शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''योजना रोजगारी सृजनाको'' - अशोककुमार वैद
प्रबन्ध निर्देशक
शालीमार ग्रूप

पैतीस वर्षअघि खुद्रा पसलबाट व्यापार थालेका हुन् उनले । परिश्रम गरेर कहिल्यै नथाक्ने उद्यमशील उनले पसल विस्तारसँगै व्यापार पनि बढाएका हुन् ।  भारतीय सिमेण्ट आयातका क्रममा उनले त्यससम्बन्धी प्रशस्त ज्ञान हासिल गरे- उद्योग स्थापनाका लागि । निर्माण सामग्री उत्पादनमा अग्रपङ्तिमा रहेको शालीमार ग्रूपका प्रबन्ध निर्देशक अशोककुमार वैदलाई मुलुकको आर्थिक विकासका निम्ति औद्योगिक क्रान्ति अपरिहार्य लाग्छ । त्यसका निम्ति सरकार र निजीक्षेत्रबीचको सहकार्यमा जोड दिन्छन् उनी । सधैं सकारात्मक सोचका साथ काम गर्दा सफलता हासिल हुने उनको बुझाइ छ । धेरैभन्दा धेरै कलकारखानाको स्थापना र  रोजगारीका अवसरको सृजना उनको लक्ष्य हो ।  शालीमार ग्रूपअन्तर्गत सिमेण्ट, रङ, फलामे डण्डीलगायत  सातओटा उद्योग सञ्चालनमा छन् जहाँ ८ सयभन्दा बढीले रोजगारी पाएका छन् ।

सिमेण्टको व्यापार गरेको ३० वर्षको वैदको अनुभव शालीमार सिमेण्टको उत्पादनमा अति उपयोगी साबित भएको छ । राजविराजका रैथाने उनले भारतको विहार र राजस्थानबाट विद्यालय र उच्च शिक्षा हासिल गरेका हुन् । आफ्ना मातापितालाई नै गुरु र आफ्नो आदर्श व्यक्ति मान्छन् उनी । पिताले गरेको कपडाको व्यापारबाट बाहिरिएर उनले वैदबन्धुहरूलाई चकित पारे पृथक् ढङ्गको व्यापार सफलतापूर्वक स्थापना एवम् सञ्चालन गरेर । चिकित्सक बनेर सेवा गर्ने उनको चाहना थियो तर व्यापार-व्यवसायबाट पनि एककिसिमले राष्ट्रसेवा हुने भएकाले निर्माण सामग्री उत्पादनतिर लागेका हुन् उनी । जीवनको उत्तरार्द्धतिर समाजसेवा र राजनीतिमा लाग्ने उनको योजना छ  । पाँच दाज्यूभाइमध्ये साहिला उनी संयुक्त परिवारमा बस्छन् । दुइ छोरी र एक छोराका पिता वैद परिवारभित्रको एकताबाट व्यापारमा बढोत्तरी भइरहेको अनुभव सुनाउँछन् ।

हरेक काम योजना बनाएर गर्ने वैदको बानी छ । समयलाई र्सवाधिक महत्त्व दिन्छन् उनी । समयअनुसार नचल्ने र त्यसलाई अनुत्पादक काममा बिताउने व्यक्तिले कहिल्यै प्रगति गर्न नसक्ने उनलाई लाग्छ । विभिन्न सामाजिक सङ्घसंस्थासँग सम्बद्ध उनी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् औद्योगिक प्रवर्द्धन बोर्डका सदस्य पनि हुन् । कैयौं अन्तरराष्ट्रिय मञ्चहरूमा व्यापारी प्रतिनिधिमण्डलको सदस्यका रूपमा उनले देशको प्रतिनिधित्व पनि गरेका छन् । राष्ट्रिय स्वार्थका हिमायती उनी व्यक्तिभन्दा संस्थालाई बढी महत्त्व दिन्छन् । सिमेण्ट उत्पादनका निम्ति आवश्यक पर्ने कच्चा पदार्थ क्लिङकर देशभित्र नै उत्पादन  गर्ने योजनालाई मूर्तरूप दिन लागिपरेका छन् उनी । ५ वर्षअघि स्थापना भएको शालीमार सिमेण्टले दैनिक १० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएको छ । कारखानाको क्षमता अभिवृद्धि गरी त्यसलाई ३० हजार पुर्याउने र  १४ वर्षपुरानो शालीमार पेण्ट्सलाई पनि अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउने योजनामा छन् उनी । सुपारी, ल्वाङ र अलैचीको व्यापारमा समेत हात हालेका छन् उनले ।

इमानदारी, आत्मविश्वास र दृढ इच्छाशक्तिका कारण आफू व्यापारमा सफल भएको बताउँछन् वैद । आफ्ना उत्पादनको गुणस्तरको मामिलामा कसैसँग सम्झौता गर्दैनन् उनी । राजनीतिक स्थायित्व र शान्तिसुरक्षाको वातावरण बनाउनसके उद्योगधन्दा थप्न र फस्टाउन कठिनाइ नहुने उनी बताउँछन् । राष्ट्रलाई सर्वोपरि मानेर काम गर्ने हो भने देश विकासको लहर ल्याउन बेर नलाग्ने उनको विश्लेषण छ । आफू बसेको समाजबाट कमाएको पैसा त्यसको उन्नयनका निम्ति खर्च गर्नुपर्ने उनको मान्यता छ । आफूसँग सहयोगको याचना गर्न आउनेलाई उनी रित्तो हात फर्काउँदैनन् । जैन धर्म मान्ने वैद सबै धर्मलाई आदर गर्दछन् । बिहान ६ बजे उठ्ने र राति १० बजेसम्ममा सुतिसक्ने उनी प्रातः भ्रमण र योग गरेर बिहान बिताउँछन् र पूजापाठ पनि गर्छन् । उनको सूचना र मनोरञ्जनको स्रोत हो- टेलिभिजन । व्यापार र घरपरिवारलाई समान प्राथमिकता दिएका छन् उनले ।

Admin 2011-02-20