''चासो नागरिक निगरानीको'' -नवीनकुमार घिमिरे
सचिव, रक्षा मन्त्रालय
सरकारका अन्य मन्त्रालयभन्दा पृथक् छ उनको अड्डाले गर्ने काम र फरक नै छ, उनको कार्यकक्षको तामझाम पनि । तीनपत्र पर्दा पार गरेपछि मात्र उनलाई भेट्न पाइन्छ । रक्षा मन्त्रालयको सम्पूर्ण साजसज्जाको व्यवस्थापन जङ्गीअड्डाले गरेकाले होला, त्यहाँको सौर्न्दर्य वर्णनीय बनेको हो । आगन्तुकलाई सम्बन्धित स्थान वा व्यक्तिसम्म पुर्याउन वलिष्ठ बलशाली व्यक्ति आइपुग्छन् ढोकैमा मृदु मुस्कानका साथ । अन्य मन्त्रालय भव्य भवनमा रहनु र रक्षा दुईओटा फ्ल्याटमा सीमित हुनुको फाइदा पनि हुन सक्छ ? त्यसको चित्ताकर्ष सजावट । रक्षा मन्त्रालयका सचिव नवीनकुमार घिमिरे नेपाली सेनाको लोकतन्त्रीकरणको कार्ययोजना तर्जुमाका साथै त्यसलाई व्यवहारमा अनुवाद गर्ने विविध खाका तयारीमा व्यस्त छन् । सेनामाथि नागरिक सर्वोच्चता कायम गर्ने चुनौतीपूर्ण कार्य कम गहन र संवेदनशील लाग्दैन उनलाई । पारदर्शी सैनिक गतिविधि, सदनप्रति उसलाई जवाफदेही बनाउने, समावेशीकरणका साथै मानवअधिकार प्रवर्द्धनमा सेनालाई जागरुक राख्ने जिम्मेवारीलाई उनले अवसरका रूपमा स्वीकारेका छन् । सार्वजनिक प्रशासन जनताको सेरोफेरोमा केन्द्रित हुनुपर्नेमा जोड दिन्छन् उनी । सेवा प्रवाहको पूर्ण पद्धति विकास नहुँदा सर्वसाधारणलाई समस्या परेको उनको विश्लेषण छ ।
सधैं काममा प्रतिबद्ध र कर्तव्यप्रति इमानदारी घिमिरेको व्यवस्थापन मन्त्र हो । कर्मचारीलाई उनीहरूले गरेका कामको जस दिने र सार्वजनिक रूपमा सम्मान एवम् स्याबासी दिएर हौस्याउने उनको बानी छ । संस्थाप्रति सधैं वफादर एवम् क्रियाशील रहनुपर्ने उनको सुझाव छ । त्यसैले मानिसको परिचय बनाउने उल्लेख गर्छन् उनी । निजामती प्रशासन राजनीतिबाट बिटुलिएकाले बेथिति बढेको बताउने उनी 'राम्राभन्दा पनि आफ्ना मान्छे' लाई प्राथमिकता दिँदा पद्धतिगत त्रुटि भएको अनुभव सुनाउँछन् । व्यक्तिले होइन, पद्धतिले प्रशासन संयन्त्र सञ्चालन होस् भन्छन् उनी ।
सकारात्मक सोचका साथ गरिएको कामले सुखद परिणाम दिनेमा विश्वस्त घिमिरे सेवा प्रवाहमा छरितोपना आउनैपर्नेमा जोड दिन्छन् । एक्काइसौं शताब्दीको सार्वजनिक सेवा प्रवाह सूचनाप्रविधिमा आधारित हुनुपर्ने उनलाई लाग्छ । पारदर्शिताको अभावमा सुशासन आकाशको फलजस्तो भएको टिप्पणी गर्ने उनी सामाजिक संरचनाका कारण भ्रष्टाचारले प्रश्रय पाएको बताउँछन् । 'समाजका सबै अङ्गमा सुशासनको टड्कारो खाँचो छ' हाम्रो समाजले नै व्यक्तिलाई भ्रष्ट बनाउन कुनै न कुनै रूपमा अहम् भूमिका निर्वाह गरेको मत व्यक्त गर्दै उनी भन्छन् । झण्डै साढे तीन दशकको उनको निजामती सेवाको अनुभवले पनि त्यही भन्छ - कुशासनको कारक समाज पनि हो । भ्रष्टाचारलाई निमिटयान्न पार्न निर्मम प्रहार हुनुपर्ने अभिमत व्यक्त गर्छन् उनी । 'खोक्रा भाषणले भ्रष्टाचार निर्मूल हुँदैन' सुशासन प्रवर्द्धनका लागि जनता पनि जाग्न जरुरी भएको उनी उल्लेख गर्छन् । प्रशासनयन्त्रप्रति नागरिक निगरानी पनि उत्तिकै अपरिहार्य भएको उनको ठम्याइ छ ।
तत्कालीन श्री ५ को सरकारमा सबैभन्दा कान्छो उपसचिवका रूपमा समेत चिनिएका घिमिरेले १४ वर्षगृह प्रशासनमा बिताएका छन् । सुरक्षा निकायमा काम गर्दाका कैयौं चुनौतीपूर्ण क्षणले भविष्यका योजना बनाउन र रणनीतिक रूपमा प्रस्तुत हुन उनलाई धेरै सघाएको छ । सङ्क्रमणकालीन सुरक्षा, सङ्कट व्यवस्थापन, अन्तरराष्ट्रिय शरणार्थी कानूनलगायत विषयका ज्ञाता मानिने उनले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । अध्ययन अध्यापनको क्रम अविरल बग्ने र ज्ञान सिकेर नसकिने बताउने उनलाई राष्ट्र निर्माणको पहिलो शर्त शैक्षिक उन्नयन लाग्छ । गाउँगाउँमा शिक्षाको ज्योति पुगेमा चेतनाको स्तर बढ्ने र त्यसबाटै राष्ट्रभक्तिको भावना प्रवाहित हुने उनलाई लाग्छ । मानव संसाधन, पानी र पर्यटनको भरपुर उपयोगबाट आर्थिक क्रान्ति हुने उनको ठम्याइ छ । राजनीतिक स्थायित्व भएमा विकासका बाटा बन्द नहुने उनलाई लाग्छ ।
घिमिरे नास्तिक होइनन् । उनको विचारमा धर्म विश्वास हो । समाजको बृहत्तर हित र उपयोगितालाई हेरेर दान गर्छन् उनी । त्यसै गर्नु उपयुक्त हुने उल्लेख गर्छन् । व्यावसायिक सङ्घ संस्थामा दानले 'फेशन'का रूप लिएको उनको अनुभव छ । धार्मिक आस्थालाई 'क्यास' गरेर सामाजिक योगदानको अभियान चलेको टिप्पणी गर्छन् उनी ।
Admin 2011-03-23