''पैरवी संस्थागत-व्यावसायिक संस्कृतिको'' - युवराज शर्मा
प्रमुख कार्यकारी अधिकृत
हिमालयन ह्वाइटहाउस इण्टरनेशनल कलेज
सन् १९७२ मा झापाको सालबारी, शनिश्चरेमा जन्मेका उनी अबोध शैशवावस्थामा नै मुग्लान पुगेका हुन् । झापा आन्दोलनका अथक योद्धा हुन् उनका पिता । राजनीतिपीडित परिवारका सन्तान उनी बाध्यतावश भारतको पूर्वोत्तर राज्य असम पुगे । र, त्यहीँबाट माध्यमिक तथा उच्च माध्यमिक शिक्षा पूरा गरे । प्रवासमा रहँदा सुकुम्बासीको भन्दा सबल थिएन उनका मातापिताको अवस्था । कडा परिश्रम र कठोर संघर्ष गर्नुपर्यो उनले पन्ध्रवर्षको प्रवासी जीवनमा । आफ्नो मातृभूमिमा प्रजातन्त्रको उदय भएपछि जनकसँगै उनी पनि फर्किए आफ्नै थातथलोमा । शिशु शिक्षादेखि उच्च माध्यमिक तहसम्मको अध्ययन भारतमा गरेकाले उनको शैक्षिक पृष्ठभूमि अत्यन्त उज्ज्वल थियो । मेहनती पनि कम होइनन् उनी र उत्तिकै मेधावी पनि । विज्ञान सङ्कायमा स्नातक तहको पढाइ पूरा नगर्दै पुतलीसडकको सानो कोठामा झण्डै रू. ५० हजारको लगानीमा अल्फाबिटा इन्षिटच्युट खोलेर 'कोचिङ क्लास'बाट उनले थालेको शैक्षिक विकासको अभियान अनपेक्षित रूपमा फैलिएको छ । आजभन्दा करीब १९ वर्षअघि विज्ञान र गणितका सामान्य शिक्षकको परिचय बनाएका युवराज शर्मा नेपालको शैक्षिकजगत्मा स्थापित नाम भएको छ । काम, काम अनि काम मात्र गर्ने उनको जाँगरले रू. ५० हजारको लगानीलाई १ अर्बको हाराहारीमा पुर्याएको छ- मुलुकको शैक्षिक उन्नयनका आधारभूत संरचनाको विकास एवम् सुधारमा । गर्व र गौरव गर्न लायक छ उनको परिश्रम र सफलताको कथा ।
सानैदेखि केही गर्नैपर्छ भन्ने भावना थियो शर्माको मनमा । असममा भोगेका असह्य पीडा र प्रताडनाले सधैं ऊर्जा दियो उनलाई काम गरिरहन । उनले काम गर्ने क्षमताको विकास उतै गरेका हुन् । उनको भित्री हृदयमा प्रतिशोधको ज्वाला ज्वारभाटाका रूपमा मडारिइरहन्थ्यो कामका निम्ति । हुटहुटी र छटपटी पनि उत्तिकै हुन्थ्यो उनलाई थालेको काम फत्ते नहुन्जेल । इमानदारी र मेहनत उनको व्यवस्थापन मन्त्र हो । दैनिक १० घण्टाभन्दा बढी उनी काम गर्छन् । संघर्ष नगरी सफल भइन्छ भन्ने उनलाई लाग्दैन । सकारात्मक सोचका साथ अघि बढ्न सुझाउँछन् उनी । लक्ष्य निर्धारण गरेर दृढ विश्वासका साथ अघि बढेमा त्यो दुरुह नहुने उनको बुझाइ छ । गणितमा र व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले अष्टे्रलियाको फ्लिर्ण्र्डस विश्वविद्यालयलबाट व्यवस्थापनमा 'प्रोफेशनल डिप्लोमा'को उपाधि लिएका छन् ।
