शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''लोभलाग्दा  व्यावसायिकता'' - मनोज भन्साली
प्रबन्ध निर्देशक, एयरटेक इण्डष्ट्रिज

पूरा आकरमा हेर्नुहोस्सञ्चारमाध्यम अझ भनौं प्रचारको दुनियाँबाट सधैं टाढा रहने उनले आफ्नो व्यापार-व्यवसायको समेत विज्ञापन गरेका छैनन् । न बजार प्रवर्द्धक न विज्ञापन । तर पनि उनको व्यापार फस्टाउँदो छ । ग्राहकले गरिदिने प्रचार र सिफारिशले व्यवसाय यसरी अविराम उकालो लागेको हो । ग्राहकलाई नै 'जीवन आधार' मान्ने उनको व्यापारको काइदा अरूको भन्दा साँच्चै पृथक् छ । कम्पनी स्थापनाको दशौं वार्षिकोत्सवलाई अविस्मरणीय बनाउन त्यसको व्यवस्थापन र तयारीको चटारोमा रहेका उनले अति व्यस्तताका बीच पनि केही समय जीवनका रङहरू स्तम्भका निम्ति निकालेर पत्रपत्रिकामा अझै केही समय प्रस्तुत नहुने अडानलाई मन नलागी नलागी तोडे । एयरटेक इण्डष्ट्रिजका प्रबन्ध निर्देशक मनोज भन्साली स्वदेशीमात्र होइन, विदेशी उद्यमीहरूमाझ पनि उत्तिकै परिचित छन् । मूलतः वातानुकूलित यन्त्र र उपकरणको आयात तथा तिनको जडानमा केन्द्रित उनको कम्पनी नेपालको सबैभन्दा ठूलो र सर्वाधिक मनपराइएको वातानुकूल गर्ने व्यावसायिक प्रतिष्ठान मानिन्छ । एयरटेक इण्डष्ट्रिजले उपकरण आपूर्ति मात्र होइन, स्तरीय र विश्वसनीय सेवा पनि प्रदान गर्दै आएको छ । तत्काल उपयोग गर्न सकिने सेवा उपलब्ध गराउनु एयरटेकको विशेषता हो । 'हिटिङ, भेण्टिलेशन, एयरकण्डिशनिङ, रेफ्रिजेरेशन, इलेक्ट्रोमेकानिकल' क्षेत्रमा यसले विशिष्टीकृत एवम् नवीनतम सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकप्रति 'पूर्ण समर्पित' भन्सालीको कम्पनीले ग्राहकलाई नै सर्वोपरि मानेको छ । 'कष्टमर फर लाइफ' उनको कम्पनीको 'भिजन' हो । ग्राहकहरूलाई देवता समान मान्ने उनी आफ्ना उत्पादन लोकप्रिय हुनुलाई ग्राहकको अगाध स्नेह मान्छन् । उनलाई 'कामले काम' दिलाएको छ । त्यसो त उनी पनि रातबिहान, झरीबादल र आँधीतूफान केहीको वास्ता नगरी मिहिनेत गरिरहन्छन् । उनको अनवरत परिश्रम र कम्पनीका सबैको सामूहिक प्रयासको सम्मिश्रण नै प्राप्त सफलताको रहस्य हो । बिर्तामोड, विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, पोखरा, भैरहवा, धनगढी धरान, जनकपुर र काठमाडौंमा उनले विक्रेता सञ्जाल विस्तार गरेका छन् । वातावरणीय हिसाबले ऊर्जा उपयोगमा अत्यधिक कुशलता हासिल गर्ने प्रतिबद्धतालाई व्यवहारमा नै उतार्ने उनको बानी छ । समयमा सेवा नदिए व्यवसाय धरापमा पर्छ भन्ने उनी समयलाई नै र्सवाधिक महत्त्व दिन्छन्  र तोकिएका बेलामा सेवा पुर्‍याएरै छाड्छन् । उनी नेतृत्वको कम्पनीले सामान बेच्ने मात्र होइन, सेवासँगै 'वान स्टप सोलुशन' पनि प्रदान गरेको छ ।  परेको बेला कर्मचारीलाई सहयोग गर्ने बानीले उनी कर्मचारीमाझ अत्यन्त प्रिय छन् ।  भन्सालीका कर्मचारीले उनैबाट स्वामित्वबोध र उत्तरदायित्वपूर्ण जिम्मेवारी निर्वाहको शिक्षा पाएका छन् । 'एयरटेक इण्डष्ट्रिजमा सबै मालिक छन्' उनको कार्यालयमा पुग्ने जोकोहीले त्यस्तो महसूस गर्छन् । नियमित सम्पर्कमा नरहने र 'मोबाइल अफ' राख्नेहरूसँग व्यवहार गर्न उनलाई मन लाग्दैन ।

