शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रगति अनुशासनबाट'' - सनन्दन सिंह
प्रमुख कार्यकारी अधिकृत
वेल्थ एक्सचेञ्ज नेपाल

मुलुकको कमोडिटी बजारमा भर्खरै स्थापना भएको पहिलो स्पट एक्सचेञ्ज तथा अन्तरराष्ट्रियस्तरमा उत्कृष्ट प्रमाणित 'मेटा ट्रेडर फोर सफ्टवेयर'मार्फ 'अनलाइन' सेवा प्रदान गर्ने वेल्थ एक्सचेञ्ज नेपालका प्रमुख कार्यकारी अधिकृत सनन्दन सिंह देशको अर्थतन्त्रलाई उकास्न राजस्व र रोजगारीका अवसर बढाउन लागिपरेका छन् । सँगसँगै वेल्थ एक्सचेञ्जको प्रवर्द्धन पनि गरिरहेका छन् । कुनै काम सानो वा ठूलो हुँदैन र जुनसुकै काम अनुशासित भएर गर्नुपर्नेमा उनको जोड छ । अनुशासनमा रहेर गरेको कामले सफलता प्राप्त हुनेमा उनी विश्वस्त छन् । अनुशासन नै उनको व्यवस्थापन मन्त्र हो । र, त्यसैलाई उनी प्रगतिको पर्याय पनि मान्छन् । बैङ्किङ सेवाको सिलसिलामा धेरैपटक विदेश भ्रमण गरेका उनले धेरै विदेशीसँगै काम गर्ने मौका पाएका थिए । विदेश जाँदा र विदेशीसँग काम गर्दा उनीहरूको अनुशासन पालनाको परम्परा देखेर आफू प्रभावित भएको बताउने उनले त्यसैलाई सफलताको द्योतक मानेका छन् ।

सिंहले सन् १९८४ मा नबिल बैङ्कबाट बैङ्किङ 'करीअर' शुरू गरेका हुन् । सानो तहदेखि सेवा प्रवेश गरेका उनले नबिलमा शाखा प्रबन्धकसम्म भएर १८ वर्ष बिताए । वृत्ति विकासको खोजीमा रहेका उनले लुम्बिनी बैङ्कमा महाप्रबन्धकको आकर्षक पदलाई नकार्न सकेनन् । नबिल छाडेर लुम्बिनी पुगेका उनले त्यहाँ ४ वर्षसेवा गरे । विकेन्द्रीकृत कार्यप्रणलीमा विश्वास गर्ने उनी तहअनुसार कामको बाडफाँट गर्नुपर्ने विचार व्यक्त गर्छन् । माथिल्लो तहको व्यक्ति सानोतिनो काममा अल्झिन नहुने उनको बुझाइ छ । माथिल्लो तहका व्यवस्थापकले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्नुपर्ने उनको मान्यता छ ।
 
बैङ्कर्स एशोसिएशनका सदस्यसमेत रहेका सिंह आफूले गरेको कामबाट आनन्दित र सन्तुष्ट हुनुपर्ने विचार व्यक्त गर्छन् । काम रमाइलो गर्न नसक्दा प्रतिफल राम्रो नहुने उनलाई लाग्छ । विद्यालयजीवनदेखि नै चेस, फुटबललगायत खेलमा रूचि भएका उनी उमेरसँगै शौख पनि बदलिँदै जाने अनुभव सुनाउँछन् ।  'लङ ड्राइभ'मा जाँदा उनलाई अत्यन्त आनन्द आउँछ । शरीरलाई चुस्त राख्न हरेक बिहान योग गर्ने उनको बानी छ ।

स्पष्टवक्ता उनी आफूलाई लागेको कुरा भनेरै छाड्छन् र अरूका अभिव्यक्ति मजाले सुन्छन् । मातहतका कर्मचारीसँग उनी खुलेर संवाद गर्छन् । उनीहरू मौन रहँदा सिंहलाई चिन्ता लाग्छ- कहीँ आफूले उनीहरूको भावनामा ठेस पुर्याएँ कि भनेर ।

सिंहको कम्पनीले कमोडिटी बजारसम्बन्धी १ सय जनालाई नि:शुल्क 'ओरिएण्टेशन' कक्षा सञ्चालन गरेको छ । सिंह भिस्कोस् नेपाल नामक संस्थामा आबद्ध छन् । उक्त संस्थाले देशका विभिन्न गाउँका  ५५ ओटा विद्यालयका ७ देखि १० कक्षासम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । सिंहले नेतृत्व गरेको कम्पनीले सुन र चाँदीको कारोबारमा विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएको छ भने विश्वबजारमा भइरहेको सुनचाँदीको कारोबारसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नेछ ।