शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्रदीपमान वैद्यप्रदीपमान वैद्य
अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, विजयदीप ल्याबरेटरिज्
'आईसीयूमा पुगेको देशको अर्थतन्त्रबारे के कुरा गर्नु ?' संवाद शुरू गर्न नपाउँदै मुलुकको आर्थिक स्थिति चित्रण गर्दै उनले प्रश्नको पेटारो आफै फुकाए । राजनीतिक दलहरूको अहम् र दलीय स्वार्थले पराकाष्ठा नाघेका कारण अर्थव्यवस्था सङ्कटको सङ्घारमा पुगेको उनको विश्लेषण छ । परम्परागत पेशालाई पुरानै र्ढरामा निरन्तरता दिनुभन्दा त्यसैलाई समयसापेक्ष एवम् अत्याधुनिक बनाउनु श्रेयस्कार ठानेका विजयदीप ल्याबरेटरिज्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत प्रदीपमान वैद्य औषधि उत्पादनको क्षेत्रमा नेपाल चाँडै आत्मनिर्भर हुन सक्ने ठोकुवा गर्छन् । 'शान्ति र संविधानको एकहोरो रट लगाउनेहरूले आर्थिक सङ्कटबाट निम्तिने दुष्परिणामको शिकार एक दिन आफ्नै परिवारका सदस्य हुने वास्तविकतालाई बिर्सनु हुँदैन' चरम आर्थिक विचलनको समयमा हुनेखानेमाथि भोकाएकाहरूबाट हुन सक्ने आक्रमणप्रति ठूला तीन दलका नेताहरूलाई उनको खबरदारी छ । वाषिर्क बजेटको अभावमा राजस्व सङ्कलनमा आएको ह्रास र विकास-निर्माणका काममा उत्पन्न अवरोधले आफूमात्र होइन, सारा नेपाली चिन्तित भएको वैद्यको बुझाइ छ । 'अति भएपछि खति निश्चित छ' राजनीतिक नेतृत्वमा पदका निम्ति भएको खिचातानीले देशलाई बर्वादीतर्फात्र डोर्याएकाले नेतागणको पतन अवश्यम्भावी भएको लक्षणा थियो त्यो । राष्ट्र र जनताप्रति प्रतिबद्ध नेता र कर्मचारीको अभावमा आर्थिक गतिविधि शून्यप्रायः भएको उनलाई लाग्छ ।

आर्थिक समृद्धिका निम्ति आवश्यक पर्ने विकासका पूर्वाधारहरूको निर्माण, वैदेशिक लगानी, रोजगारीका अवसरहरूको सृजनाका लागि राजनीतिक स्थायित्वका साथै शान्तिसुरक्षाको स्थिति पनि सुदृढ हुनुपर्ने अभिमत व्यक्त गर्ने वैद्य विदेश भ्रमणजस्ता अनुत्पादक खर्च कटौती गर्नेतर्फ संवेदनशील बन्न सम्बद्ध पक्षलाई सुझाव दिन्छन् । मुलुकको अर्थतन्त्रले धान्न नसक्ने गरी आयात भइरहेको र त्यसलाई समयमा नै नियन्त्रण नगरे भुक्तानी सन्तुलनमा नकारात्मक प्रभाव पर्ने त्रासले उनी सधैँ पिरोलिन्छन् । आन्तरिक उत्पादन बढाउन कृषिक्षेत्रलाई बढावा दिनुपर्ने उनको मत छ । हस्तकला, गलैँचा, तयारी पोशाक निर्यात वृद्धिका लागि अधिक छूट दिएर विदेशी मुद्राको सञ्चिति बढाउनुपर्नेमा उनको सुझाव छ । 'विप्रेषणले मात्र अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न सक्तैन' विदेशमा पसिना चुहाएर स्वदेशको आर्थिक उन्नयनका लागि मरिमेट्ने श्रमिकहरूको सम्झना गर्दै उनी भावुक हुन्छन् ।

