शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पसिनाको चमक'' - आत्माराम मुरारका
अध्यक्ष, मुरारका अर्गनाइजेशन
पूरा आकरमा हेर्नुहोस्'जलस्रोतको उचित उपयोगबाट भुटानले हासिल गरेको आर्थिक प्रगति हाम्रा लागि दृष्टान्त बन्न सक्छ' बिजुलीको विकासबाट नै राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउने उपाय सुझाउँदै उनी भन्छन् । मुलुकको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान मुरारका अर्गनाइजेशनका अध्यक्ष आत्माराम मुरारका अपार जलसम्पदाको सदुपयोगलाई नै देश विकासको वाहक ठान्छन् । जलस्रोत र पर्यटनको विकासबाट आर्थिक क्षेत्रमा गतिलो फड्को मार्न सकिने उनको बुझाइ छ ।  स्वीट्जरल्याण्डभन्दा नेपाल कैयौं गुणा सुन्दर मुलुक भएकाले आवश्यक पूर्वाधारको विकास गर्न सके आर्थिक गतिविधि बढाउन खासै समस्या नपर्ने उनलाई लाग्छ । 'एक ठाउँमा केबलकार निर्माण हुँदा बढेको धार्मिक तथा आन्तरिक पर्यटनलाई पाँच दोब्बर गर्न सकिन्छ पर्यटकीय सम्भावना बोकेका केही स्थानमा त्यस्तै केबलकार सञ्चालन गर्न सके' पोखराजस्ता देशका कैयौं पर्यटकीय स्थल विकास गर्न सकिने र पहाडी क्षेत्रमा केबलकारले आर्थिक गतिविधि बढाउन सकिने उनको विश्वास छ ।

भारतलाई बिजुली बेचेर आर्थिक क्रान्तिको श्रीगणेश गर्न सकिनेमा विश्वस्त मुरारका कसैलाई पनि चिढयाउने कार्य गर्नुलाई लघुमानसिकताको उपज मान्छन् । नेतृत्व वर्गले कूटनीतिक एवम् राजनीतिक तहबाट विद्युत् विकासका बृहत् परियोजना निर्माणका लागि भारत र चीनसँग विचारविमर्श गर्नुपर्ने उनको सुझाव छ । छिमेकीहरूबाट लिन सक्ने फाइदा समयमा नै उठाउनुपर्नेमा जोड दिने उनी भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्छन् । 'तयार बजारमा पुग्न विलम्ब नगरौं' भारतलाई बिजुलीको ठूलो खाँचो परेको र यसबाट मनग्गे आम्दानी गर्न सकिने बताउँदै उनी भन्छन् । ओरालो लागेको अर्थव्यवस्थालाई उकास्न बेला घर्किँदै गएको बताउने उनी राजनीतिक दलहरूलाई गम्भीर भएर अघि बढ्न अनुरोध गर्छन् । लगानीको वातावरण नबनेकोमा खिन्न उनी सुरक्षाको प्रत्याभूति हुनेबित्तिकै आफूहरूबाट नै पर्याप्त लगानी हुने र त्यसैअनुरूप विदेशी लगानी पनि ल्याउन सक्ने उनको दाबी छ । १८ घण्टाको लोडसेडिङ, श्रमिक एवम् प्रशासनिक झमेला निरूपण हुनुपर्ने उनको माग छ । 'दुइ थोपा पसिना देशमा खन्याऔं र गरीबीका कारण मलीन भएका ग्रामीण भेकका नेपालीको अनुहारमा चमक भरौं' भन्ने भावनाका साथ सबै नेपालीले आ-आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने उनको तर्क छ ।

