शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''अनुगमन सार्वजनिक खरीदको''
अवनिन्द्रकुमार श्रेष्ठ
सचिव
सार्वजनिक खरीद अनुगमन कार्यालय

विक्रम संवत् २०६२-६३ मा तत्कालीन शाही शासनविरुद्ध भएको जनआन्दोलनले उनको भाग्योदय भएको हो । त्यतिबेला आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका उनी शाही आयोगको कोपभाजनको शिकार भए-  राजस्व हिनामिना गरेको अभियोगमा । ६ महीना निलम्बनमा परेको क्षण उनी सम्झन पनि चाहँदैनन् । सच्चा राष्ट्रसेवकमाथि लागेको आधारहीन लाञ्छना थियो त्यो ।  'खाएको विष पो लाग्छ' सार्वजनिक खरीद अनुगमन कार्यालयका सचिव अवनिन्द्रकुमार श्रेष्ठ आफूले ऐननियमविपरीत कुनै कार्य नगरेकाले सफाइ पाएको उल्लेख गर्दै भन्छन् ।

२०१२ सालमा नवलपरासीमा जन्मेका श्रेष्ठले त्यहीबाट एसएलसी गरेका हुन् । जीवविज्ञानमा स्नातक अनि वनस्पतिशास्त्रमा स्नातकोत्तर उनले अमृत साइन्स कलेज र महेन्द्र मोरङ क्याम्पसमा ३ वर्षअध्यापन गरे निजामती सेवामा प्रवेश गर्नुअघि । कानून व्यवसायी पिताले उनको पढाइमा कुनै कसर बाँकी राखेनन् । मेधावी विद्यार्थीमा दरिन्थे उनी । जर्मनीमा क्षेत्रीय विकास, योजना तथा व्यवस्थापन पढ्दा पाएको स्वर्णनकले उनको प्रतिभा प्रमाणित गर्छ । पढाइमा तीक्ष्ण विद्यार्थीले विज्ञान पढ्ने त्यसबेलाको मान्यताअनुरूप आफूले जीवविज्ञान र वनस्पतिशास्त्र अध्ययन गरेको उनी बताउँछन् । त्यसो त उनले अर्थशास्त्रमा पनि बीए गरेका छन् । परीक्षा पास गरेर उनी उपसचिव भएका हुन् । जिल्ला वन अधिकृतको जागीर छाडेर उनी २०३८ को प्रारम्भदेखि नै सरकारी सेवामा लागेका हुन् । प्रशासनिक सेवाको उच्च तहमा पुग्ने आकाङ्क्षाले उनले वन अधिकृतको पदत्याग गरे । मुख्य सचिवका उम्मेदवार हुन् उनी ।

सार्वजनिक प्रशासनको विधालाई ज्ञानमा आधारित क्षेत्र भन्छन् श्रेष्ठ । त्यसैले कार्यालयमा पदीय मर्यादाअनुसार सानो ठूलो भए पनि शीप, ज्ञान र विचारमा कोही पनि वरिष्ठ वा कनिष्ठ नहुने उनको ठम्याइ छ । तल्लो तहका कर्मचारीको राय पनि लिनुपर्ने उनलाई लाग्छ । उनी त्यसो पनि गर्छन् । आफै दृष्टान्त बने अरूले त्यसको अनुसरण गर्ने भएकाले 'भन्नुभन्दा गरेर देखाउनुमा' उनी विश्वास गर्छन् । पूर्वयोजना बनाएर काम गर्ने बानी छ उनको । सहभागितामूलक एवम् समूहगत कार्य प्रणाली अँगालेका छन् उनले । सबै कर्मचारी क्षमतावान् लाग्छन् उनलाई । अनुशासन र इमानदारी उनको व्यवस्थापन मन्त्र हो त्यसलाई व्यवहारमा अनुवाद गर्न उनीहरूलाई हौस्याइरहन्छन् उनी । साथै शीप र व्यावसायिकताको विकास गर्न पनि प्रेरणा दिन्छन् । पूर्वाग्रही भएर काम गर्दैनन् उनी र त्यसो गर्नेसँग व्यवहार गर्न पनि रुचाउँदैनन् ।

निजामती सेवाप्रति आकर्षक बढाउन तथा प्रतिभावान् व्यक्तिलाई  प्रवेशको वातावरण बनाउन पाठयक्रम परिमार्जन होइन, प्रश्न छनोट र परीक्षा प्रणालीमा  सुधार हुनुपर्ने श्रेष्ठ बताउँछन् ।  आफूले निजामती सेवामा प्रवेश गर्दा अनुभव गरेको सम्मान एवम् प्रतिष्ठा अहिले लगभग क्षय भएको उनी उल्लेख गर्छन् । व्यावसायिकता पनि उत्तिकै घटेको उनलाई लाग्छ । बढ्दो दण्डहीनता, अराजकता, भ्रष्टाचारले मुलुकलाई गाँजेको उनको विश्लेषण छ । ७ वर्षस्थानीय विकास अधिकारीका रूपमा विभिन्न जिल्लामा रहँदा  आफ्नो अगुवाइमा विकास-निर्माणका काम विनाव्यवधान सम्पन्न गर्नसक्नुलाई उपलब्धि मान्छन् उनी ।

मन्दिर जानु हिन्दू संस्कार भएकाले आफू पनि बेलाबेलामा त्यहाँ जाने गरेको श्रेष्ठ सुनाउँछन् । सामाजिक उत्थानका लागि दान गर्नुपर्ने मान्यता भए पनि उनी त्यसलाई प्रचार गर्न चाहँदैनन् । शनैः शनैः संस्थागत संस्कृतिले गति लिएको उनको ठम्याइ छ । अनुशासन र इमानको अभावमा मुलुक पछाडि परेको विश्लेषण गर्ने उनी सबै देशवासी अनुशासित एवम् इमानदार भएमा नेपालको काँचुली फेरिने बेर नलाग्ने बताउँछन् । कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशत रकम सार्वजनिक खरीदमा खर्च हुने तथ्याङ्क प्रस्तुत गर्दै उनी त्यसलाई घटाएर गरीबको उत्थानमा लगाउनुपर्ने विचार व्यक्त गर्न पछि पर्दैनन् ।

Admin 2011-05-22