''विवेक विज्ञान प्रविधिमा'' - रामहरि अर्याल, पीएडी
सचिव, विज्ञान तथा प्रविधि
जनसङ्ख्या अध्ययनमा अष्ट्रेलियाबाट विद्यावारिधि गरेका छन् उनले । तर, नामको अगाडि 'डा.' लेख्दैनन् । बरु पछाडि 'पीएचडी' उल्लेख गर्न चुक्तैनन् उनी । 'डा.' लेख्नु अनुपयुक्त लाग्छ उनलाई । पश्चिमामूलकका नागरिकले नामको परसग बनाएका छन् पीएचडीको उपाधिलाई । त्यसैले उनले पनि त्यसै गर्नु उचित ठानेका हुन् । शिक्षक बाबुका सन्तान उनले बामे सन थाल्दादेखि बाह्रखरी खार्न थालेका हुन् । 'राजाको सिन्दूर' लगाउने रहरले निजामती सेवामा प्रवेश गरेका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामहरि अर्याल विज्ञान र प्रविधिको विवेकपूर्ण प्रयोगले विकास गर्न सकिने मात्र होइन, विश्व नै जितिनेमा विश्वस्त छन् । निजामती सेवामा जागीर खानुलाई 'राजाको सिन्दूर' लगाउनु भनिन्थ्यो त्यतिबेला । राष्ट्रिय वाणिज्य बैङ्कको अधिकृतस्तरको आकर्षक पद त्यागेर उनी सरकारी सेवामा हानिएका हुन् २०३७ सालमा । तत्कालीन राष्ट्रिय पञ्चायतमा उनको पहिलो 'पोष्टिङ' भएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि पनि संसद् सचिवालयमा काम गरेका उनी सेवा परिवर्तन नगरेको भए त्यहाँको सर्वोच्च तह महासचिवबाट सेवा निवृत्त भइसकेका हुन्थे । सहसचिवको खुला परीक्षा पास गरेर प्रशासनको मूलधारमा समाहित भएका उनी 'इच्छानुसारको काम नभएकाले व्यापकताको खोजी गर्न बाहिरिएको' बताउँछन् ।
हरेक व्यक्तिले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिन्छन् अर्याल । काममा रमाउन र स्वअनुशासनमा रहन युवावर्गलाई उनको सुझाव छ । सक्षमलाई योग्यताअनुसारको जिम्मेवारी दिनुपर्ने उनको मान्यता छ । मातहतका कर्मचारीलाई केही दिन नसके पनि उनीहरूलाई धाप मारेर प्रोत्साहित गर्नुपर्ने उनको मत छ । व्यक्तिको बोली र व्यवहारबाट उसको स्वभाव जस्ताको तस्तै भन्न सक्ने अद्भूत क्षमता छ उनमा । बीसवर्षको अल्लारे वयमा बिहे गरेका उनी आफ्ना पितालाई रोलमोडल मान्छन् । र, जीवनसङ्गिनीको सहयोगबाट आजको अवस्थासम्म पुगेको सवर्ग स्वीकार्छन् ।
प्रभावकारी ढङ्गले सेवा प्रवाह नहुँदा निजामती प्रशासनले साख गुमाएको अर्यालको अनुभव छ । 'राम्रा भन्दा हाम्रा'लाई प्राथमिकता दिने प्रवृत्तिका कारण कैयौं स्थानमा लक्ष्यअनुसार काम नभएको उनलाई लाग्छ । पुराना ऐननियम समयसापेक्ष बनाउनुपर्ने र कर्मचारीलाई पनि परिणाममुखी बनाउने पद्धतिको विकास अपरिहार्य मान्छन् उनी । सरकार र निजीक्षेत्रबीचको साझेदारीबाट राष्ट्र निर्माणका धेरै काम गर्न सकिने उनको दाबी छ । एकै प्रकृतिका योजना तर्जुमा गर्ने तथा व्यक्तिको चाहनाअनुसार काम गर्ने परिपाटीले पनि विकास निर्माणको गति अघि नबढेको उनको ठम्याइ छ । सरोकारवाला सम्बन्धित निकायहरूसँग समन्वय गरेर एकीकृत रूपमा काम गरेमा विकास सम्भव हुने उल्लेख गर्छन् उनी ।
पारदर्शी सेवा प्रवाह, सूचना प्रविधिमा आधारित सेवाको विकास, विद्युतीय शासनप्रणालीको अभ्यासबाट सुशासन कायम गर्न सकिने बताउँछन् अर्याल । मुलुकमा भ्रष्टाचार संस्थागत भएको भनाइ मान्न तयार छैनन् उनी । यद्यपि प्रत्येक तहमा भ्रष्टाचार देखेका छन् उनले । तलब कम छ भनेर भ्रष्टाचार गर्न पाइँदैन भन्ने उनी दण्डहीनता बढ्दा त्यसको घनत्व पनि वृद्धि भएको ठान्छन् । स्वच्छ छवि भएकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गरिनुपर्ने तथा त्यसलाई अझ सशक्त बनाउन सके भ्रष्टाचार घट्ने उनलाई लाग्छ । राष्ट्रिय सतर्कता केन्द्रलाई पनि कानूनी रूपमा सशक्त एवम् प्रभावकारी बनाउन सरकार आफै लाग्नुपर्ने उनको सुझाव छ ।
'नास्तिक पनि ईश्वरदेखि डराउँछ' भन्छन् अर्याल । धर्मलाई आत्मनिर्णयभन्न रुचाउने उनलाई मन्दिर जाँदैमा धर्म हुन्छ भन्ने लाग्दैन । मन्दिर जान मरिहत्ते नगर्ने उनी ब्राह्मण बोलाएर दान पनि गर्दैनन् र व्रत पनि बस्दैनन् । देशमा क्रमशः संस्थागत संस्कार र सामाजिक उत्तरदायित्व वहन गर्ने परम्पराको विकास भएको उनको बुझाइ छ । स्वदेशमा प्रशस्त अवसर देख्ने उनी युवावर्गलाई मातृभूमिको सेवाबाट विमुख नहुन आग्रह गर्छन् ।
Admin 2011-03-20