''खरो बोली सफा मान्छे'' - सुरेन्द्रमान प्रधान
प्रमुख कार्यकारी अधिकृत
सनराइज बैङ्क लिमिटेड
जीवनको सर्वाधिक ऊर्जाशील समय मुलुकको केन्द्रीय बैङ्कमा बिताएका उनलाई वित्तीय क्षेत्रका खेलाडी मानिन्छ । तीन वर्षअघि स्थापना भएको सनराइज बैङ्कलाई त्यही समयमा खुलेका बैङ्कको हाराहारीमा पुर्याउने लक्ष्यका साथ उनी अहोरात्र खटिरहेका छन् । केही दिनअघिमात्र बैङ्कको नेतृत्व सम्हालेका उनी 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक' भन्ने उच्च लक्ष्यका साथ अघि बढ्ने देवकोटाको भनाइ अवलम्बन गर्ने व्यक्तिमा पर्छन् । सनराइजलाई देशको अग्रणी बैङ्कका रूपमा स्थापित गर्ने उनको लक्ष्यप्राप्तिको ठोस योजना पनि उनीसँग छ । हरेक काम योजनाबद्ध ढङ्गले गर्ने उनी लक्ष्य भेदनको रणनीति भने सार्वजनिक गर्न रुचाउँदैनन् । बैङ्क तथा वित्तीय बजारमा बढिरहेको व्यापक प्रतिस्पर्धाले पनि सनराइज बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानलाई यसो गर्ने अनुमति दिंदैन ।
जुनसुकै संस्थाको समृद्धि शैक्षिक तथा व्यावहारिक ज्ञान प्राप्त गरेका व्यावसायिकहरूको मेहनतबाट हुन्छ भन्ने प्रधान संस्थाको सञ्चालन व्यक्तिगत होइन संस्थागत रूपमा हुनुपर्नेमा जोड दिन्छन् । संस्थागत सुशासनलाई केन्द्रमा राखेर कार्य गर्दा लक्ष्यसम्म पुग्न सहज हुनेमा विश्वस्त उनी पदीय मर्यादा कायम गर्दै सबैलाई समेटेर कार्यसम्पादन गर्दा सफलता प्राप्त गर्न कठिन नहुने बताउँछन् । 'संस्थागत सुशासनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन जरूरी छ' उनी नेतृत्व तहमा बस्नेले बिर्सन नहुने व्यवस्थापन सूत्र सुनाउँछन् । कर्मचारीको नैतिकतालाई उच्च राख्न सधै क्रियाशील रहने उनी अवसर दिने तथा कामप्रति उनीहरूको जिम्मेवारीबोध बढाउनु अपरिहार्य ठान्छन् । संस्थाका गतिविधि तथा निर्णयबारे समयसमयमा जानकारी दिने उनको बानी छ । संस्थागत निर्णय लाद्नुको साटो हरेक क्रियाकलापमा कर्मचारीको सहभागिता बढाउँदा परिणाम सुखद आउने उनको ठम्याइ छ । 'अहस्तक्षेप पनि उत्तिकै जरूरी छ' कर्मचारीको हौसला तथा संस्थागत वृद्धिका निम्ति आवश्यक गुण उनी उल्लेख गर्छन् ।
वित्तीय अनुशासन कायम गर्नु सबै बैङ्क तथा वित्तीय संस्थाको प्रमुख दायित्व भएको बताउने प्रधान नियमक निकाय नेपाल राष्ट्र बैङ्कले आफूलाई प्रभावकारी बनाउनुपर्ने विचार व्यक्त गर्छन् । वित्तीय क्षेत्रमा सफा मान्छेको परिचय स्थापित गरेका उनी अरूलाई भन्नुभन्दा आफैँ 'रोल मोडेल ' भएर देखाउनुपर्ने मत व्यक्त गर्दछन् । देशका विभिन्न भागमा ४७ शाखा मार्फत सेवा वित्तीय प्रदान गरिरहेको सनराइजले प्रत्यक्ष रूपमा ४ सयलाई रोजगारी दिएको छ । सेवा प्रारम्भ गरेको तीन वर्षको अविधिमा रू. ७ करोड मुनाफा कमाउन सफल सनराइजले रू. १४ अर्ब निक्षेप प्रवाह गरेको छ ।
