शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''काममात्र प्राथमिकता'' - पशुपति मुरारका
निर्देशक, मुरारका अर्गनाइजेशन

आमसञ्चारका माध्यममा विरलै देखिने उद्यमीमा गनिन्छन्- मुरारका अर्गनाइजेशनका निर्देशक पशुपति मुरारका । प्रवेशिका परीक्षामा समाप्त भएपछि पूर्णकालीन रूपमा व्यापार व्यवसायमा पिता आत्मारामलाई साथ दिएका हुन् उनले । ४५ वर्षीय उनी आफ्ना जनकलाई नै रोलमोडेल मान्छन् । पिताकै प्रेरणाले वाणिज्यशास्त्रमा स्नातक गरेका हुन् उनले । व्यवसायमा खासै संघर्ष नगरे पनि उनले व्यवस्थापकीय कठिनाइ धेरै झेलेका छन् । अनुभव र असफलताबाट धेरै सिकिने उनको बुझाइ छ । इमानदारी, पारदर्शिता र सामूहिक कार्यप्रणाली उनको व्यवस्थापन मन्त्र हो । जोखिम मोलेर व्यवसाय गर्नेले केही मुनाफाको अपेक्षा गरे पनि गलत काम गर्न नहुने उनको अभिमत छ ।

बदलिँदो परिस्थितिअनुरूप औद्योगिक नीति परिमार्जन गर्नुपर्नेमा जोड दिने मुरारका उद्योगले धान्न नसक्ने चर्को ब्याजदर घटाउन बैङ्कहरूलाई सुझाव दिन्छन् । लोडशेडिङको मारमा परेका उद्योगधन्दाको उत्पादकत्व बढाउन राज्य संवेदनशील हुनुपर्ने उनी बताउँछन् । रुग्ण उद्योगको उत्थानका लागि सोच्ने बेला आएको उनी उल्लेख गर्छन् । परम्परागत कृषिकर्मले अर्थतन्त्रमा सुधार नहुने भएकाले वैज्ञानिक खेतीका लागि किसानलाई प्रोत्साहन दिनु अपरिहार्य भएको उनको बुझाइ छ । यान्त्रिक उपकरण, मलखाद, बीउबिजनमा सरकारी अनुदान आवश्यक देख्ने उनी कृषि विकासको मेरुदण्ड सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत स्थान कृषिक्षेत्रले ओगटेको वास्तविकतालाई बेवास्ता गरेर कृषिलाई हेयको दृष्टिले हेर्न नहुने उनको अभिमत छ । हरेक दिन खाडी मुलुकतिर लागिरहेको युवाशक्तिलाई रोक्न उद्योगको विकास तथा संरक्षणका साथै श्रमनीति परिमार्जनको टड्कारो आवश्यकता देख्छन् उनी ।

व्यावसायिक संस्कार र संस्कृतिको विषयमा बहस गर्दा एउटै व्यक्ति प्रबन्धक, महाप्रबन्धक, कार्यकारी अधिकृत, कम्पनीको मालिकलगायत विभिन्न पदमा आसीन हुने र परिणाम शून्य हुने अवस्था देशमा अद्यापि विद्यमान रहेको ठम्याइ मुरारकाको छ । कार्यपद्धतिको विकास सबै कम्पनीले गर्नुपर्छ भन्ने उनी सबै काम प्रक्रियागत रूपमा हुनु जरुरी भएको बताउँछन् । अधिकृतस्तर वा तल्लो तहको कर्मचारीबाट सम्पादन हुने कामका लागि सचिवसम्म पुर्याउन नहुने उनको मान्यता छ । त्यस्तो कार्यसंस्कार र संरचना स्थापित भएमा कार्यालयको व्यवस्थापनमा सहजता आउने उनलाई लाग्छ । सार्वजनिक प्रशासनमा सकारात्मक सोचको कमी महसूस गरेका उनले सानो कामका लागि पनि लामो समयसम्म अल्झिनुलाई मुलुकको विडम्बना मान्छन् । नियामक निकायका रूपमा मात्र नहेरी सहजकर्ताको भूमिका निर्वाह गर्न सरकारी संयन्त्रमा संलग्नलाई उनको अनुरोध छ ।

नेपाल मिडिया सोसाइटीको संस्थापक सदस्य, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, नेपाल स्टील एण्ड रोलिङ मिल्स एशोसिएशन, नेपाल वनस्पति घ्यूतेल उत्पादक सङ्घका केन्द्रीय सदस्यसमेत रहेका मुरारका महासङ्घको भावी नेतृत्वका लागि एशोसिएट क्षेत्रबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । ८ वर्षसम्म महासङ्घको कार्यसमिति सदस्य भएर बैङ्क, वित्तीय, बीमा समितिको सभापति र भन्सार समितिको उपसभापति भएका उनी रङ, स्टील, सिमेण्टलगायत मुलुकका विविध उद्योगको प्रतिनिधित्व गर्छन् । श्रमिकका समस्या बुझेका उनको मातहतमा १ हजारभन्दा बढी कर्मचारी काम गर्छन् । कामलाई मात्र प्राथमिकता दिने उनी समयअनुसार नचल्नेले प्रगति गर्न सक्दैन भन्छन् । आफूलाई काममा नै केन्द्रित गर्न कर्मचारीलाई प्रेरित गर्छन् उनी । दक्षताअनुसारको जिम्मेवारी दिएर लक्षित परिणाम प्राप्तिलाई आफ्नो उद्देश्य बनाउन उनीहरूलाई हौस्याइरहन्छन् । समयको पालना नगर्नेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । एचपी अग्रवाल ग्रूपका निर्देशक मनीषकुमार अग्रवाल मृदुभाषी मुरारकाबाट प्रभावित छन् । उनको कार्य व्यवस्थापन शैलीलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्छन् मनीष । सबैसँग समान व्यवहार गर्ने र रत्तीभर अभिमान नगर्ने मुरारकाको बानी उनलाई अनुकरणीय लाग्छ ।

आफू बसेको समाजलाई उचाल्न, उजिल्याउन र उन्नत पार्न हुनेखानेले सक्दो सहयोग गर्नुपर्छ भन्छन् मुरारका । संस्थागत सामाजिक उत्तरदायित्वलाई नैतिक दायित्व मान्छन् उनी । हरेकले आफ्नो नागरिक कर्तव्य बिसन नहुने उनको धारणा छ । लहानस्थित जेएस मुरारका क्याम्पस र रामकुमार उमाप्रसाद मुरारका अस्पताल स्थापनाका साथै दर्जनौं सामाजिक एवम् धार्मिक सङ्घसंस्थामार्फत उनले धेरैलाई आवश्यकताअनुसारको सहयोग गरेका छन् ।

Admin 2011-03-22