शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पूजा परिश्रमको'' - केबी बस्न्यात
कार्यकारी निर्देशक
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड

नक्साल भगवतीबहालस्थित बडेमानको 'बिल्डिङ'को चौथो तलामा रहेको उनको कार्यकक्ष बहुराष्ट्रिय कम्पनीको कार्यालयभन्दा कम लाग्दैन । दुलहीझैँ  सिँगारिएको कार्यकक्षमा उनी हरपल काममा व्यस्त भेटिन्छन्  । कर्मशील कर्मठका लागि उमेर कदापि अवरोध हुँदैन भन्ने दृष्टान्त बनेका छन् उनी । सरकारी सेवामा भएको भए डेढ दशकअघि नै उनले अनिवार्य अवकाश पाइसकेका हुन्थे । ७२ वर्षको उमेरमा पनि  व्यवसायमा सक्रिय भएर लागेका छन् सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी निर्देशक केबी बस्न्यात । निर्जीवन बीमाको क्षेत्रमा कार्यरत मुलुकका १७ ओटा कम्पनीको भीडमा सगरमाथालाई पृथक्रूपमा स्थापित गरेका छन् उनले बितेका १२ वर्षा ।

चौध वर्षअघि ४५ जना प्रवर्द्धकले ३ करोडको पूँजीमा थालेको बस्न्यात नेतृत्वको कम्पनीको हालको चुक्तापूँजी १० करोड पुगेको छ । आगामी ५ वर्षमा त्यसलाई २५ करोड पुर्‍याउने योजनाका साथ काम गरिरहेका छन् उनी । अग्नि, उद्योग र सामाजिक सुरक्षाका क्षेत्रलाई सगरमाथाले अधिक प्राथमिकता दिएको छ ।  अघिल्लो वर्ष बोनस शेयर बाँडेको सगरमाथाले यो साल ११ प्रतिशत लाभांश दिने तयारी गरिरहेको छ । बीमा व्यापारको बजार उत्साहवर्धक भए पनि वातावरण भने अनुकूल नभएको उनको अनुभव छ । बीमाको अधिकाधिक उपयोग गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ काम गरिरहेका उनलाई सरकारले लागू गरेका बीमासम्बन्धी नीति अव्यावहारिक लाग्छ । कृषि, पशुपालन र उद्यमशीलताको विकासबाट नै निर्धन वर्गको उत्थान हुने र स्वरोजगारका अवसर सृजना हुने उनको बुझाइ छ ।

बढ्दो प्रतिस्पर्धाका कारण आक्रामक बजार प्रवर्द्धन एवम् विस्तारलाई अपरिहार्य मान्छन् बस्न्यात । अस्वस्थ प्रतिस्पर्धाले विकृति भित्र्याएको उनको ठम्याइ छ । असत्य र नियमविपरीतका कामबाट कोसौं पर बस्ने सिद्धान्तनिष्ठ उनी स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्छन् । उनको कम्पनीमा १ सय नौ जनाले रोजगारी पाएका छन् । उनीहरूलाई तल्लो तहदेखि नै सामूहिक जिम्मेवारी दिएर काम लगाउने उनको बानी छ । वित्तीय विवरणको प्रस्तुति, लेखापरीक्षण जोखिम व्यवस्थापनलगायत कार्यको प्रगति एवम् विश्लेषण गर्ने उनी आफ्नो भूमिका 'वाचडग' अर्थात् पहरेदारको भएको उल्लेख गर्छन् । बजार र प्रशासनमा विभक्त छ उनको कम्पनी । कर्मचारीलाई उसको कार्यदक्षता र योग्यताका आधारमा जिम्मेवारी दिने गरेका छन् उनले । काम कम, कुरा ज्यादा गर्ने र समयको परवाह नगर्नेहरूसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । नजानेको विषयलाई बुझेको जस्तो गर्ने र वास्तविकता नबुझी प्वाक्क बोल्नेहरू उनको आँखाका कसिङ्गर हुन् । कामलाई पूजा गर्ने उनलाई इलम र उद्यमरहित जीवन निःसार लाग्छ ।  सगरमाथा इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक चङ्की क्षत्रीलाई बस्न्यातको समूहगत कार्यशैली तथा भेदभावरहित व्यवहार प्रशंसनीय लाग्छ । कुशल व्यवस्थापक बस्न्यातको अहस्तक्षेपको नीति र सबैलाई सन्तुष्ट पार्ने सोच सराहनीय भएको बताउँछन् चङ्की । बस्न्यातले संस्थागत संस्कार पल्लवित हुन प्रशस्त प्रयास गरेको उनी उल्लेख गर्छन् ।