अर्थतन्त्रको उन्नयनका लागि शान्ति सुव्यवस्था प्राणवायुजत्तिकै महत्त्वपूर्ण भएको वास्तविकतालाई नेतागणले नबुझिदिँदा मुरारकालाई नराम्रो लाग्छ । दलीय स्वार्थबाट राष्ट्रिय अर्थतन्त्र निर्देशित हुन नहुने उनको अभिमत छ । जलस्रोत र पर्यटनमात्र होइन, कृषि, पशुपालन, फल र फूलखेतीबाट पनि मनग्गे आम्दानी गर्न सकिने उनको बुझाइ छ । परम्परागत कृषिपद्धतिबाट बाहिरिएर नवीनतम प्रविधिको प्रयोग कृषिकर्मको अहिलेको आवश्यकता भएको उनको ठम्याइ छ । मलखाद, बीउबिजन, सिँचाइजस्ता आधारभूत सुविधा राज्यस्तरबाट हुनुपर्ने उनी बताउँछन् । जुम्ला, जोमसोम र हुम्लाको स्याउले बजार नपाउनु तर चिनियाँ स्याउ सर्वसुलभ हुनु उनलाई विडम्बनापूर्ण लाग्छ । मौलिक नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपतको वातावरण बनाउने दायित्व सरकारको भएको उनलाई लाग्छ । स्ट्रबेरी, सुन्तला र नासपातीबाट पनि करोडौं कमाउन सकिन्छ भन्ने उनी राज्यले ती क्षेत्रलाई उपेक्षा गर्नुलाई उनी संवेदनहीनताको संज्ञा दिन्छन् । चिया, कफी, उखु र सुर्तीजस्ता नगदेबालीको व्यावसायिक खेती अर्थोपार्जनको महत्त्वपूर्ण स्रोत भएको उनी उल्लेख गर्छन् ।

आर्थिक क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त पार्न दलका नेताहरूलाई अनुरोध गर्दागर्दा थाकेको उल्लेख गर्ने मुरारका चाँडो शान्ति सुव्यवस्था बहाली हुनेमा आशावादी छन् । सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने उनको बानी छ । सकेसम्म उनी कसैको आँखाको कसिङ्गर बन्न चाहँदैनन् । मृदुभाषी उनी मातहतका कर्मचारीलाई प्रेमपूर्वक आफ्नो उत्तरदायित्व वहन गर्न आग्रह गर्छन् । २०४० सालमा स्थापना भएको उनको कम्पनीले १ हजारलाई रोजगारी दिएको छ । कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न उनी हौस्याइरहन्छन् । काममा राजनीति गर्न नहुने मान्यता राख्ने उनी सबै समस्याको समाधान संवादबाट गर्न सकिनेमा विश्वस्त छन् । श्रमिकका समस्या बुझ्नुपर्छ भन्ने उनलाई  काम ठग्नु भनेको आफैलाई ठग्नु हो भन्ने लाग्छ । इमानदार, सत्यवादी र विश्वासिलो मान्छेसँग उनलाई काम गर्न प्रीतिकर लाग्छ । 'व्यापारमा बेइमान गर्नेहरू डुब्छन्' इमानजमान नभएका र अनियमितता गर्नेहरू प्रगतिपथका तगारा भएको उनको मान्यता छ ।

सन् १९९८ मा सिरहाको लहानमा जन्मेका मुरारका आफूलाई 'सानो ठाउँबाट उठेको मान्छे' को रूपमा प्रस्तुत गर्छन् । कामप्रतिको निष्ठा र समर्पणका कारण अहिलेको अवस्थामा आइपुगेको बताउने उनमा आर्थिक एवम् व्यक्तिगत वैभवको लेसमात्र अभिमान झल्कँदैन ।  सन् १९६५ मा जापान गएका उनले त्यहाँ केही समय रहँदा व्यापार तथा बजार प्रवर्द्धनबारे सिक्न पाउनु उनको व्यावसायिक जीवनका निम्ति एउटा उल्लेखनीय उपलब्धि हो ।

भारतबाट बीएबीएल गरेका मुरारकालाई अहिलेको पुस्ता सुशिक्षित संस्कारयुक्त भएको लाग्छ । चार सन्तानका पिता उनी अनवरत रूपमा काममा लाग्न युवा पुस्तालाई सुझाव दिन्छन् । कर्ममा मात्र विश्वास गर्ने उनी ईश्वरलाई दैवीशक्ति मान्छन् । संस्थागत कार्य संस्कृति नेपालमा भर्खरै वामे सर्न थालेको उनको विश्लेषण छ । दानधर्मका कुरालाई प्रचारयोग्य नठान्ने उनले लहानमा जेएस मुरारका क्याम्पस र रामकुमार उमाप्रसाद मुरारका अस्पताल स्थापना गरेर संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् ।