''प्राथमिकता काममा'' - भीष्मराज चालिसे
प्रमुख कार्यकारी अधिकृत
सिभिल क्यापिटल मार्केट लिमिटेड
कमजोर आर्थिक अवस्था भएका उनलाई एसएलसीपछि जागीर गर्नैपर्ने बाध्यता थियो । त्यसैले उनले उच्च शिक्षासँगै जीवन-जहाजलाई जगत्मा जबरजस्त बनाउन तत्कालीन दूरसञ्चारमा सहायक पदमा साढे तीनवर्षकाम गरे । जलेश्वर सरुवा भएपछि छँदाखाँदाको इलम छाडे उनले पढाइलाई प्राथमिकता दिएर । बीकम सक्दा नसक्दै लेखापरीक्षकको कार्यालयमा लेखाअधिकृत भएका उनलाई त्यहाँ ४ वर्षबढी बिताएपछि विविधताका निम्ति बाहिरिन मन लाग्यो । र, भन्नेबित्तिकै पाइहाले एउटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गरेको परियोजनामा लेखापालको काम । व्यवस्थापनमा स्नातकोत्तर गर्नेबित्तिकै भर्खरै खुलेको एउटा वाणिज्य बैङ्कमा प्रवेश गर्ने उनको उत्कट अभिलाषामा तुषारापात भयो- त्यस बेलाका त्यहाँका प्रमुख कार्यकारी अधिकृतले वाणिज्य बैङ्कमा काम गरेको अनुभवपत्र ल्याउन सुझाएपछि । अनुभवविहीनताका कारण बैङ्कमा करिअर बनाउन नपाएका उनले प्रण गरेरै छाडे- देशको कुनै न कुनै बैङ्कमा आफूलाई स्थापित गर्ने । 'विष नभएको सप र इख नभएको मान्छे काम लाग्दैन' भन्ने बूढापाकाको आहान आत्मसात् गर्दा त्यो चाहना पूरा मात्र भएन उनको अपितु एउटा स्वायत्त संस्थाको प्रमुख कार्यकारी अधिकृतसमेत भए जुन उनले कल्पना पनि गरेका थिएनन् ।
सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे आफूलाई किसानको छोरो र तल्लो तहबाट उठेको व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्न हिचकिचाउँदैनन् । २०३६ सालतिर कक्षा ६ पढ्दा अज्ञानतावश विद्यार्थी राजनीतिमा होमिएका उनले त्यतिबेला परीक्षामा कापी च्यातेको पनि बिर्सेका छैनन् । 'त्यो बुझेर गरेको राजनीति थिएन' स्पष्टीकरण दिन्छन् । २०५१ साल असारमा शेयर दलाल प्रतिनिधि भएर पनि काम गरे उनले । उनको नम्बर २२ थियो त्यो बेला । बैङ्किङ करिअरको लक्ष्य एस डेभलपमेण्टको सहायक महाप्रबन्धक र काष्ठमण्डप डेभलपमेण्ट बैङ्कको प्रमुख सञ्चालन अधिकृत र कम्पनी सचिव भएर झण्डै १४ वर्षको कार्यानुभव सँगालेपछि ३ वर्षअघि रू. ७ करोडको लगानीमा सिभिल क्यापिटल मार्केट लिमिटेड सञ्चालन गरेका हुन् उनले ।
दर्ता चलानीकर्तादेखि प्रमुख कार्यकारी अधिकृतसम्मको उचाइमा पुगेका भीष्मलाई पद होइन, काम ठूलो लाग्छ । कामलाई नै प्राथमिकता दिनुपर्ने उनको मान्यता छ । 'तल्लो तहबाट ज्ञान र अनुभव प्राप्त नगरी उपल्लोस्तरको कार्यसम्पादन कठिन हुन्छ' आफ्नो विश्लेषण सुनाउँछन् । उनमा उच्च महात्त्वाकाङ्क्षा छैन । कामप्रति वफादार मान्छेको समूह बनाएर काम गर्ने उनको बानी छ । ४२ ओटा कम्पनीसँग साझेदारी गरेर व्यवसाय बढाएका छन् उनले । सिभिल क्यापिटल मार्केटलाई १४ ओटा मर्चेण्ट बैङ्कबीच बेग्लै बनाउने सोच छ उनको । र, मर्चेण्ट बैङ्किङ व्यवसायलाई बृहत् र विस्तारित गर्ने लक्ष्य निर्धारण गरेका छन् उनले । शेयरबजारमा बुझेर लगानी गर्न उनको सुझाव छ । अर्काको लहलहैमा लागेर लगानी गर्दा जोखिम हुने उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क गराउन चुक्तैनन् उनी ।
कार्यालयको काम नसकी कहिल्यै कतै नजाने अनौठो बानी छ भीष्मको । कैयौं रात कार्यालयमा नै बिताएका छन् उनले । 'अरूकोईष्र्या नगरी इमानदारीपूर्वक काम गर्दा सफलता सहज हुन्छ' कामप्रतिको आफ्नो सङ्कल्प र समर्पण सुनाउँछन् । आफूलाई सर्वेसर्वा ठान्ने, काम नगरी लोकप्रियता हासिल गर्न चाहने र बहानबाजी गर्नेसँग काम गर्न उनलाई मन लाग्दैन । मुलुकमा नै गरिखाने प्रशस्त स्थान भएकाले विदेशिने चाहना नगर्न सल्लाह दिन्छन् उनी युवापुस्तालाई । 'गाउँमा अवसर छन् खाँचो छ परिश्रमको' कुटिर उद्योग र पशुपालनजस्ता उद्यमशीलताका कामलाई युवावर्गले बेवास्ता गरेको अनुभूति सुनाउँदै उनी भन्छन् ।
Admin 2011-04-19