''निजीक्षेत्रको भूमिकाका अभियन्ता'' - सुकुन्तलाल हीराचन
प्रबन्ध निर्देशक, यूनाइटेड बिर्ल्र्डस एण्ड इञ्जिनियर्स
हिमालपारिको जिल्ला मुस्ताङको विकट गाउँ मार्फाको माटोमा हुर्केका उनी नेपालको अग्रणी निर्माणव्यवसायी एवम् उद्यमीका रूपमा स्थापित भएका छन् । त्रिपन्न वर्षघि मध्यमवर्गीय थकाली परिवारमा जन्मेका उनी जीवनमा कहिल्यै कल्पना नगरेको अवस्थामा पुगेका छन्- मुलुकको एक सफल व्यवसायीका रूपमा । पर्यटकीय नगर पोखरा आइपुग्न पाँच दिन पैदल उकालीओराली गर्नुपरेको अनुभव उनको मानसपटलमा अहिले पनि ताजा छ । बाल्यकालदेखि नै मेहनती उनी विद्यालयमा प्रतिभावान् विद्यार्थीमा गनिन्थे । पढाइप्रति समर्पित उनले दाजु पूर्ण लाल हीराचनसँगै २०३३ मा पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङमा डिप्लोमा गरेका हुन् । तत्कालीन नगर पञ्चायत र नगर विकास समितिमा जागीरे जीवन थालेका उनलाई केही वर्षपछि आफूले सिकेको शीप उपयोग गर्ने चेतना भयो । एक लाख रुपैयाँभन्दा कम पूँजीमा अग्रज पूर्णलालसँग मिलेर २०३८ मा स्थापना गरेको यूनाइटेड बिर्ल्र्डस एण्ड इञ्जिनियर्स नामक उनको कम्पनीले वर्षेनि रु. एक अर्बभन्दा बढीको कारोबार गर्छ । यूनाइटेड बिर्ल्र्डस एण्ड इञ्जिनियर्सका प्रबन्ध निर्देशक सुकुन्तलाल हीराचन सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको काँचुली फेर्न सकिने दृष्टिकोण प्रस्तुत गर्छन् ।
'देशसँग पैसा पनि हुनुपर्दैन, ऋण पनि ल्याउनुपर्दैन' सरकारले उपयुक्त नीति बनाएर राष्ट्रनिर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिंदै हीराचन भन्छन् । उनीसँग विकासका योजना पनि छन् । जलविद्युत् र पर्यटन प्रवर्द्धन गर्न सकेमात्र पनि आर्थिक विकास हुन सक्ने उनलाई लाग्छ । स्वास्थ्य तथा शैक्षिक पर्यटन विकासतर्फलाग्न पर्यटन व्यवसायीलाई उनको सुझाव छ । बार्है महीना उपयुक्त मौसम भएको हाम्रो मुलुकलाई र्स्वर्गको संज्ञा दिन रुचाउने उनी अन्तरराष्ट्रिय सभासम्मेलन नेपालमा आयोजनाका लागि बजार बढाउनुपर्ने बताउँछन् । कृषिक्षेत्रलाई उपेक्षा गरिएको ठान्ने उनलाई दूध उत्पादन र यार्सागुम्बालगायत जडीबुटीबाट 'सुन फलाउन' सकिन्छ भन्ने लाग्छ । 'पब्लिक प्राइभेट पार्टनरशिपमा देशको कायापलट गर्न सकिन्छ' सरकार र निजी क्षेत्रबीच सहकार्य हुन नसकेको तर्फघुमाउरो पाराले उनी सङ्केत गर्छन् । बोली र व्यवहार नमिल्दा देश आर्थिक रूपमा दुर्बल भएको उनको ठम्याइ छ ।
यूनाइटेड मोदी हाइड्रोपावर, यूनाइटेड सानीभेरी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोपावर, यूनाइटेड हाउस अफ अण्टप्रेनर्सका प्रबन्ध निर्देशक तथा प्राइम कमर्शियल बैङ्क र डेभलपमेण्ट क्रेडिट बैङ्कका प्रवर्द्धकसमेत रहेका हीराचन एकीकृत नेकपा (माओवादी) का लडाकालाई पनि रोजगारी दिन सकिने बताउँछन्- कहिल्यै बन्द, हडताल नगर्ने पूवशर्तमा । हरेक क्षेत्रमा मुलुक तहसनहस भएकोमा गम्भीर चिन्ता र चासो व्यक्त गर्ने उनी बढ्दो पूँजीपलायन एवम् दक्ष जनशक्तिको अभावलाई आर्थिक उन्नयनको बाधक मान्छन् ।
उनी सम्बद्ध कम्पनीहरूले चार हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । राजनीतिक अस्थिरता, नेतृत्ववर्गमा दूरदृष्टि र योजनाको कमी, व्यक्तिगत स्वार्थ र लोभलालच विकासको बाटोमा तगारो बनेका उनको अभिमत छ । 'विकासका पूर्वाधार बनाउन सकिन्छ, सबै मिलेर जानुपर्छ' वाग्मती, विष्णुमती र धोबीखोला किनारमा सडक विस्तारको कार्य होस्, विमानस्थल वा राजमार्ग निर्माणको काम होस् निजी क्षेत्रलाई शरीक गराएर अघि नबढेसम्म राष्ट्रनिर्माणको लक्ष्य प्राप्ति नहुने उनी बारम्बार दोहोर्याउँछन् ।
विगत तीन वर्षदेखि निर्माण व्यवसाय मन्दीको चपेटामा परेको उल्लेख गर्दै हीराचन श्रमिकको ज्याला शतप्रतिशत बढेको, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी भाडा अकाशिएको र गिट्टीबालुवाको मूल्यमा पनि बढोत्तरी अत्यधिक भएकाले काम गर्न असहज परिस्थिति सिर्जना भएको दुखेसो पोख्छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं सकारात्मक सोच हुने मानिसका लागि चरम निराशाका बीचमा पनि सफलताको आशा ज्यूँदै हुन्छ- त्यसैले उनी देशमा विकासका असीमित सम्भावना देख्छन् । पशुतिनाथ, जानकी मन्दिरबाट नभई मुक्तिनाथ, गोर्साईंकुण्ड, गलेश्वरधाम, दामोदरकुण्डसम्म बाटो बनाएर धार्मिक पर्यटक मनग्गे ल्याउन सकिनेतर्फध्यान नदिएको उनको गुनासो छ । रणनीतिक अवस्थितिका कारण ती क्षेत्रको महत्व अतुलनीय भएको उनी बताउँछन् ।
'ईमानदारीपूर्वक काम गर, मेहनत गर्न अल्छी नगर, रोगाक्रान्त मुलुकलाई युवा वर्गले नै मुक्त गर्ने हो' 'सेल्फमेड' हीराचनको सल्लाह छ । परिश्रमलाई नै प्रगतिको सोपान मान्ने उनी सादा जीवन उच्च विचारमा विश्वास गर्छन् । नेपालमा पनि विस्तारै व्यावसायिक संस्कार विकास भएको विचार व्यक्त गर्ने उनले ग्रामीण भेगमा स्वास्थ्य चौकी बनाउनेलगायत सामाजिक सेवाका क्षेत्रमा सक्दो सहयोगसमेत गर्दै आएका छन् ।