शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँमा रुचि
डा. कृष्ण अधिकारी
कार्यकारी निर्देशक, काठमाडौं स्वास्थ्य प्राविधिक शिक्षालय
कार्यक्रम संयोजक, चाइना थ्री गर्जेज विश्वविद्यालय


उनको रुचि कसैले नगरेको काममा हुन्छ । नयाँ प्रयोगमा आफूलाई परीक्षण गर्न रुचाउँछन् उनी । एमबीबीएसको प्रवेशपरीक्षा तयारी कक्षा सञ्चालन गर्ने कामको प्रारम्भ नेपालमा उनैले गरेका थिए । त्यस्तै, चिकित्साशास्त्र अध्ययनका लागि नेपालमा प्रचलित पाठयक्रमलाई चीनका केही शैक्षिक संस्थामा लागू गराउने काम पनि उनैको पहलमा भयो । यस्तैयस्तै नौलो काम गर्नमै रमाउन चाहन्छन् डा. कृष्ण अधिकारी । धेरै नयाँ काममा हात हालेका छन् । 'नयाँ काम गर्नु मेरो रुचि हो,' अधिकारी भन्छन् ।

निरन्तर प्रयासले मात्र सफल भइन्छ भन्ने कुरामा विश्वास राख्छन् उनी । त्यसैले, जस्तोसुकै जोखिम मोलेर भए पनि नयाँ काममा हात हाल्नुपर्छ भन्ने मान्यता बोक्छन् । चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा अधिकारीले एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई लिथो मेशिनमा प्रवेशपरीक्षाको प्रश्नपत्र छापेर बेच्थे २०३७ सालतिर । २०४७ सालमा 'इण्टेन्सिभ कोचिङ क्लासेज फर एमबीबीएस इण्ट्रान्स इक्जामिनेशन' नामक संस्था खोलेर उनी व्यवसायमा होमिए । यो क्षेत्र पनि व्यवसायको माध्यम हुन सक्छ भन्ने धेरैलाई सिकाए र ८ वर्षपछि अधिकारीले यो व्यवसायलाई छोडे । प्राविधिक ज्ञानको क्षेत्रलाई समेट्ने प्रयास गर्दै काठमाडौं स्वास्थ्य प्राविधिक शिक्षालय स्थापना गरे । अहिले यस संस्थाले ल्याब टेक्नोलोजी, रेडियोलोजीमा प्रमाणपत्र तहको र १५ महीने ल्याब असिष्टेण्ट तालीम गराउँदै आएको छ । उनी संस्थाका कार्यकारी निर्देशक हुन् ।

संस्थामा मात्रै सीमित बस्न मन लागेन उनलाई । २०५८ सालमा छिमेकी मुलुक चीनको हेनान प्रान्तमा रहेको सिनसियाङ मेडिकल कलेजले नेपाली विद्यार्थी पढाउने प्रस्ताव ल्यायो । उनले त्यसलाई स्वीकार गरेर नेपाली पाठयक्रम लागू गरी सो कलेजमा प्राध्यापन गरे । 'चिनियाँ शिक्षाप्रणालीमा आधारित चिकित्सा अध्ययनलाई नेपाली पाठयक्रममा परिणत गरी सञ्चालनमा ल्यायौं,' अधिकारी भन्छन् । चीनको चिकित्सा अध्ययनलाई नेपालमा मान्यता पाउन असजिलो भएका बेला उनले त्यहाँ नेपाली पाठयक्रम नै अध्ययन गराउने कामको थालनी गरे । 'आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई यसले आकर्षित गर्यो,' अधिकारी भन्छन् । अहिले उनी थ्री गर्जेज विश्वविद्यालयसँग आबद्ध छन् । कार्यक्रम संयोजकका रूपमा उनी काममा जुटिरहेका छन् । नेपालका २ सय विद्यार्थीले त्यो विश्वविद्यालयमा अध्ययन गरिरहेको उनी बताउँछन् । नेपाली पाठयक्रम सञ्चालनमा ल्याउन नेपाली चिकित्सा क्षेत्रका धेरै विज्ञलाई आफ्नो संस्थामा लिएको बताउँछन् उनी । उनी संलग्न सो विश्वविद्यालयमा वार्षिक ४० देखि ५० नेपाली पढ्न जान्छन् । त्यहाँ नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका विद्यार्थीहरू रहेको उनी बताउँछन् । कम जेहेनदार विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न दिनु र परीक्षा फितलो हुनु त्यहाँको प्रमुख कमजोरी रहेको अधिकारीको ठम्याइ छ ।