राज्यलाई वार्षिक रू. १ करोड २५ लाखको हाराहारीमा कर तिर्छन् शर्मा । उच्च शिक्षासम्बन्धी स्पष्ट नीति ल्याउन उनको सरकारसँग अनुरोध छ । भारत र चीनका विद्यार्थीलाई नेपालमा ल्याएर पढाउने उनको धोको छ । नेपाललाई शिक्षाको केन्द्रका रूपमा विकास गर्न लागिपरेका छन् उनी । थाइल्याण्डको बैङ्ककस्थित एशियन इन्षिटच्युट अफ टेक्नोलोजी, अमेरिकाको स्र्टार्टफोर्ड युनिभसिटीसँगको सहकार्यमा यहाँ अन्तरराष्ट्रिय स्तरको अध्ययन-अध्यापन गराउने कार्यले शीघ्र मूर्तरूप लिने उनी बताउँछन् । शिक्षामा नयाँ आयाम ल्याउने सोचका साथ ती शिक्षण संस्थासँगको सहकार्यलाई उनले जोड दिएका हुन् । क्षमतावान् प्राविधक जनशक्ति उत्पादन गरेर भारत र चीनका बजारमा पुर्याउने उनको योजना कम महत्त्वाकाङ्क्षी छैन ।
मुलुकका युवा वर्गलाई स्तरीय व्यावसायिक उच्च शिक्षा दिने उद्देश्यले शर्माले हिमालयन ह्वाइटहाउस इण्टरनेशनल कलेज, ह्वाइटहाउस एजुकेशन नेटवर्क, काठमाडौं अल्फाबिटा इन्षिटच्युट, काठमाडौं डनबस्को कलेज सञ्चालन गरेका हुन् । उच्च माध्यमिक शिक्षा सङ्घ (हिसान)का महासचिवसमेत रहेका उनी शिक्षाका नाममा व्यापार गर्नेहरूमाथि कारबाही गर्न नसक्नु सरकारी अक्षमता भन्न हिचकिचाउँदैनन् । तर, उनी आफू गुणस्तरीय शिक्षालाई जोखिममा पारेर कहिल्यै कसैसँग सम्झौता नगर्ने ठोकुवा गर्छन् । विद्यार्थी र अभिभावकसमक्ष व्यक्त गरिएको प्रतिबद्धताअनुसारको सेवासुविधा दिन कञ्जुस्याइँ गर्दैनन् उनी । र, देशका सबै शैक्षिक प्रतिष्ठानले पनि गरेको वाचा पूरा गर्नुपर्छ भन्छन् ।
शर्माका शैक्षिक प्रतिष्ठानमा ५ सय जनाभन्दा बढी काम गर्छन् । योग्यता र क्षमताका आधारमा उनीहरूलाई जिम्मेवारी दिएका छन् उनले । क्षमतावान् कर्मचारीलाई उनले सञ्चालक समितिमा समेत समाहित गरेर उनीहरूलाई उत्कृष्ट कार्य गर्न अभिप्रेरित गर्दै आएका छन् । तालीम दिने र उनीहरूको शीप तथा दक्षता अभिवृद्धिलाई उनले उच्च प्राथमिकता दिएका छन् । काठमाडौं अल्फाबिटा इन्षिटच्युटका प्राज्ञिक विभाग प्रमुख सनप्रिथ गुप्ता शर्माको शान्त स्वभावको सराहना गर्छन् । सबैसँग छलफल गर्ने र विचार सुन्ने शर्माको बानी प्रशंसनीय लाग्छ उनलाई । शर्माको शैक्षिक सञ्जालमा सम्बद्ध सबैले पाउने विचार र अभिव्यक्तिको स्वतन्त्रता अद्वितीय लाग्छ गुप्तालाई ।
ईश उपासना गरे पनि पूजार्चना गर्दैनन् शर्मा । फुर्सद पाउँदा मन्दिर जान्छन् उनी । त्यसो गर्दा मानसिक सन्तुष्टि तथा ऊर्जा प्राप्त हुन्छ उनलाई । संस्थागत एवम् व्यावसायिक संस्कृतिका पैरवीकर्ता नै हुन् उनी । उनका कुनै पनि कार्यालयमा भाइभतिज वा आफन्त छैनन् । आफ्नो मान्छे होइन, योग्य मान्छेलाई अवसर दिने गरेका छन् उनले । संस्थागत उत्तरदायित्वबाट विमुख छैनन् उनी । कैयौं शिक्षकले वृत्तिविकासको अवसर पाएका छन् भने जेहनदार एवम् प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति दिएर उनले बिसन नसकिने गुण लगाएका छन् । उनले सञ्चालन गरेका शैक्षिक प्रतिष्ठानबाट १ सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।
Admin 2011-05-23