शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विश्वास सहभागितामूलक व्यवस्थापनमा'' - केशवप्रसाद भट्टराई
सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय

उनको पुख्र्यौली घर भोजपुरको भुल्के भए पनि उनी बाल्यावस्थादेखि नै झापातिर झरेका हुन् । दमकबाट एसएसलसी गरेपछि खाद्यप्रविधि पढ्न धरान पुगेका उनले त्यस विषयमा प्रवीणता प्रमाणपत्र तहभन्दा माथि अध्ययन गर्न पाएनन्- हात्तीसार क्याम्पसमा बीटेकको अध्यापन नहुँदा । काठमाडौं आएर जनप्रशासनमा स्नातकोपाधिबाहेक गर्न पाएनन् उनले यहाँ पनि स्नातकोत्तरको पढाइ नभएपछि । दुवै शैक्षिक प्रतिष्ठान प्रारम्भिक चरणमा रहेकाले उपल्लो ड्रि्री हासिल गर्ने उनको अभिलाषा अधुरो रह्यो । त्यसो त उनी कानूनशास्त्री पनि हुन् । शिक्षाका भोका उनले भारतको कानपुर विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेरै छाडे । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव केशवप्रसार भट्टराईले निजामती सेवामा प्रवेश गर्नुअघि २ वर्ष खाद्य अनुसन्धान प्रयोगशाला र जनक शिक्षा सामग्री केन्द्रमा ५ साल जागीर खाएका थिए । जनक शिक्षाले उनलाई अधिकृत स्तरमा दिएको एक तह माथिको पद त्यागेर उनी शाखाअधिकृतमा २०४२ मा सार्वजनिक प्रशासनमा पसेका हुन् । उनको पहिलो पोष्टिङ उद्योग मन्त्रालय भएको थियो । निजामती सेवाको आकर्षणले उनी त्यतैतिर तानिएको बताउँछन् ।

दश वर्षशाखा अधिकृतमा बिताएपछि परीक्षा पास गरेर उपसचिव र सहसचिव भएका हुन् केशव । जीवनमा उनले कहिल्यै कठोर संघर्ष गर्नुपरेन उनले । पण्डित हजुरबा र शिक्षित पिताले उनका शैक्षिकलगायत सबै आवश्यकता सजिलै पूरा गरिदिन्थे । तर, कहिल्यै पुल्पुलिएनन्- सायद जेठो छोरो भएर होला । चार चेली र चारभाइका दाज्यू उनी प्रशासनयन्त्रको निर्णायक स्थानमा पुग्ने परिवारका प्रथम सदस्य हुन् । पुस्तकमा पढेका प्रबन्धका प्रारूपहरू पेशामा पालनाको प्रयास हुनुपर्नेमा उनको जोड छ । तल्लो तहका कर्मचारीलाई पनि विश्वासमा लिएर काम गर्छन् उनी । सहभागितामूलक व्यवस्थापनमा विश्वास गर्ने उनी कामप्रति लगाव राख्न अभिप्रेरित गर्छन् । काममा आधारित मूल्याङ्कन प्रणाली प्रभावकारी लाग्छ उनलाई । त्यसै गर्छन् उनी कर्मचारीलाई प्रेरित गर्न । तालीमलगायत वृत्तिविकासका अवसरका निम्ति पनि लायक व्यक्तिलाई सिफारिश गर्न चुक्दैनन् उनी । मातहतका मानिसलाई स्वामित्वबोधसहितको जिम्मेवारी दिँदा लक्षित उपलब्धि हात पार्न सजिलो हुने उनको ठम्याइ छ । काम छल्ने, अल्छी गर्ने र गम्भीर विषयवस्तुलाई पनि हलुका ढङ्गले लिनेहरूसँग व्यवहार गर्न उनलाई मन लाग्दैन ।

सार्वजनिक प्रशासन अनाकर्ष मान्न तयार छैनन् केशव । 'शिक्षित बेरोजगारहरू बढेको वर्तमान परिप्रेक्ष्यमा निजामती सेवामा प्रवेश गर्न चाहनेहरूको सङ्ख्या आवेदन फारम भर्नेको भीडबाट पुष्टि हुन्छ,' परराष्ट्र र राजस्व सेवामा मात्र होइन, प्रशासनका विविध पदमा लोक सेवा आयोगमा लाग्ने आवेदनको चाङ सम्झँदै उनी भन्छन् । आयोगमा पनि सचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनको विद्यमान पाठयक्रम प्रणाली परिमार्जन गर्न जरुरी भएको ठम्याइ छ । 'परीक्षापद्धतिमा पनि परिमार्जन आवश्यक छ' आयोग समय सापेक्ष हुनुपर्ने सुझाव दिन्छन् ।

मुलुक कुशासनले पिरोलिएको स्वीकार गर्छन् केशव । र, तल्लो तहदेखि त्यसलाई सफा गर्न सकिने संस्कारको विकास गर्नुपर्ने उनको मान्यता छ । उनको विचारमा सबैलाई सदाचारको पाठ पढाउनुपर्छ । समाजको मानसिकतामा सुधार नआई सुशासन कायम नहुने उनको अनुभव छ । घरजग्गा एकै दिनमा पास हुने र नागरिकताको प्रमाणपत्र पनि एकै दिन बन्ने व्यवस्था भएजस्तै सेवा प्रवाहका अन्य कार्य पनि त्यस्तै गतिमा भए सार्वजनिक प्रशासनमाथि धेरैले औंला नठडयाउने उनको विश्लेषण छ । सही नीति र नेता भए देश विकास गर्न बेर लाग्दैन । ऐन कानूनको जञ्जालमा जेलिएको प्रशासन यन्त्रलाई पनि स्वायत्त पार्दै अघि बढे मुलुकको उन्नयन सम्भव हुने तर्क गर्छन् उनी ।

ईश्वरप्रति  आस्था छ, केशवको । कहिलेकाहीँ मन्दिर पनि जान्छन् उनी । पूजाआराधना गर्दा उनलाई सन्तुष्टि र शान्ति महसूस हुन्छ । सामाजिक रूपमा पछि परेकालाई सहयोग गर्छन् उनी । आफूलाई सानो तहबाट उठेको सगर्व सुनाउँछन् र सचिव हुनुलाई उपलब्धि मान्छन् । 'जागीरे भएपछि ठूलो मान्छे हुनुपर्छ भन्ने थियो तर सचिव नै भइएला भन्ने कल्पना थिएन,' झण्डै तीन दशकअघि सरकारी सिन्दुर लगाएको क्षण स्मरण गर्छन् ।

Admin 2011-04-22