शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एयरलाइन्सकी अग्रणी महिला
मनश्री श्रेष्ठ
महाप्रबन्धक, काष्ठमण्डप एयर
सचिव, वायुसेवा सञ्चालक सङ्घ
वायुसेवा क्षेत्रमा काम गरेर आफूले सोचेको सफलता प्राय: कमै महिलाले पाएका छन् । दक्षताकै आधारमा अग्रणी भूमिका निर्वाह गर्ने अवसर पनि सबै महिलाले पाएका हुँदैनन् । तर, कार्यदक्षता र जिम्मेवारीप्रति प्रतिबद्ध भएकै कारण एक निजी विमान कम्पनीको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न सफल भएकी छन्- मनश्री श्रेष्ठ ।

वायुसेवा क्षेत्रमा उनको करीब २० वर्षलामो अनुभव छ । साढे दुई वर्षदेखि उनले एयर काष्ठमण्डप प्रालिकी महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । पेशा र सम्बन्धलाई अलग धारबाट हेर्नुपर्छ भन्ने उनको मान्यता छ । त्यस्तै इमानदारी, कामप्रतिको प्रतिबद्धता र समयको उचित व्यवस्थापन नै सफलताको सूत्र भएको उनको ठम्याइ छ । पेशाप्रति जति इमानदार हुन सक्यो उति सफल हुन सकिने धारणा राख्ने मनश्री सधैँ सकारात्मक सोचका साथ काम गर्नुपर्ने विचारमा दृढ छिन् ।कार्यसम्पादनमा आउने अप्ठयारालाई आफूभन्दा माथिका सँग मात्र नभएर तलका सँग पनि सल्लाह लिएर समाधान गर्नुपर्छ भन्ने उनको विचार छ । काम गर्ने क्रममा योग्यता र दक्षता एकआपसका परिपूरक भएर आउँछन् भन्छिन् श्रेष्ठ । पर्यटन व्यवसायअन्तर्गत हवाई यातायातको क्षेत्रलाई आफ्नो पेशा बनाएकी श्रेष्ठले सधैँ यही मन्त्रलाई इमानदारीसाथ पालना गर्दै आएकी छन् ।

४५ वर्षपहिले पोखराको नालम्बुमा जन्मिएकी मनश्रीले भैरहवाबाट विद्यालय शिक्षा पूरा गरेकी हुन् । उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट विज्ञानमा प्रवीणता प्रमाणपत्र र अमृत साइन्स क्याम्पस काठमाडौंबाट स्नातक उत्तीर्ण गरेकी हुन् । सन् १९९१ ताका त्रिभुवन विश्वविद्यालयमा एमएससीको पढाइ शुरू गरे पनि वायुसेवा क्षेत्रमा लागेको र घरायसी कामका कारण पढाइ भने पूरा हुन नसकेको बताउँछिन् श्रेष्ठ ।उनको वायुसेवा क्षेत्रको जागीर एभरेष्ट एयरको अप्रेशन विभागबाट शुरू भएको हो । उनी अहिले एकपछि अर्को वायुसेवा हुँदै काष्ठमण्डप एयरसम्म आइपुगेकी छन् । सफल बन्न जीवनमा अझै धेरै आरोहअवरोह पार गर्नुपर्ने बताउँछिन् मनश्री । काठमाडौंमा २ र भैरहवामा ४ वर्षएभरेष्ट एयरमा काम गरेपछि सन् १९९८ ताका मनाङ एयरमा काम गरेकी थिइन् उनले । सो वायुसेवाको जागीरसँगै उनले आफ्नो अध्ययनलाई पुन: निरन्तरता दिँदै नेपाल कमर्श क्याम्पसबाट एमबीए उत्तीर्ण गरिन् ।

त्यसपछि उनले मनाङ एयरमा करीब ७ वर्षवरिष्ठ प्रबन्धक भएर काम गरिन् । उनले एयर नेपाल इण्टरनेशनलमा १ वर्षसेल्स अफिस प्रमुखको अनुभव सँगाल्ने अवसर पनि पाइन् । त्यसमा प्रवेश गरेसँगै उनले एस एक्जुकेटिभ म्यानेजमेण्टबार्टईएमबीएको अध्ययन गरिन् । करीब १ वर्षपछि एयर नेपाल पनि बन्द भयो । उनले काम गरेका एभरेष्ट, मनाङ र एयर नेपाल भने अहिले सञ्चालनमा छैनन् ।एयर नेपाल बन्द भएपछि उनले वायुसेवा क्षेत्रको जागीर छाडेर अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने सोच बनाइन् र त्यसमा सफल पनि भइन् । तर, बिहान १० देखि साँझ ५ बजेसम्म खट्नुपर्ने भएकाले त्यस जागीरलाई उनले निरन्तरता दिन सकिनन् । उनी पुन: सिम्रिक एयरमार्फत वायुसेवा क्षेत्रमै प्रवेश गरिन् । सिम्रिक एयरमा करीब १ वर्षबजार निर्देशक भएर काम गरेको बताउँछिन् श्रेष्ठ । साढे दुई वर्षअगाडि मात्र सञ्चालनमा आएको एयर काष्ठमण्डपमा भने शुरूदेखि नै महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएकी छन् श्रेष्ठले । वायुसेवा क्षेत्रको कार्यदक्षताबाट नै महाप्रबन्धक बन्न पुगेकी उनी नेपालको विमान कम्पनीमा काम गर्ने अग्रणी महिला बन्न सफल भएकी छन् ।

घरपरिवार र श्रीमान्को प्रेरणाले पेशाप्रतिको साहस थपिएको बताउने श्रेष्ठ कामप्रतिको लगनलाई भने कहिल्यै दोस्रो श्रेणीमा राख्दिनन् । जीवन भोगाइका क्रममा आउने एकपछिको अर्को संघर्षले अझ बढी जिम्मेवार हुन सिकाउने बताउँछिन् उनी । महिला अगाडि आउन घरपरिवारको साथ र सहयोगका साथै सकारात्मक सोच र उत्प्रेरणाको खाँचो रहने उनको बुझाइ छ ।नेपालमा निजी विमान कम्पनीको स्थायित्वका लागि संघर्षरत उनले वायुसेवा सञ्चालन सङ्घ नेपालको सचिवको पनि जिम्मेवारी लिएकी छन् । तीनओटा सिङ्गल इञ्जिनबाट शुरू भएको एयर काण्ठमण्डपको बजार विस्तार र नयाँ योजनाको तयारीमा उनी व्यस्त छिन् । यसले विशेषगरी सुर्खेत र नेपालगञ्जलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । विमान कम्पनीको स्थायित्व र सेवासँगै नयाँ क्षेत्रका गन्तव्यमा जाने तयारीलाई यसले प्राथमिकता दिएको छ । नेपालमा भएका विमान कम्पनीको भीडमा काष्ठमण्डपको फरक पहिचान रहेको श्रेष्ठ बताउँछिन् । नेपालका दुर्गम क्षेत्रमा सेवा दिइरहको काष्ठमण्डपले कार्गो उडान मात्रै गर्दै आएको छ ।