शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

'नम्बर वान'को सङ्कल्प
पीआर मिश्र
प्रमुख कार्यकारी अधिकृत
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड


लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डियामा २६ वर्षको व्यावसायिक कार्यानुभव छ उनीसँग । अनुभवलाई अझ तिखार्ने उद्देश्य लिएका छन् उनले । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)को प्रमुख कार्यकारी अधिकृत पीआर मिश्र संस्थालाई 'नम्बर वान' बनाउने सङ्कल्पसहित भर्खरै नेपाल आएका हुन् । आममान्छेको चेतना अभिवृद्धि गर्दै जीवन बीमाक्षेत्रलाई समृद्ध बनाउने अठोट लिएका छन् उनले । 'यहाँ बीमा कम्पनीले धेरै योजना विक्री गर्दारहेछन्, तर जनचेतना फैलाउन सकेको देखिनँ,' मिश्र भन्छन् । आगामी ३ वर्षभित्र शाखा, एजेन्सी र सेवाग्राहीमाझ प्रत्यक्ष पुगेर अन्तरक्रिया गर्दै सचेतना बढाउने योजना बनाएका छन् उनले ।  

एलआईसी इण्डियाका १ सय १३ शाखा म्यानेजरमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको मिश्र बताउँछन् । हाल एलआईसी इण्डिया बहुराष्ट्रिय कम्पनी भइसकेको छ । कम्पनीले ११ देशमा सेवा प्रदान गरिरहेको मिश्र बताउँछन् । ११ देशमध्ये एकमा काम गर्न कम्पनीले दिएको अवसरको उपयोग गर्दै उनले नेपाल रोजेका हुन् । 'गौतम बुद्ध, सगरमाथा, पशुपतिनाथको देशमा काम गर्नु मेरा लागि गर्वको कुरा हो,' उनी भन्छन्, 'मित्रवत् नेपाली दाजुभाइ तथा साझा संस्कृति, रहनसहन र परम्परा भएको छिमेकमा केही गर्न आएको हुँ ।'

भारतको उडिसामा मध्यम वर्गीय परिवारमा उनको जन्म भएको हो । सानैबाट पढाइमा उत्कृष्ट उनले भविष्यमा प्रशासनिक क्षेत्रमा काम गर्ने सोचका साथ अर्थशास्त्र विषय रोजे । भुवनेश्वरको उत्कल विश्वविद्यालयबाट स्नातकोत्तर गरेलगत्तै मिश्र प्रशासनिक अधिकृत भई १९८५ मा एलआईसी इण्डियामा प्रवेश गरेका हुन् । संस्थाका २६ वर्षध्ये २३ वर्षमार्केटिङ विभागमा उनले काम गरे । इमानदारी र कडा परिश्रम उनको व्यवस्थापन दर्शन हो । मिश्रले आफ्नो व्यावसायिक यात्रामा जनतासँगको सुदृढ सम्बन्धलाई प्राथमिकतामा राखे । 'बजारमा असल सम्बन्ध स्थापित गर्ने र त्यसलाई बजारीकरण गर्ने काम गरेँ,' उनी भन्छन् । शाखा प्रबन्धक, मुख्य प्रबन्धक, बजार प्रबन्धक हुँदै उनी यसअघि विभागीय प्रबन्धकका रूपमा कार्यरत थिए ।हाल १५ शाखा र ५ विक्रीकेन्द्र रहेको एलआईसी नेपालको सञ्जाल आगामी २ वर्षभित्र दोब्बर बनाउने मिश्रको लक्ष्य छ । अस्थिर राजनीतिले नेपालको आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको मिश्रको बुझाइ छ । यस्तो अवस्थामा पनि आर्थिक क्षेत्रको सक्रियताको उनी प्रसंशा गर्छन् । 'राजनीतिक स्थिरता नभए पनि आर्थिक स्थिरता देखेको छु,' उनी भन्छन्, 'मुलुकमा ठूलो परिमाणमा रेमिटयान्स भित्रिरहेको छ, उत्पादनयोग्य भूमि पनि धेरै छ ।'

