''सफलता परिश्रम र अठोटको'' - केशव कार्की
सञ्चालक, हिमाली कत्था उद्योग
बाल्यावस्थामा बूढापाकाबाट सुनेको आहान 'ईख नभएको छोरो र विष नभएको सर्प काम लाग्दैन' को अनुसरण गर्दा उनी आज कल्पना नै नगरेको अवस्थामा पुगेका छन् । पूर्वी नेपालको विकट पहाडी जिल्ला भोजपुरको वास्तिम गाउँमा हुर्केका उनलाई बाजेले सैनिक अधिकृत बनाउने सपना देखेका थिए भने बाबुको चाहना भने नामुद वकिल बनाउने थियो । आफै पनि उनी क्याम्पसको अध्यापक बन्न तम्सिएका थिए । तर, नियतिले उनलाई अन्तै पुर्यायो । २०५० सालमा सानो पूँजीबाट फर्निचर उद्योग शुरू गरेका उनले झण्डै १८ वर्षको अवधिमा ३० करोडभन्दा बढीको जायजेथा जोडेका छन् । र, सँगै तीनओटा उद्योग सञ्चालन गरेर ४ सय जनालाई रोजगारी दिएका छन् । हिमाली कत्था उद्योगका सञ्चालक केशव कार्की कल्पना नै नगरेको अवस्थामा आइपुगेको स्वीकार गर्छन् । धनको तुजुक उनमा रत्तिभर छैन । विनय उनको गहना हो ।
नातिलाई सैनिक अधिकृत बनाउने बाजेको इच्छा पूरा गर्न सेकेण्ड लेफि्टनेण्टमा प्रतिस्पर्धा गरेका केशवले विवाहित भएका कारण अन्तरवार्ताबाट बाहिरिनुपर्यो । बाजेको चाहनामा तुषारापात भएपछि बाबुको इच्छा पूरा गर्नतिर लागेका उनले कानूनमा स्नातक मात्र गरेनन् २ वर्ष वकिल भएर कानूनी दाउपेच पनि सिके । कानूनव्यवसायीका रूपमा जम्न नसकेपछि इलाम क्याम्पसमा पढाउन हिँडेका उनलाई झापाको चारआलीमा सानो फर्निचर उद्योग सञ्चालन गरिरहेका ससुरालीले 'कमाउनका लागि पढाइरहनु पर्दैन, फर्निचरको काम गरे भइहाल्छ' भनेपछि उनले काष्ठकलाको काम थालेका हुन् । ५ वर्ष चारआलीमा चम्केका उनले पूर्वको पर्यटकीय नगरी धरानमा आफ्नै लगानीमा फर्निचर उद्योग स्थापनासँगै खयर काठको व्यापार पनि थालेर आम्दानी बढाए । २०५५ सालमा धरानमा ३ लाखको लगानीमा खोलिएको फर्निचरले बजार ओगट्दै गएको उनी बताउँछन् । खयरको व्यापार पनि बढेपछि उत्साह अझ बढेको उनको अनुभव छ । वीरगञ्जको खयर व्यापारीले आफूखुशी खयरको मोल तोक्न थालेपछि केही चिढिएका कार्कीले ती व्यापारीलाई कत्था उत्पादन गरेर दिने प्रस्ताव गरेका थिए । 'कत्था उत्पादन गर्ने मेरो प्रस्तावप्रति अट्टहास गर्दै भारतीयमूलका ती व्यापारीले नेपालीले पनि उद्योग सञ्चालन गर्छन् ?' भनेर अपमानपूर्ण ढङ्गले व्यङ्ग्य गरेपछि 'केही गरेर देखाउने' प्रणको प्रतिफल वर्तमानमा प्राप्त भएको उनी गौरवका साथ उल्लेख गर्छन् ।
फर्निचर उद्योग र खयर व्यापारबाट कमाएको ५० लाख रुपियाँ र अन्य साझेदारसमेत राखेर करीब ३ करोड रुपैयाँ लगानी गरेर २०५८ सालमा सुनसरीको हाँसपोसामा हिमाली कत्था उद्योग शुरू गरेका केशवले २ वर्षअघि रूपन्देहीको कोटीहवामा माउण्ट एभरेष्ट कत्था मिल्स र माउण्ट रोजिन एण्ड टर्पेण्टाइन उद्योग पनि सञ्चालन गरेका छन् । हिमाली कत्था उद्योगको चुक्तापूँजीले अहिले २० करोड नाघिसकेको छ ।
हिमाली कत्था उद्योगले वार्षिक ४० करोड रुपियाँ र माउण्ट एभरेष्टले ५० करोड रुपियाँको कत्था भारत निर्यात गर्दै आएका छन् । केशव आजभोलि १ महीनामा १५ दिन सुनसरी हाँसपोसाको हिमाली कत्था र १५ दिन कोटीहवाको माउण्ट एभरेष्ट कत्था उद्योगमा बिताउँछन् । उनी भन्छन्- तीनओटै उद्योग मेरो प्रत्यक्ष रेखदेखमा चलिरहेका छन् । आफू प्रत्यक्ष सहभागी भएर व्यवसाय गरेमात्र सफल हुन सकिन्छ भन्ने मेरो विश्वास छ ।
केशव आफ्नो उद्योगमा दैनिक १० घण्टाभन्दा बढी समय सक्रिय हुने गरेका छन् । केशवले हिमाली कत्था उद्योग सञ्चालन गर्दा नेपालमा जम्मा आठओटा कत्था उद्योग थिए । अहिले २६ ओटा भएका छन् । पछिल्लो समयमा कत्था उद्योग थपिने क्रम ह्वात्तै बढेकाले स्वस्थ प्रतिस्पर्धा शुरू भएको हो कि भन्ने उनलाई लागेको छ । वन पैदावर खयरमा आधारित कत्था उद्योगमा केही वर्षपछि कच्चा पदार्थ अभाव हुने चिन्ताले उनी अहिलेदेखि नै पिरोलिएका छन् ।
प्रस्तुतिः केपी भट्टराई