शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''एक काम एक गाउँ, एक उत्पादन'' - उत्तमप्रसाद वैद्य
अध्यक्ष
भक्तपुर उद्योग वाणिज्य सङ्घ

क्षेत्रफलका आधारमा मुलुकको सबैभन्दा सानो जिल्ला भक्तपुरको उद्योग वाणिज्य सङ्घलाई नेतृत्व दिइरहेका छन् उत्तमप्रसाद वैद्यले । 'एक गाउँ एक उत्पादन'लाई उच्च प्राथमिकता दिएका छन् उनले । १६ गाविस भएको उक्त जिल्लाका १२ गाविसमा लप्सी उत्पादन भइरहेको छ- त्यहाँका सर्वसाधारणको आर्थिकस्तर उठाउन । भक्तपुर नगरपालिकामा समेत कार्यान्वयन गरिएको एक गाउँ एक उत्पादनको स्वावलम्बी कार्यक्रमले ८ सय १० परिवारलाई समेटेको छ । झण्डै २ दशकदेखि उद्योग वाणिज्य सङ्घमा लागेका उनी व्यक्तिगत विकासलाई गौण मान्छन् । संस्थागत हित सोच्नेहरूको खडेरी परेको उनलाई लाग्छ । हरेक क्षेत्रमा हुने अति राजनीतीकरण व्यक्तिगत स्वार्थ हाबी भएको उनको बुझाइ छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घमा अध्यक्षको चयन सर्वसम्मतबाट हुने गरेको छ । त्यहाँ उपाध्यक्ष भएको व्यक्ति अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्ने अनौठो नजीर बसेको छ । 'अरू जिल्लामा जस्तो हामीकहाँ चलखेल हुँदैन' हालै सम्पन्न महासङ्घको निर्वाचन राजनीतिक दलको चुनावभन्दा पृथक् हुन नसकेकोतर्फ लक्ष्य गर्दै उत्तम भन्छन् । पदका निम्ति लुछाचुँडी गर्न नहुने सन्देश सङ्घले दिएको उनी बताउँछन् । समग्र व्यवसायीहरूको हकहित प्रवर्द्धनलाई उनले अर्जुनदृष्टि बनाएका छन् । त्यसैले उनको पारिवारिक व्यवसायमा आफ्नी दिदीहरूले सघाएका छन् । उनको लगानीका गोल्डेन गेट गेष्ट हाउस, सुकुलढोका इण्टरप्राइजेज, बागमती कोल्ड स्टोरेज, क्लब बागमती, भक्तपुर उद्यमी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र भक्तपुर लप्सी क्याण्डी इण्डष्ट्री सञ्चालित छन् ।

पुस्तौं पहिलेदेखि उत्तमका पूर्वज भक्तपुरमा बसोबास गर्दै आएका हुन् । उनका पिता सामान्य व्यापारी थिए । २०१९ सालमा जन्मेका उनले भक्तपुर बहुमुखी क्याम्पसबाट बीए पास गरेका छन् । व्यापार व्यवसायलाई बढी समय दिनुपरेकाले चाहेर पनि स्नातकोत्तर गर्न पाएनन् उनले । मातापिताको प्रेरणा र मेहनतले सफल उद्यमी भएको उनी उल्लेख गर्छन् । 'अकूत सम्पत्ति आर्जन गर्ने आकाङ्क्षा नभएकाले आफूसँग जे छ, त्यसमा सन्तुष्ट छु,' धनसम्पत्ति कमाउने अति महत्त्वाकाङ्क्षाबाट आफू कोसौं टाढा रहेको स्पष्टीकरण दिन्छन् ।

कार्यतालिका बनाएर काम गर्ने बानी भएका उत्तमको व्यवस्थापन मन्त्र इमानदारी र परिश्रम हो । समूहगत कार्यप्रणालीमा विश्वास गर्ने उनी स्वामित्वबोधसहितको जिम्मेवारी आफ्ना कर्मचारीलाई दिन्छन् । उनीहरूको विश्वास जितेर काम लिन खप्पिस उत्तमले सबैलाई पारिवारिक वातावरण र स्नेह दिएका छन् । दिइएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पन्न गर्न कर्मचारीलाई प्रेरित गरिरहन्छन् । उनलाई व्यक्तिगत स्वार्थमात्र पूरा गर्न चाहने व्यक्तिसँग व्यवहार गर्न मन लाग्दैन ।

हरेक बिहान पूजापाठ गर्छन् उत्तम । त्यसो गर्दा उनलाई असीम आनन्दानुभूति हुन्छ । भाकलमा विश्वास छैन उनलाई । वृद्धाश्रम र मन्दिर बनाउन गच्छेअनुसार उनी दान गर्छन् । मुलुकमा संस्थागत संस्कृतिको खासै विकास भएको उनलाई लाग्दैन । निजीक्षेत्रका केही संस्थाले त्यसको अभ्यास गर्न थालेको उनको ठम्याइ छ । स्वतन्त्र रूपमा उद्योग-व्यवसाय सञ्चालन गर्ने वातावरण तयार नभएसम्म देशको अर्थतन्त्र उकालो लाग्न सक्दैन भन्ने उनी आर्थिक स्थायित्व एवम् विकासका निम्ति सार्वजनिक निजीक्षेत्र साझेदारीलाई बेवास्ता गर्न नहुनेमा जोड दिन्छन् ।

Admin 2011-05-20