नेपालका बीमा कम्पनीमध्ये सबैभन्दा पहिले आईएसओ प्रमाण चिन्ह प्राप्त यो संस्था २००८ मा 'बेष्ट प्रिजेण्टेड एकाउण्ट अवार्ड'बाट सम्मानित भइसकेको छ । अनलाइन नेटवर्किङमार्फत सेवा प्रदान गरिरहेको एलआईसीसँग २ लाख ८५ हजार बीमित आबद्ध छन् । भारतको तुलनामा नेपालमा बीमा गर्नेको सङ्ख्या निकै कम भएकोमा मिश्र केही दु:खी छन् । 'भारतमा हाम्रो कम्पनीले मात्रै ३० करोड जनताको बीमा गरेको छ,' उनी भन्छन् । नेपालमा कुल जनसङ्ख्याको ५-६ प्रतिशतले मात्रै बीमा गरेका छन् ।कम्पनी सफल हुन प्रत्येक कर्मचारी प्रतिबद्ध, समर्पित, इमानदार र मेहनती हुनुपर्ने उनको ठहर छ । उनी आफ्नो प्रेरणा आफै नै रहेको बताउँछन् । 'मेरो निरन्तरको उत्कृष्ट कार्य सम्पादनले मलाई थप प्रेरणा प्रदान गर्यो,' मिश्र भन्छन् । सामूहिक कामप्रति उनको विश्वास छ । 'सफल हुनलाई आआफ्नो ठाउँमा सबैको उत्कृष्ट योगदान हुनुपर्छ,' उनी भन्छन् । कर्मचारीलाई तालीम, भ्रमण र कार्य क्षमताअनुसार स्तरोन्नति गर्नुपर्नेमा उनको जोड छ ।

मिश्रलाई एलआईसी नेपालका कर्मचारी अत्यन्त मेहनती र परिश्रमी लागेको छ । तर, कर्पोरेट कल्चरको विकास भइनसकेको उनको बुझाइ छ । 'कर्पोरेट क्षेत्रमा सुधारको खाँचो छ,' उनी भन्छन् । भाषा बुझ्न नसके कुनै पनि काम गर्न कठिन हुने उनले बुझेका छन् । 'अहिले म नेपाली भाषा सिकिरहेको छु, यसले मलाई काम गर्न अझ सजिलो हुनेछ,' मिश्र भन्छन् । उनका हरेक काम योजनाबद्ध हुन्छन् । 'प्लान योर वर्क एण्ड वर्क योर प्लान' उनको मन्त्र हो । ४७ वर्षीय मिश्र काम गर्न सकुन्जेल यसै क्षेत्रमा रहने दृढता व्यक्त गर्छन् । '१३ वर्ष त अझै कार्यकाल बाँकी नै छ,' उनी भन्छन्, 'त्यसपछि पनि शरीरले भ्याएसम्म यसै क्षेत्रमा काम गर्छु,'दुई छोरीका पिता उनी आगामी दशैंमा परिवारसहित पोखरा, लुम्बिनी र चितवन घुम्ने योजनामा छन्  । ईश्वरमा अत्यन्तै विश्वास गर्ने मिश्र पशुपतिनाथ पुग्दा आनन्दानुभूति हुने बताउँन् । 'भगवान्को कृपा नहुने हो भने केही सम्भव छैन,' उनी भन्छन् । जीवन बीमालाई नै समाजसेवा भन्ने मिश्र बिहान साढे ५ बजे उठ्छन् र राति ११ बजे सुत्छन् । आर्थिक विषयका पुस्तक पढ्न रुचि राख्छन् । जीवनलाई एउटा 'यात्रा' मान्ने मिश्र भन्छन्, 'जीवन चलिरहन्छ, आनन्दसाथ बाँच्नुपर्छ ।'

Admin 2011-08-26