बैङ्किङमा ३५ वर्ष
रामशरण न्यौपाने
प्रबन्ध सञ्चालक
दियालो विकास बैङ्क, बनेपा
राष्ट्रिय वाणिज्य बैङ्कको सेवामा २९ वर्ष बिताएपछि पनि उनलाई घर त्यसै बस्न मन लागेन । बरु त्यो अनुभवलाई यही क्षेत्रमा उपयोग गर्ने सोच बनाए, रामशरण न्यौपानेले । त्यसैको परिणाम हो- दियालो विकास बैङ्क । उमेरले ६ दशकनजिकै पुगे पनि जोशजाँगरका साथ बैङ्कको नेतृत्व गरिरहेका छन् उनले । बरु आफूलाई भेट्ने जो कोहीलाई 'यो आराम गर्ने समय होइन, केही न केही गर्नुपर्छ' भनेर प्रेरणा र हौसला दिन्छन् ।२०३३ सालमा वाणिज्य बैङ्कको अधिकृतमा सेवाप्रवेश गरेका न्यौपाने मुख्य अधिकृत भएर २०६२ सालमा त्यहाँ बिदा भए । विभिन्न शाखा प्रमुख हुँदै केन्द्रीय कार्यालयमा विभिन्न विभागको नेतृत्वको अनुभव सँगालेका छन् उनले । बैङ्किङ क्षेत्रमै लाग्ने सङ्कल्प गर्दै सरकारी सेवाबाट राजीनामा दिए । 'सरकारी बैङ्कको जागीरले सामान्य जिन्दगी बाँच्ने कला मात्र सिकायो,' न्यौपाने भन्छन् । वाणिज्य बैङ्कमा रहँदा थुप्रै अवसर प्राप्त भए पनि त्यसलाई उपयोग गर्न सकेनन् । प्राप्त अवसरलाई सदुपयोग गर्न नसकेपछि वाणिज्य बैङ्कले पुन:संरचनाअन्तर्गत ल्याएको 'स्वैच्छिक अवकाश योजना'अन्तर्गत राजीनामा दिए उनले । वित्तीय संस्था खोल्ने लहर चलिरहेका बेला विभिन्न क्षेत्रमा सम्बद्ध ३२ व्यक्तिलाई समेटेर दियालो विकास बैङ्क स्थापना गरे । प्रबन्ध सञ्चालकको जिम्मेवारी बोकेर बैङ्क व्यवस्थापन गरिरहेका छन् अहिले उनी ।
सञ्चारमाध्यममा आउन नचाहने उनी काममा लगनशील र इमानदार हुनुपर्ने मान्यता राख्छन् । 'इमानदारीपूर्ण कामले मात्रै व्यक्तिको जीवन माथि उठ्न सक्छ,' न्यौपाने भन्छन् । शुरूमा चार्टर्ड एकाउण्टेण्ट बन्ने सपना बोकेका थिए । राजधानीको वसन्तपुरमा जन्मे हुर्केका न्यौपानेले जुद्धोदय पब्लिक हाइस्कुलबाट एसएलसी गरेपछि त्रिचन्द्र क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरे । स्नातकोत्तर गरेका उनले केही समय नेपाल राष्ट्र बैङ्कको सहायक पदमा जागीर पनि खाए । लगनशीलता, अनुशासन र इमानदारीलाई व्यवस्थापन दर्शन ठान्ने उनी कर्मचारीमा संस्थाप्रति अपनत्वबोध हुनुपर्ने मान्यता राख्छन् । 'संस्थासँग हाम्रो भविष्य जोडिएको हुन्छ,' कर्मचारीलाई उनले भन्ने गरेका छन् ।
१० करोड चुक्ता पूँजी रहेको दियालो राजधानीको भीडभन्दा पर अर्थात् बनेपामा रहेको छ । क्षेत्रीयस्तरमा रहने गरी दियालो विकास बैङ्क स्थापना भएको उनी बताउँछन् । २०६४ सालबाट वित्तीय बजारको प्रतिस्पर्धामा समाहित भएको दियालोले काभ्रेका छिमेकी जिल्ला सिन्धुपाल्चोक र दोलखा सदरमुकामबाट पनि सेवा उपलब्ध गराइरहेको छ । साना निक्षेपकर्तालाई अधिकतम समेट्ने प्रयास गर्दै दियालोले साना उद्योगी व्यवसायीलाई ऋण सहयोग गर्ने र उनीहरूको आर्थिक तथा सामाजिकस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ । ४० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको दियालोले ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । आव २०६७/०६८ मा रू. २ करोड सञ्चालन मुनाफा गरेको बताउछन् न्यौपाले । ५ हजार सेवाग्राहीमाझ पुगेको दियालोमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विकास बैङ्कले तरलता सङ्कलनको मार खेपिरहेका बेला उनको संस्था त्यसबाट परै छ । 'खराब कर्जा एक पैसा छैन,' न्यौपाने भन्छन् । केही संस्थाले बैङ्किङ व्यवसायलाई हल्का रूपमा लिँदा तरलता अभाव भएको उनको बुझाइ छ । 'छिटो नाफा कमाउन आक्रामक बन्ने केही संस्था छन्,' उनी भन्छन्, 'जसले वित्तीय क्षेत्र असहज बन्यो ।'
संस्थाका कर्मचारीको समस्या ख्याल गर्ने बानी छ उनको । त्यसैले महीनाको एकपटक सबै शाखाका कर्मचारीसँग छलफल गर्छन् । कर्मचारीको इच्छा, भावना र तलबभत्ताबारे अत्यन्तै ख्याल गर्छु,भन्छन् । 'फुटबलको टीमजस्तै हो, बैङ्कको टीम पनि,' उनी भन्छन्, टीममा सबैको उत्तिकै योगदान हुन्छ । 'ईश्वरप्रति उनको अगाध आस्था छ । फुसदमा बजारमा आएका नयाँ पुस्तक पढ्न रुचाउने उनी पत्रपत्रिका पनि उत्तिकै अध्ययन गर्छन् ।राजनीतिमा इगो धेरै भएको उनको बुझाइ छ । 'व्यवस्थापन कला नभएको मान्छेले देशको नेतृत्व गर्दा यस्तो समस्या आएको हो,' उनी भन्छन् । बिहान ४ बजे नै उठ्छन्, सामान्य योग गर्छन् र तयार भएर कार्यालयतर्फलाग्छन् । कार्यालय टाढा भएकाले बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने उनी बताउँछन् । बैङ्किङ क्षेत्रमा अझै ४ वर्षयही गतिमा काम गर्ने उनको विचार छ । 'त्यसपछि पछाडि रहेर मात्र काम गर्छु, उनी भन्छन् ।
Admin 2011-08-24