ग्रामीण इलाकामा बैङ्क तथा वित्तीय सेवा पुर्याउनुपर्ने अभिमतप्रति सहमत प्रधान विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त मुलुकले बैङ्क सञ्चालनको अनुमतिपत्र रोक्नुलाई तर्कपूर्ण मान्दैनन् । नयाँ बैङ्क स्थापना गर्न अनुमति नदिने नेपाल राष्ट्र बैङ्कको सैद्धान्तिक रूपमा त्रुटिपूर्ण भएको उनको टिप्पणी छ । वित्तीय बजारमा नकारात्मक असर पर्ने गरी भएका निर्णय सच्याउनुपर्ने उनको विचार छ । प्रभावकारी अनुगमनबाट बैङ्कहरूमा वित्तीय अनुशासन कायम गराउन सकिने र नयाँ स्थापना गर्न चाहनेलाई सशर्त अनुमति दिन सकिने उनी बताउँछन् । बाहिरिएको पूजी भित्रन नसक्दा आर्थिक गतिविधिले गति लिन नसकेको उनलाई लाग्छ । तहसनहसप्रायः पूर्वाधार, बढ्दो विद्युत् कटौती, निक्षेप सङ्कलनमा आएको र्हास, राजनीतिक अस्थिरता, नगद अभावलगायत समस्या समयमा सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।
समयमा बजेट प्रस्तुत नहुदा वित्तीय क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गर्ने प्रधान आर्थिक वृद्धिदर बढाउन तथा महँगी घटाउन आर्थिक गतिविधिमा व्यापक वृद्धि जरूरी भएको बताउँछन् । विद्यमान वित्तीय तथा आर्थिक पद्धतिलाई उकास्न यथाशक्य शीघ्र सरकारले आर्थिक क्रियाकलाप वृद्धिका कार्यक्रम ल्याउन आवश्यक भएको उनको अनुभूति छ । निजी क्षेत्रलाई पनि साथसाथै लैजाँदा त्यो सहयोगी हुने उनको मत छ । ठूला लगानीका योजना सञ्चालनका लागि राजनीतिक स्थायित्वलाई पूर्वशर्त भन्ने उनी एकीकृत रूपमा सबै बैङ्क मिलेर पूर्वाधार विकासमा लाग्न सकिने बताउँछन् ।
काममा विश्वास गर्ने प्रधान मनको शान्तिका लागि मन्दिर जान्छन् । 'मागेर केही प्राप्त हुदैन' मेहनत गर्न उनी युवाजमातलाई सुझाउछन् । भारतको नयाँ दिल्लीबाट लेखापरीक्षण (सीए) गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । बीस महीनाअघि नेपाल राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएका उनमा त्यहाँ २१ वर्षरहँदा आन्तरिक लेखापरीक्षण, वित्तीय व्यवस्थापन, बैङ्क सुपरिवेक्षण तथा नियमन र विदेशी मुद्रा व्यवस्थापन विभागका साथै राष्ट्रिय बीमा संस्थानको कार्यकारी निर्देशकको नेतृत्व सम्हालेको अनुभव छ । बीमा, लेखापरीक्षण, बैङ्क तथा वित्तीय क्षेत्र व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय क्षेत्र सुधारलगायत विषयमा कैयौँ विषयमा कैयौँ आलेख प्रकाशन गरेका उनले देश विदेशमा आयोजित गोष्ठीमा सयौँ कार्यपत्र प्रस्तुत गरेका छन् ।