शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दक्षलाई रोजगारी
बलबहादुर तामाङ
अध्यक्ष
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा
स्काई ग्रूप अफ कम्पनिज


आफैले केही गर्नुपर्छ भन्ने भावना बोकेर २०५१ सालमा ताप्लेजुङबाट काठमाडौं छिरेका उनी अहिले एक प्रतिष्ठित व्यवसायी बनेका छन् । स्काई ग्रूप अफ कम्पनिजका सञ्चालक बलबहादुर तामाङ शुरूमा अरूको कम्पनीमार्फत वैदेशिक रोजगारीमा कामदार पठाउने काम गर्थे । उनले २०५५ सालमा साथीहरूसँग मिलेर आफैले वैदेशिक रोजगार कम्पनी स्थापना गरे । व्यवसाय सञ्चालन क्रममा विभिन्न अप्ठयारा र चुनौतीको सामाना गर्नुपरे पनि मेहनत, लगनशीलता र साहसले अहिलेको अवस्था आइपुगेको तामाङ बताउँछन् ।वैदेशिक रोजगारीमा जाने युवाहरूको भरपर्दो र विश्वासिलो पात्र भइसकेका छन् उनी । हाल उनले नेपाली युवालाई सस्तो लागतमा दक्षताअनुसारको काममा पठाउने गरेका छन् । २०५५ सालमा स्काई ओभरसिज स्थापना गरेका तामाङले २०६० सालमा जेरी भर्घिज ग्लोबल रिक्रुटमेण्ट सर्भिसेज प्रालिको स्थापना गरे । 'जेरी भर्घिज कम्पनी भारतको एक प्रख्यात जेरी भर्घिज ग्लोबल रिक्रुटमेण्टको नेपालमा शाखा तथा सहकार्य (फ्रेञ्चाइजी)मा स्थापना भएको हो,’ उनले भने ।

हाल तामाङका स्काई ग्रूप अफ कम्पनिजअन्तर्गत स्काई हाइवे ट्राभल्स एण्ड टुर्स प्रालि, स्काई ब्लु वे टेक्निकल इन्षिटच्युट प्रालि, स्काईलाइन एड्भरटाइजिङ एजेन्सी प्रालि र स्काई ओभरसिज सर्भिसेज प्रालि रहेका छन् । वार्षिक २ देखि ४ हजार नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदै आएका उनले हालसम्म ४० हजारभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाइसकेका छन् ।४० वर्षअघि ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका तामाङले २०४७ सालमा मैवा खोला उच्च मावि, तेम्वेबाट एसएलसी गरेका थिए । अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका तामाङ वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई कम लागतमा दक्षताअनुसारको कामका पठाउने उद्देश्य लिएर यस व्यवसायमा पेशामा छिरेको बताउँछन् । उनी भन्छन्, 'जेरी भर्घिजबाट जाने कुनै पनि कामदारले हालसम्म भिसाबापतको शुल्क तिर्नु परेको छैन ।' दक्ष कामदारलाई रोजगारीमा पठाउने गरेका तामाङले स्काईबाट पनि सस्तो र विनालगानीमा पनि वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । रोजगारदातासँग सीधै सम्पर्क गरी कामदारको माग ल्याउनुपर्छ भन्छन् तामाङ । स्वदेशी तथा विदेशी एजेण्टको भरमा कामदारलाई रोजगारीमा पठाउँदैनन् उनी ।

उनी बिहान ७ बजे उठ्ने उनी २ घण्टा परिवारको हेरचाहमा लाग्छन् । बिहानको दैनिकी सकेपछि १० बजे कार्यालय पुग्छन् । कार्यालयबाट बचेको समय सामाजिक सेवा लगाउँछन् । काम गर्ने समय तालिका बनाएका छन् । उनले आफ्नो संस्थामा काम गर्ने सम्पूर्ण कर्मचारीलाई पदअनुसारको अधिकार दिएका छन् । 'स्काई ग्रूप सबैको मन्दिर हो,’ उनी भन्छन्, 'यसमा मेरो जति हो, सबै कर्मचारीको त्यति नै अधिकार छ ।’ करीब ३२ लाख रुपैयाँको लगानीमा स्थापना गरेको कम्पनीमा हाल रू. ५ करोडभन्दा बढी लगानी भइसकेको बताउँछन् तामाङ । स्वदेश तथा विदेशमा गरी ८० जनाभन्दा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् उनले ।

समाजसेवा नै ठूलो धर्म मान्ने तामाङ आधा दर्जनभन्दा बढी सामाजिक संस्थामा आबद्ध छन् । स्काई ओभरसिजले रू. २५ लाखको लगानीमा मोरङको बेलबारीमा गुम्बा स्थापना गरेको छ । वार्षिक रूपमा रक्तदान कार्यक्रम साथै विद्यालय तथा धार्मिकस्थललाई सहयोग गर्ने गरेको बताउँछन् । मुख्य पेशा वैदेशिक रोजगार व्यवसाय भए पनि भविष्यमा पर्यटन व्यवसायलाई प्राथमिकता दिने बताउँछन् तामाङ । 'पर्यटन व्यवसाय सञ्चालनका लागि स्काई हाइवे ट्राभल्स एण्ड टुर्सको स्थापना गरेको छु,' उनले भने । एमाले नेता मदन भण्डारीलाई सफल राजनीतिज्ञ मान्ने तामाङ भारतीय व्यवसायी मामिन भर्घिजलाई सफल व्यवस्थापक मान्दछन् । 'मैले जुन तरीका अपनाएर व्यवसाय सञ्चालन गरेको छु, त्यो सबै मामिनबाट नै सिकेको हुँ,' उनले भने  ।

उनी भन्छन्, अन्य पेशामा व्यवसायीहरूबीच प्रतिस्पर्धा हुँदा उपभोक्तालाई फाइदा हुन्छ भने, यो पेशामा व्यवसायीहरूबीच प्रतिस्पर्धा हुँदा उपभोक्ताले बढी तिर्नुपर्ने हुन्छ । आगामी दिनमा वैदेशिक रोजगार व्यवसाय झन् फस्टाउने उनी बताउँछन् । जबसम्म नेपालमा लगानी गर्ने वातावरण र आन्तरिक रोजगारी सृजना हुँदैन तबसम्म यो व्यवसाय चलिरहन्छ । वैदेशिक रोजगारीलाई मर्यादित बनाउन व्यक्तिगत स्वीकृति र भारतीय बाटो प्रयोग गरी जानेलाई राज्यले रोक्नुपर्छ, उनी भन्छन् । ऐन समयसापेक्ष परिमार्जन गरी व्यवसायी, कामदार र सरकार तिनै पक्षलाई जिम्मेवार बनाउनुपर्छ । रोजगारीमा जाने कामदारको दक्षताअनुसार वैज्ञानिक तवरले तलब निर्धारण गर्नु आवश्यक ठान्छन् उनी ।

Admin 2011-08-23