चार दशकभन्दा बढी समय बस्नेतले बीमाक्षेत्रमा बिताएका छन् । भारतको प्रसिद्ध बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्समा पनि नेतृत्वदायी तहमा रहेका उनको मुलुकका बीमासम्बन्धी  कैयौं नीतिनिर्माणमा उल्लेख्य योगदान छ । नेपाल परिवार नियोजन सङ्घको सञ्चालक तथा अखिल नेपाल फुटबल सङ्घको व्यवस्थापकका रूपमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाहरूमा समेत नेपालको प्रतिनिधित्व गरेका उनी फुटबलका शोखिन खेलाडी हुन् । जनप्रशासन, कानून र राजनीतिशास्त्रमा उच्च शिक्षा हासिल गरेका उनलाई बीमा संस्था बैङ्कजस्तो सहज ढङ्गले 'मर्जर' हुन्छ भन्ने लाग्दैन । मर्जरलाई राम्रो मान्छन् उनी आधारभूत पूँजी वृद्धिका हिसाबले । तर, त्यो त्यति सजिलो नहुने उनको अनुभव छ । अन्तरराष्ट्रिय तहमा पनि ७५ प्रतिशत मर्जर असफल भएको उनी उल्लेख गर्छन् । मर्जरले समूहगत विभाजन हुने उनको आशङ्का छ ।

सुखपूर्ण जीवन जिउन चाहनेले सधैं सकारात्मक हुनुपर्छ भन्छन् बस्न्यात । सकारात्मक सोच र मानसिकता सफलताको सिँढी भएकाले त्यसबाट नटाढिन युवापुस्तालाई उनको सुझाव छ । मुलुकमा संस्थागत संस्कारको विकास गर्न खोजे पनि निहित स्वार्थका कारण त्यसले गति नलिएको उनको बुझाइ छ ।  पारदर्शिताको अभाव र राजनीतिक दबाबका कारण त्यसले गति नलिएको उनको विश्लेषण छ । राजनीतिक शुद्धीकरणले छिमेकी मुलुक विहारमा आर्थिक उन्नति सम्भव भएको उल्लेख गर्ने उनी त्यहाँबाट नेतृत्ववर्गले सिक्नुपर्नेमा जोड दिन्छन् । दक्ष जनशक्ति विदेश पठाएर विप्रेषण बढाउने र पर्यटनको समुचित विकासबाट विदेशी मुद्रा आर्जन गर्ने उपाय सुझाउन पछि पर्दैनन् उनी । एक दशकमा आर्थिक क्रान्ति हुने उनलाई लाग्छ । त्यसको पूर्वशर्त  हो- राजनीतिक इच्छाशक्ति र इमानदारी ।

दान नगरेको धन काम लाग्दैन भन्ने बस्न्यात सधैं लम्बोदरको आराधना गर्छन् । संसार विश्वासमा अडेको उनको ठम्याइ छ । आपत्विपत्मा जस्तै नास्तिकले पनि ईश्वर पुकार्ने उनलाई लाग्छ । सानातिना बाधा व्यवधानबाट विचलित नभई निरन्तर कर्म गर्दा सफल भइने सफलता सूत्र सुनाउँदै उनी आफूलाई सफल एवम् सन्तुष्ट व्यक्ति मान्छन् ।

Admin 2011-02-21