वर्षेनि नेपालमा ८ अर्बको औषधि आयात हुने गरेको तथा ४ अर्बको हाराहारीमा हुने आन्तरिक उत्पादनले बजारको माग धानेको जानकारी दिँदै वैद्य विश्वभर प्रचलित 'कण्ट्रयाक्ट म्यानुफ्याक्चरिङ पोलेसी' (ठेकेदारी उत्पादन) अविलम्ब अपनाउनुपर्ने माग गर्छन् । 'नेपाललाई औषधि उत्पादनको केन्द्र बनाउन सकिन्छ' औषधि उत्पादकहरूले लामो समयदेखि सरकारसँग माग गरेको नीतिको अपरिहार्यता र त्यसले मुलुकको बेरोजगारी र लगानीविहीनतालाई अन्त्य गर्ने निष्कर्ष उनको छ । भौगोलिक उपस्थिति, उपयुक्त जलवायु र सस्ता श्रमिकका कारण औषधि उत्पादनमा विदेशी लगानी सजिलै भित्रनेमा उनी विश्वस्त छन् । औषधिमा आत्मनिर्भर बन्न त्यो नीति नभई नहुने उनको मान्यता छ ।

चालीस चिकित्सकको २५ करोडको लगानीमा थालिएको विजयदीप ल्याबरेटरिज्मा १ सयभन्दा बढीले रोजगारी पाएका छन् । विषयवस्तु प्रचुर ज्ञान, रणनीतिक कार्ययोजना, समूहगत कार्यसंस्कार र कम्पनीप्रति सबै कर्मचारीको स्वामित्वबोध वैद्यको व्यवस्थापन मन्त्र हो । 'एकले अर्कालाई सघाउने अनि आपसमा दुःखसुख बाँड्ने बानीले हामीबीच सुमधुर सम्बन्ध र समझदारी छ' कम्पनीमा पारिवारिक वातावरण रहेको र कर्मचारीलाई भाइबन्धुका रूपमा व्यवहार गर्नाले त्यसको परिणाम पनि सुखद रहेको उनको अनुभव छ । ३० करोडको लागतमा विराटनगरमा 'सलाइन' उत्पादन गर्ने कारखाना सञ्चालनको तयारीमा रहेका उनी विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको 'उपयुक्त उत्पादन अभ्यास' पालनामा अडिग छन् । जनस्वास्थ्यसँग सम्बन्धित व्यवसाय भएकाले उनलाईसधै संवेदनशील हुनुपर्छ भन्ने लाग्छ । काम र व्यवसायको चापका कारण पनि उनको अनुहारमा गाम्भीर्य स्पष्ट झल्किन्छ ।

अन्तरराष्ट्रिय समाचारका लागि बीबीसी, सीएनएन र स्थानीय खबर राष्ट्रिय दैनिक तथा टेलिभिजनबाट प्राप्त गर्ने वैद्य स्वास्थ्य र व्यवस्थापनसम्बन्धी पुस्तक खोजीखोजी पढ्छन् । बिहान आँखा खुलेपछि शयनकक्षमा नै चियाको चुस्की चाहने उनी सागसब्जीसहितको साधारण नेपाली खाना रुचाउँछन् । ६ दशकको हाराहारीमा हिँडिरहेका उनको स्वास्थ्य र जीउ ३० वर्षको लक्का जवानको भन्दा कम आकर्षक छैन । मोटर, मोबाइल र ल्यापटप समयअनुसार परिवर्तन गर्ने उनको बानी छ । पाँच वर्षसम्म गाडी नफेर्ने उनी सधैँ सुटमा सजिन्छन् । 'सेलेक्टेड' पार्टीमा  उनी व्यापारका कुरा गर्छन् तर सामाजिक, घरायसी र पारिवारिक भोजभतेरमा व्यापारका कुरा गर्दैनन् । जेसिज, रोटरीजस्ता सामाजिक सङ्घसंस्थासँग सम्बद्ध उनी हरेक वर्ष१५ लाखका औषधि विभिन्न स्वास्थ्यसंस्थालाई बाँडेर संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्छन् । र्साईभक्त उनले मठमन्दिर धाउन जानेका छैनन् । तर, हरेक बिहान पूजापाठ गर्छन्- आत्मसन्तुष्टि र स्वशान्तिका लागि ।