अठोट पुनरुत्थानको
कृष्णकुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत
गोर्खा डेभलपमेण्ट बैङ्क
राष्ट्र बैङ्कले सङ्कटग्रस्त घोषणा गरी कारबाहीसमेत गरिसकेको बैङ्कलाई पुनर्जीवित गराउनुछ उनलाई । त्यसैले, उनले नेतृत्व गरेको संस्थालाई वित्तीय सङ्कटबाट उन्मुक्ति दिलाउन रातदिन डटिरहेका छन् उनी । यसै कारण पनि निकै गम्भीर छन्- गोर्खा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार भट्टराई । जुन रणनीति अपनाएर भए पनि बैङ्कलाई उनले बचाउनुपर्ने छ । त्यही सङ्कल्प र अठोटका साथ नेतृत्व गर्न आएको बताउँछन् उनी । तर, यो 'निकै चुनौतीपूर्ण' रहेको उनी स्वीकार गर्छन् ।वित्तबजारमा देखिएको निरन्तर तरलता सङ्कुचन, शोधनान्तर घाटा तथा समग्रमा आर्थिक सङ्कुचनका बेला पनि उनको सङ्कल्प र अठोटमा खिया लागेको छैन । 'म सधैं आशावादी मान्छे, त्यसैले यो बैङ्कलाई उठाउन सक्छु भन्ने मेरो दृढ विश्वास छ ।'
'ठूलो हुने होइन, राम्रो हुने हो' भन्नेमा विश्वास गर्छन् उनी । शीघ्र सुधारात्मक कारबाही भोगिसकेको सो बैङ्कलाई राष्ट्र बैङ्कले ६ महीनाभित्र सुध्रिन चेतावनी दिएको छ । त्यसैले, अहिले आफ्नो ध्यान समस्याग्रस्तबाट बैङ्कलाई कसरी सङ्कटमुक्त बनाउने भन्नेमा मात्रै केन्द्रित रहेको बताउँछन् उनी । 'त्यसपछि म बैङ्कलाई राम्रो बनाउनतिर लाग्नेछु', उनले प्रतिबद्धता व्यक्त गरे । राष्ट्र बैङ्कले सुधार्ने निर्देशन नै नदिई कारबाही गर्दा उत्पन्न समस्या र निक्षेपकर्ताहरूमा परेको अविश्वासलाई अन्त्य गर्न आफू लागिपरेको उनी बताउँछन् । अहिले पनि उनले नेतृत्व गरेको बैङ्कको मौजुदा ३ अर्ब ४५ करोड निक्षेप र ४ अर्ब १ करोड लगानी छ ।
बैङ्कहरू धराशयी हुनुको कारण उनले अध्ययन गरिरहेका छन् । 'तरलताको सङ्कुचन, अस्वस्थ प्रतिस्पर्धा र घरजग्गा कारोबारमा बैङ्कले गरेको अनावश्यक लगानीले बैङ्कहरू खस्किँदै छन्' उनी भन्छन् । राष्ट्र बैङ्कले व्यापारीहरूलाई बैङ्क सञ्चालनको अनुमति दिएका कारण पनि धेरै बैङ्क समस्यामा परेको उनको बुझाइ छ । 'पैसा हुनेले व्यापार पो गर्नुपर्ने हो त बैङ्क खोल्ने होइन नि !', उनले भने । घरजग्गा कारोबारमाथि राष्ट्र बैङ्कले एक्कासि लगाएको रोकलाई तीव्र गतिमा गुडेको गाडीमा 'ब्रेक' लगाउँदा उत्पन्न असहजतासँग उनी तुलना गर्छन् ।नीतिगत तहमा नै समाधान नखोजी अहिलेको आर्थिक सङ्कट समाधान नहुने उनको बुझाइ छ । भन्छन्, 'समयमा बजेट नल्याई, मौद्रिक नीति खुकुलो नबनाई र अस्वस्थ प्रतिस्पर्धालाई नरोकी आर्थिक सङ्कट समाधान हुँदैन ।' राष्ट्र बैङ्कको मौद्रिक नीति एउटा निश्चित लक्ष्य र संरचनामा आधारित हुनुपर्नेमा यसो हुन नसकेको आम गुनासोप्रति उनी असहमत छैनन् । पूँजी बजारको मूल्य होइन, वित्तीय सूचकाङ्क हेरेर बैङ्क तथा वित्तीय संस्थाको मूल्याङ्कन गर्न उनको सुझाव छ । बैङ्कहरूको वर्ग छुट्टयाउने कुरासँग पनि उनी सहमत छैनन् । 'सबै 'क' वर्गमा पुग्न खोज्दछन्, यसले पनि धेरै अस्वस्थ प्रतिस्पर्धा जन्माएको छ', उनी भन्छन् ।
योजनाबद्ध ढङ्गले मुख्य आधारमा मात्र काम गर्ने बानी छ उनको । फुसदमा व्यवस्थापन विषयमा विश्व बजारमा निष्किएका पुस्तकहरू पढ्छन् । आफ्ना मातहतका कर्मचारीलाई पूर्ण अधिकार दिनुपर्छ भन्ने उनको मान्यता छ । मुलुकको राजनीतिक बखेडाले आर्थिक विषयलाई ओझेलमा पारेकोमा उनको आपत्ति छ । किसान परिवारमा झापाको बैगुन्धुरामा २०२८ सालमा जन्मिएका भट्टराईले मद्रास इन्षिटच्युट अफ चाटर एकाउण्टेन्सीबाट चाटर एकाउण्टेन्सीको अध्ययन पूरा गरेका छन् । उनी अहिले पनि विद्यार्थी हुन् । 'वित्तीय पुन: संरचना' विषयमा विद्यावारिधिको तयारी गरिरहेका छन् उनले ।
यसअघि उनले ५ वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा विभागीय प्रमुखको जिम्मेवारी वहन गरिसकेका छन् । पूजापाठमा नभई मानवधर्ममा विश्वास राख्ने भट्टराईले समाजसेवामा पनि आफूलाई क्रियाशील बनाउने सोच बनाएका छन् । उनले कहिले साहारा समूहअन्तर्गतका केटाकेटीलाई 'कम्बल' दान गरेका छन् त कहिले आफूले अध्ययन गरेको विद्यालयमा कम्प्युटर उपहार दिएका छन् । तर, उनको अहिलेको प्राथमिकता आफूले नेतृत्व गरेको बैङ्कलाई प्रतिस्पर्धाको बजारमा हिँडाउनु नै हो । उनी भन्छन्, 'म सबैले गौरव गर्ने बैङ्कका रूपमा यसलाई उभ्याउन चाहन्छु । यसका लागि सबैको साथ चाहिन्छ ।'