इमानदारी र पारदर्शिता
डा. गुप्तबहादुर श्रेष्ठ
कार्यकारी निर्देशक
हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल
आर्थिक अभावले अहिले पनि धेरै नेपाली रोग पालेर बाँच्न बाध्य छन् । उपचार त परै जाओस् उनीहरूले अस्पताल र चिकित्सकलाई देख्नसमेत पाउँदैनन् । यस्तै अभावमा बाँचिरहेका दीनदु:खीहरूलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल स्थापना गरेको बताउँछन्- डा. गुप्तबहादुर श्रेष्ठ । 'हेल्पिङ ह्याण्ड्स अर्थात् सहयोगी हातहरू' नामक संस्था स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् उनले ।
'प्रवर्द्धनमुखी सेवा प्रदान गर्ने उद्देश्य छ उनको । त्यसैले अस्पतालमा स्वास्थ्य जाँच ६० रुपैयाँमै गरिन्छ । जुन अहिलेको अवस्थामा निकै सुलभ 'कसैले पैसा छैन भने पनि म नि:शुल्क उपचार गरिदिन्छु', उनी भन्छन् । अहिलेसम्म त्यस्ता सयौं दीनदु:खीको उनले नि:शुल्क उपचार पनि गरिदिएका छन् । त्यसैले उनको अस्पतालमा झुत्रा-झाम्रा लुगा लगाएका, राम्ररी अक्षर नचिन्ने, चिकित्सकसँग बोल्न डराउने र आफ्नो रोग भन्न हिचकिचाउने ग्रामीण समुदायका मानिसको भीड देखिन्छ । इमानदारी र पारदर्शीतालाई आफ्नो व्यवस्थापन मन्त्र ठान्ने श्रेष्ठ समन्वय गरेर मात्रै काम गर्छन् । मेहनती छन्, त्यसैको परिणाम मान्नुपर्छ १० लाख लगानीबाट शुरू गरेको उनको अस्पतालले अहिले १० करोडको पूर्वाधार खडा गरिसकेको छ । 'यो निरन्तर मेहनतको परिणाम हो,' उनी भन्छन् ।
सङ्खुवासभाको वानामा २०१७ सालमा जन्मिएका श्रेष्ठ गाउँमै पढे । सानैदेखि पढाइमा अब्बल उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिष्टेण्टको अध्ययन पूरा गरे । उनी चिकित्साशास्त्र नै अध्ययन गर्न चाहन्थे । केही समय हेल्थ असिष्टेण्टको जागीर गरेर उनी त्रिवि शिक्षण अस्पतालमै चिकित्साशास्त्र अध्ययन गर्नथाले । सो पढाइ पूरा गरेर उनले केही समयमै क्लिनिक स्थापना गरे । त्यसलाई प्रवर्द्धन गर्दै आजको अवस्थासम्म आइपुगेको बताउँछन् उनी । प्रतिदिन उनको अस्पतालमा ३ देखि ४ सय बिरामीले स्वास्थ्य परीक्षण गराउँछन् । ३ सयभन्दा बढीलाई रोजगारी दिएका छन् उनले । राज्यलाई वार्षिक २५ लाख कर बुझाउँछन् ।
फुसदमा रेडियो सुन्न मन पराउने उनी राजनीति कुरा गर्न पनि खुबै रुचि राख्छन् । भगवान्प्रति उनको रत्तिभर विश्वास छैन । 'बरु असहायलाई सहयोग गरे आत्म शान्त हुन्छ भन्ने लाग्छ,' उनी भन्छन् । समाज सेवाप्रति निकै लगाव छ । त्यसैले राजधानीको इन्द्रेणीमा अन्तरराष्ट्रियस्तरको वृद्धाश्रम निर्माणमा जुटेका छन् । गरीब परिवारमा हुर्केका श्रेष्ठ अहिले प्रतिष्ठाको जिन्दगी बिताइरहेका छन् । भन्छन्, 'म साँच्चिकै यो अस्पताललाई गरीब दीनदु:खीका लागि सहयोगी बनाउँछु ।'
नेपालको स्वास्थ्य नीति गाउँ लक्षित हुनुपर्नेमा उनको जोड छ । गाउँका उपस्वास्थ्य चौकीलाई भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री सम्पन्न बनाउनुपर्ने उनी बताउँछन् । 'सरकार स्वास्थ्य चौकी बनाउन १ करोड खर्चन तयार हुन्छ तर ५० हजारको औषधि दिँदैन,' उनले विगतमा भोगेको तीतो यथार्थ कोटयाउँदै भने ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई सरकारले स्वास्थ्यकर्मी बनाउने वातावरण तयार गर्नुपर्ने उनको तर्क छ । 'गाउँकै मान्छेलाई चिकित्सक उत्पादन गर्ने काममा सरकारले पहल गरे उनीहरू आफ्नै ठाउँमा फर्किन्छन्,' उनको यस्तो विश्वास छ । उनी राजनीतिबाट निकै प्रताडित बनेका छन् । तर पनि राजनीतिप्रतिको मोह भने कायमै छ । सबैले साथ दिए हेल्पिङ ह्याण्डसलाई ३ सय शय्यामा विस्तार गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने उनको लक्ष्य छ । 'सबैबाट सहयोग पाएँ र समयले साथ दियो भने अभाव र असहायहरूको सेवाप्रदायक पहिलो अस्पताल बनाउनेछु,' उनले भने । उनको कामबाट प्रभावित भएर बिरामी निको भएपछि उनलाई भेट्न आउँदा कोसेली लिएर आउँछन् । मुलुक आन्तरिक द्वन्द्वको चपेटामा परेका बेला पनि सङ्खुवासभा, सिन्धुली, सल्यान, दाङ र दैलेखका गाउँगाउँसम्म पुगेर उनले शिविर सञ्चालन गरेका थिए । गत हप्तामात्रै सिन्धुलीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर २ हजार बिरामीको सेवा गरेका छन् । शिविरमा आफूबाहेक अमेरिका, क्यानडालगायतका देशका चिकित्सकसमेत लगेका थिए । जेहोस्, ग्रामीण परिवेशमा गरिबीसँग जुधिरहेका विवश र निमुखा मानिसको जीवनदाता बनेका छन्- डा. श्रेष्ठ ।