शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''चरित्र मात्र लक्ष्य'' - नरेशसिंह बोहरा
महाप्रबन्धक
पूरा आकारमा हेर्नुहोस्युनाइटेड फाइनान्स लिमिटेड
बैङ्क तथा वित्तीय क्षेत्रको मात्र होइन मुलुकको समग्र अर्थतन्त्र कठिन परिस्थितिबाट गुज्रिरहेको उनको बुझाइ छ । विकासनिर्माणले गति लिन नपाउँदा आर्थिकजगत् कुँजो भएको बताउने उनी देशको अर्थव्यवस्थालाई खोलाका रूपमा चित्रण गर्छन् । 'खोलामा पानी बगे तिर्खा मेट्न पाइन्छ' खोलारूपी आर्थिक क्षेत्रमा सुक्खा लागेको विश्लेषण गर्दै उनी भन्छन् । युनाइटेड फाइनान्स लिमिटेडका महाप्रबन्धक नरेशसिंह बोहरा नयाँ उद्योग स्थापना नभएका र केही भएका पनि  बन्द हुनेक्रम बढेकोमा चिन्तित छन् । वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्यामा भएको बढोत्तरी र पर्यटन क्षेत्रमा हुन थालेको क्रमिक सुधारलाई उनले सकारात्मक रूपमा लिएका छन् । अन्य क्षेत्रमा पनि शीघ्र सुधार हुनेमा उनी आशावादी छन् ।

व्यावसायिक व्यक्तिहरूले व्यवस्थापन गरेको संस्था भएकाले युनाइटेड फाइनान्सको अवस्था सुदृढ रहेको दाबी गर्ने बोहरा वित्त बजारमा प्रतिस्पर्धा बढेकाले त्यसैअनुरूप क्षमता अभिवृद्धिको कार्य गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्छन् । ऋणको माग र कर्जा प्रवाहको अनुपातबीच तालमेल नमिलेको उनको अनुभव छ । भन्छन्, 'घरजग्गा कारोबार  गर्नेहरू पनि समस्यामा परेका छन्, ऋणको माग कम छ' । जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि युनाइटेडको 'ग्रोथ र स्ट्रेन्थ' बढेको छ- उनको अहोरात्रको परिश्रम र त्यसमा सहयोगी साथीहरूको साथले ।

लगानी र कर्जा प्रवाहको क्षेत्रलाई विस्तार गर्दै सेवा विविधीकरणमा लागेको युनाइटेडले साना तथा मझौला उद्यमीलाई उच्च प्राथमिकता दिएर लगानी गरिरहेको छ । 'हायर पर्चेज  र कञ्जुमर लेण्डिङ'लाई पनि उसले उत्तिकै महत्त्व दिएको छ । ऋण असुलीमा खासै समस्या नपरेकाले पुनः हर्जना व्यवस्था गर्नु नपरेको बोहराको अनुभव छ । ऋणीहरूमा ढिलासुस्तीको प्रवृत्ति भने बढेको उनी बताउँछन् । 'दुइ पैसा घाटा खाने तर पुनः खराब ऋणको हर्जाना व्यवस्था गर्नुपर्ने परिस्थिति ननिम्त्याउने' नीति उनले अवलम्बन गरेका छन् । गाउँगाउँमा वित्तीय सेवा पुर्‍याउन भौतिक पूर्वाधारका साथै सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा उनको जोड छ ।  राजनीतिक अस्थिरताको अन्त्य भएमा लगानी बढाउन सकिने उनको ठम्याइ छ । ग्रामीण पर्यटनको विकासबाट गरिबीको रेखामुनि रहेका जनताको उत्थानमा योगदान गर्न सकिने धारणा व्यक्त गर्ने उनी कागजी घोडा दौडाएर होइन, गरीब नेपालीलाई केन्द्रमा राखेर काम गर्नु अपरिहार्य ठान्छन् ।

जीवनमा अनेकौं आरोह-अवरोह पार गर्दै सफलताको शिखरतिर लागेका बोहराको असफलतामा आत्तिने र सफलतामा मात्तिने बानी छैन । मातहतका एक सय ४० कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने उनी सामूहिक कार्यसंस्कारमा  विश्वास गर्छन् । कामचोर र अगाडि एउटा र पछाडि अर्को कुरा गर्नेहरूसँग उनलाई काम गर्न पटक्कै मन लाग्दैन । आफू नै दृष्टान्त बनेर कर्मचारीलाई अभिप्रेरित गर्नुपर्छ भन्ने उनी कुनै पनि मान्छेबाट आफू प्रभावित नभएको उल्लेख गर्छन् । विकट पहाडी जिल्ला दार्चुलामा २०२९ सालमा जन्मेका उनले भारतको इलाहवादबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । विगत ३ वर्षदेखि युनाइटेडको महाप्रबन्धक रहेका उनी आफ्नै मिहिनेतबाट अहिलको अवस्थामा पुगेको दाबी गर्छन् । व्यावसायिक एवम् व्यक्तिगत लक्ष्य निर्धारण गरेका उनी  युनाइटेड फाइनान्सलाई बैङ्कमा परिणत गर्न लागिपरेका छन् । उच्च नैतिकता भएको सत्चरित्रवान मान्छे रहिरहने उनको व्यक्तिगत लक्ष्य हो । अति महत्त्वाकाङ्क्षी हुन नहुने तर्क गर्ने उनी समाजको उत्थानका लागि गच्छेअनुसार सहयोग गर्नुपर्छ भन्छन् ।

 नेपालमा बैङ्क तथा वित्तीय संस्थामा संस्थागत कार्यसंस्कृतिको क्रमिक विकास भइरहको उनको ठम्याइ छ । संस्थागत सामाजिक उत्तरदायित्वबारे बढी प्रचार भएको बताउने उनी यस क्षेत्रमा काम भने अत्यन्त कम भएको टिप्पणी गर्छन् । ईश्वर र धर्मकर्ममा विश्वास गरे पनि उनी धाएर मन्दिर जाँदैनन् । ईश्वरमा आस्था राख्नेहरूबाट अनैतिक काम नहुनेमा विश्वस्त उनी बालिका शिक्षाका लागि सक्दो सहयोग गर्छन् । 'सादा जीवन, उच्च विचार' उनको जीवन दर्शन भए पनि विचार उच्च भए/नभएको मूल्याङ्कन भने 'अरू'लाई नै गर्न दिन रूचाउँछन् ।