको रेखदेख गर्छ । तर, माइकल डेल यसको दैनिक कार्यसञ्चालनमा भने प्रत्यक्ष रूपले संलग्न छैनन् । व्यापार/व्यवसायबाहेक डेल सामाजिक तथा राजनीतिक कार्यमा पनि सक्रिय छन् । पत्नी र आफ्नो नाममा स्थापित 'माइकल एण्ड सुजान डेल फाउण्डेशन'मार्फत स्वास्थ्य, गरीबहरूको शिक्षा र बालबालिकाको उत्थानमा उनले थुप्रै रकम खर्चेका छन् । त्यसका लागि सन् २०१० मा फाउण्डेशनले अमेरिका र भारतका गैरनाफामूलक संस्थाहरूलाई ५३ करोड डलर प्रदान गरेको थियो । त्यसैगरी 'युनिभर्सिटी अफ टेक्सास'सँग सम्बन्धित तीन स्वास्थ्य अनुसन्धान संस्थालाई पनि ६ करोड ५० लाख डलर दिइएको थियो । रिपब्लिकन पार्टीको निकटवर्ती डेल परिवार सन् २००४ को राष्ट्रपतीय निर्वाचनताका पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई साढे २ लाख डलर सहयोग गर्ने ५३ जनामध्ये एक रहेको थियो । तर, व्यावसायिक सफलतासँगै उनलाई कर छली गरेर विलासी जीवन बिताएको आरोप पनि लाग्दै आएको छ । सन् २०११ अप्रिलमा स्वतन्त्र अमेरिकी समाचार संस्था 'मदर जोन्स'ले प्रकाशित गर्ने 'मदर जोन्स' पत्रिकामा डेलले कर छली गर्दै निजी जेट विमानमा शयर गरेको, विलासी जीवन बिताएको र बढी नाफाका लागि अमेरिकाभित्रका रोजगारी अन्यत्र लगेको आरोप लगाइएको थियो । माइकल डेलले भने यी आरोप निराधार भएको र आफूले अमेरिकी कानूनअनुसार नै कारोबार गरिरहेको भन्दै खण्डन गरेका छन् ।
व्यावसायिक जीवनमा यस्ता आरोप लागे पनि डेल एक सफल व्यापारी भएकोमा चाँहि कुनै शङ्का छैन । प्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार सन् २०११ जुनसम्म डेलको निजी सम्पत्ति १४ दशमलव ६ अर्ब अमेरिकी डलर पुगेको छ । 'फोर्ब्स'ले प्रकाशित गरेको विश्वका धनाढयहरूको सूचीमा माइकल डेल ४४औं स्थानमा छन् ।
Admin 2011-09-23