भन्सालीसँग सहकार्य गर्नेहरू उनलाई आफ्ना भनाइ स्पष्ट शब्दमा प्रस्तुत गर्ने र समूहगत रूपमा पनि प्रभावकारी  ढङ्गले काम गर्न सक्ने प्रतिभावान् उद्यमी मान्छन् । एक दशकभन्दा लामो समयदेखि भन्सालीसँग काम गर्दै आएका जेम्स लो टेक मेङ उनलाई अत्यन्त सहयोगी एवम् साथीभाइका विचार बुझ्ने उच्चकोटिको व्यवसायी भन्छन् । मलेसियास्थित जे एण्ड इ रेफ्रिजेरेशन कम्पनीका बजार व्यवस्थापक उनी भन्सालीसँगको कारोबारबाट द्विपक्षीय व्यापारमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै यो अझ फैलिनेमा विश्वस्त छन् । 'भन्सालीजीको कार्यशैलीबाट हामी अत्यन्त प्रभावित छौँ,' मनोजमा कुनै किसिमको गैरव्यावसायिक आचारण आफूले अनुभव नगरेको उल्लेख गर्दै जेम्स भन्छन् । भन्सालीको सफलताको समारोहको अंश बन्न हालै जेम्स काठमाडौं आएका हुन् ।

 सन् २००० मा रू. २० लाखको लगानीमा सात जना कर्मचारीबाट प्रारम्भ भएको भन्सालीको कम्पनीमा अहिले १ सय ५० कर्मचारी छन्  । व्यापारमा पछाडि फर्केर हेर्नुपर्ने अवस्था आजसम्म नआएको भए पनि वास्तविक कारोबार सार्वजनिक गर्न उनलाई मन लाग्दैन । सोल्टी होटललगायत मुलुकका अधिकांश तारे होटल र रिसोर्ट, औषधि उत्पादन गर्ने कारखाना र तिनका प्रयोगशाला एवम् भण्डार, नर्भिक, नेपालगञ्ज शिक्षण अस्पतालजस्ता स्वास्थ्य प्रतिष्ठान, नबिल, सिध्दार्थलगायत नाम चलेका बैङ्क तथा वित्तीय संस्थान, मुलुकका प्रतिष्ठित औद्योगिक एवम् सञ्चारगृहका भवन र कार्यकक्ष वातानुकूलित बनाउन उनी नेतृत्वको कम्पनीको शीप र प्रविधि लागेको छ ।

भारतको बैङ्लोरबाट बीई गरेका भन्साली जीवनको चालीसौं वसन्तमा हिँडिरहेका छन् । पारिवारिक एवम् वैयक्तिक जीवनबारेको प्रचारलाई तर्कसङ्गत नमान्ने उनी मुलुकको आर्थिक विकासमा सकेको योगदान गर्नु प्रमुख लक्ष्य रहेको बताउँछन् । देशको विकासबाट नै व्यक्तिको विकास हुन्छ भन्ने उनी सबै नेपालीको उन्नतिमा जोड दिन्छन् । शोषितपीडित तथा शारीरिक रूपमा अशक्तलाई उनी हरसम्भव सहयोग गर्छन् । र, कहिलेकाहीँ मनको शान्तिका निम्ति मन्दिर पनि जान्छन् । 'सानो देश भएकाले ठूलो दिलका साथ यसको विकास गरौं' व्यवसायसँगै राष्ट्र विकासको भावना उनी व्यक्त गर्छन् ।