मूल कमाइ साथीभाइ
राजेन्द्र बराल
महासचिव
नेपाल शैक्षिक परामर्श सङ्घ
स्तरीय तथा जीवनोपयोगी शिक्षाको खोजी गर्दै वर्षेनि नेपालबाट हजारौं विद्यार्थी विदेशिने गर्छन् । सुनौलो भविष्यको सपना बोकेर बाहिरिने विद्यार्थीलाई सही सूचना र जानकारी दिलाउने काम गर्छन् शैक्षिक परामर्श सङ्घ (ई-क्यान)का महासचिव राजेन्द्र बराल । नेपालबाट प्रत्येक वर्ष१० देखि १५ हजार विद्यार्थी अध्ययनका लागि विदेशिने गर्छन् । यिनै विद्यार्थीको सहयोगी भएर शैक्षिक परामर्शलाई व्यावसायिक पहिचान दिने कामको अगुवाइ गरेका छन् उनले । 'विदेशमा शिक्षा दिलाउन पहल गर्ने संस्थालाई मर्यादित बनाउन हामी पहल गरिरहेका छौं,' बराल भन्छन् ।
राजनीतिक अस्थिरताका कारण नेपाली विद्यार्थी विदेशिने क्रम बढिरहेका बेला उनले यसलाई व्यवसायका रूपमा अँगाले । २०६२ सालमा 'ब्रिलियण्ट एजुकेशन एण्ड करियर सर्भिसेज प्रालि' नामक संस्था स्थापना गर्दै बराल यस क्षेत्रमा प्रवेश गरेका हुन् । सङ्गठित शक्तिमा विश्वास गर्ने उनले तत्कालै ४०ओटा शैक्षिक परामर्श केन्द्रलाई समेटेर छाता सङ्गठनका रूपमा 'एब्रोड एजुकेशनल कन्सल्टेन्सी'को स्थापना गरे । र, यसको अध्यक्ष पनि आफै भए । समस्याको सामूहिक रूपमा समाधान खोज्न सङ्गठनमार्फत अघि बढेको उनी बताउँछन् । 'यसले हाम्रो मात्रै होइन, विदेशिने विद्यार्थीको समेत आँखा खोल्यो,' बराल भन्छन् । यही क्षेत्रमा काम गरिरहेकाहरूको अर्को संस्था पनि थियो । उनकै पहलमा दुवैलाई मिलाएर नेपाल शैक्षिक परामर्शर् सङ्घ गठन भयो । यसको उनी दोस्रो कार्यकालका लागि महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् । विद्यार्थीलाई शैक्षिक जानकारी दिन उनको संस्थाले प्रत्येक वर्षशैक्षिक मेला गर्ने गरेको छ । यो मेलाले विदेशमा अध्ययन गर्न जाने लाखौं विद्यार्थीलाई सचेतना प्रदान गर्ने उनको दाबी छ । आगामी भदौमा पाँचौं शैक्षिक मेला हुँदै छ, त्यसको तयारीमा जुटिरहेका छन् बराल ।
समयानुकूल शिक्षानीति नहुँदा नेपाली विद्यार्थी बाहिरिने क्रम बढेको उनको ठम्याइ छ । 'शिक्षाप्रणाली जबसम्म सैद्धान्तिक र वैज्ञानिक हुँदैन, विद्यार्थी विदेश जान छोड्दैनन्,' बराल भन्छन् । विद्यार्थी बाहिरिँदा ठूलो धनराशि विदेशिएको भन्ने तर्कसँग उनी सहमत छैनन् । प्रतिवर्ष२ अर्ब रकम बाहिरिने र सोहीबराबर रकम स्वदेश भित्रिने गरेको बराल बताउँछन् । 'अध्ययन मात्र गर्ने, कमाइ गर्दै अध्ययन गर्ने र अध्ययनलाई माध्यम बनाएर कमाइ मात्रै गर्न जाने तीन किसिमका विद्यार्थी छन्,' उनले भने, 'त्यसैले विद्यार्थी विदेशिँदा रुपैयाँ बाहिरिन्छ मात्रै भन्नु गलत हो ।'
चार महीनादेखि क्यास्पियन भ्याली कलेजको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिरहेका छन् उनले । यो आफ्ना लागि नौलो अनुभव भएको बताउँछन् बराल । क्यास्पियनलाई ब्राण्डका रूपमा स्थापित गर्ने उनको अठोट छ । बिहान कलेज, कन्सल्टेन्सी र बाँकी समयई-क्यानलाई दिइरहेका छन् ।
बाल्यकालमा समाजसेवा गर्ने सपना हुर्काएका बराल युवा अवस्थामा राजनीतिक आन्दोलनमा होमिए । धादिङको किराञ्चोक प्राविबाट प्रारम्भिक शिक्षा लिएका उनले एसएलसी आदर्श मावि गजुरीबाट गरे । क्याम्पसबाट राजनीति शुरू गरेका बरालले राजनीतिशास्त्रमै स्नातकोत्तर गरेका छन् । शैक्षिक, पर्यटन सेवा र राजनीति हुँदै हाल पुन: शैक्षिक आन्दोलनमा नै संलग्न छन् बराल । ३९ वर्षीय बराल आगामी ५ वर्षमात्रै यस क्षेत्रमा काम गर्ने बताउँछन् । '५ वर्षपछि म जन्मथलो धादिङमै कृषि व्यवसायीका रूपमा देखिनेछु,' उनी भन्छन् । ५५ वर्षपछि आफूले कमाएको २५ प्रतिशत रकम समाजसेवामा लगाउने सोच बनाएका छन् बरालले ।
इमानदारी र लगनशीलतालाई सफलताको सूत्र ठान्ने उनी साथीभाइ कमाउनुलाई नै जीवनको ठूलो उपलब्धि ठान्छन् । काम, कर्तव्य, अधिकार, सेवाशर्त, सुविधा, अनुगमन, मूल्याङ्कन र प्रोत्साहनले मात्रै व्यवस्थापन सफल हुने मान्यता राख्छन् । कुनै पनि काम गर्दा योजना बनाएर गर्छन् । अध्ययन गर्दा जुनसुकै विषयमा गहिरिएर गर्नुपर्ने उनको बुझाइ छ । फुसदमा दुर्गम बस्तीहरूको भ्रमण गर्ने योजना बनाएका छन् बरालले । पैसाका लागि मरिहत्ते गर्ने स्वभाव भएका मान्छेसँग व्यवहार गर्न नहुने उनको बुझाइ छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले विशेष ध्यान दिन सके मुलुक आर्थिक रूपमा समृद्ध हुने मान्यता राख्छन् ।
शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउने बराल भन्छन्, 'सरकारी, सामुदायिक र निजीक्षेत्रको शिक्षा विकासका लागि शैक्षिक नीतिमा एकरूपता हुनुपर्छ ।' राजनीतिक नेतृत्वको दम्भ, अहम् र घमण्डले मुलुकको अवस्था बिग्रिँदै गएको बरालको मूल्याङ्कन छ । 'भिजन'विनाको नेतृत्व हुनु नै मुलुकका लागि दुर्भाग्य हो,' उनी भन्छन् । नेपाललाई अन्तरराष्ट्रिय शैक्षिक केन्द्र बनाउन सकिने योजना आफूसँग भएको बराल बताउँछन् ।
Admin 2011-07-22