उनी वर्षमा दुईपटक चीन पुग्छन् । एकपटकमा उनी बढीमा ४ महीना त्यहाँ रहन्छन् । आफू नहुँदा नेपालमा रहेका आफ्ना संस्थाको कार्यभार जीवनसँगिनी निर्मलालाई दिन्छन् । अब उनको राजधानी काठमाडौंमा प्यारामेडिकल कलेज स्थापना गर्ने सोच छ । मेडिकलसम्बन्धी आधादर्जन पाठयपुस्तक तयार पारिसकेका उनले आफ्नो संस्थामा ४० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । कुनै पनि संस्थाको भविष्य व्यक्तिको दक्षतामा गाँसिएको हुन्छ, भन्छन् उनी ।

फुर्सदभयो भने अधिकारी शहरको कोलाहलबाट अलग भई एकान्तमा जान्छन् । 'शहरमा एकाग्रता हुँदैन,' उनी भन्छन् । उनले ७५ ओटै जिल्ला घुम्ने योजना बनाएका छन् । संस्थाको व्यवस्थापन हेर्नुभन्दा प्रध्यापन गर्न रमाउँछन् । यस क्षेत्रमा लागेर इमानदारी र विश्वास कमाएको बताउँछन् उनी । पाँच दशकअघि धनकुटाको सामान्य परिवारमा जन्मिएका अधिकारी बाल्यकालमा लक्ष्यहीन यात्रामा अगाडि बढेका व्यक्ति हुन् । सानोमा पढाइमा अब्बल भए पनि अरूको लहैलहैमा लाग्ने स्वभावका थिए उनी । धरानको हात्तीहार क्याम्पसमा चिकित्साशास्त्रमा प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा  ६ बिरामी भए । उनलाई यो विषय अध्ययनमा रुचि भएन र व्यवस्थापन पढ्ने सोच बनाए । तर, उनलाई बुबाआमाले बेस्सरी गाली गरे । तत्पश्चात् उनी चिकित्सक बन्ने सपना बोकेर राजधानी छिरे । शुरूमा महाराजगञ्ज शिक्षण अस्पतालमा सामान्य चिकित्साशास्त्र अध्ययन गरे । केही समय जागीर खाएपछि चिकित्साशास्त्रमै उच्च तहको अध्ययन पूरा गरे । अहिले उनी अध्यापन पेशामा बढी संलग्न छन् ।

शिक्षण यात्रामा अहिलेसम्म पढाएका विद्यार्थीमध्ये विनोद दङ्गाललाई सम्झिरहन्छन् । 'कमजोर आर्थिक अवस्था रहेका दङ्गाल लगनशील थिए,' उनी भन्छन्, 'उनको लगनशीलताबाट म प्रभावित छु ।' राजनीति गतिविधिप्रति निकै सचेत रहने उनी पूजापाठ गर्दैनन् । तर, संस्कारलाई मास्नु हुँदैन भन्छन् । फुर्सदमा दार्शनिक पुस्तक र जीवनी अध्ययन गर्ने उनी समाजसेवामा पनि उत्तिकै रुचि राख्छन् र आफ्नो सफलताको श्रेय बाबुआमालाई दिन बिर्संदैनन् ।

Admin 2011-07-24