''शीपमा सन्तुष्टि'' - अजय श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
बैङ्क अफ काठमाण्डू बीओके
तडकभडक र बडप्पनबाट बिटुलिएको छैन, उनको व्यक्तित्व । उनलाई शालीन, सरल र स्वाभिमानका प्रतीक एवम् पर्यायभन्दा फरक पर्दैन । गहिरिएर गम्दा गान्धीका गुणले गाँजिएका लाग्छन् उनी । बैङ्क अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसँग संवाद वा साक्षात्कार गर्नेहरू पनि त्यसै भन्छन्- उनको विनयशीलता, मन्द मुस्कानसहितको मृदुवाणी र मनोहारी विचारलाई । झण्डै अढाइ दशक लामो बैङ्किङ 'करिअर' मा पनि उनमा प्रमुख कार्यकारी अधिकृत हुने महत्त्वाकाङ्क्षा पलाएको थिएन । ६ वर्षनायब महाप्रबन्धक भएर हासिल गरेको अनुभवको सदुपयोग गर्न पोहोर मात्र उनले त्यो उपल्लो तहको जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनमा सीईओ होइन, सीप तथा दक्षता विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । आफ्नो मेहनतमाथि विश्वास गर्ने उनले त्यहाँ १५ वर्षकाम गर्दा व्यवस्थापकीय तहमा पदोन्नति पाइसकेका थिए ।
पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका विराटनगरका अजयको विशेषता भनेको हाँसीहाँसी जस्तासुकै चुनौतीको सामना गर्नु हो । योग्यता र परिश्रमको सम्मिश्रणले आजको अवस्थामा पुगेको उनको मान्यता छ । बीओकेलाई सबै किसिमका सेवाग्राहीमाझ सर्वस्वीकार्य बनाउने उनको लक्ष्य छ । जवाफदेहिता र अनुशासन उनको व्यवस्थापन मन्त्र हो । मातहतका ४ सय ५० भन्दाबढी कर्मचारीसँग अनौपचारिक रूपमा प्रस्तुत हुन्छन् उनी । उनीहरूका पीरमर्का पनि बुझिरहन्छन् र सकेको सहयोग गर्छन् अजय । सहकार्यमा विश्वास गर्ने उनलाई भेदभावपूर्ण व्यवहार मन पर्दैन । जस्तोसुकै सोचाइ भएका मान्छेसँग काम गर्न सक्नु उनको विलक्षण विशेषता हो ।
क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज गोयल अजयलाई कामप्रति समर्पित परिणाममुखी व्यक्ति मान्छन् । उनलाई बैङ्किङ क्षेत्रका विशिष्ट व्यक्तिको दर्जाका हकदार मान्ने गोयल लक्षित परिणाम प्राप्तिका निम्ति उनीप्रति विश्वास शतप्रतिशत रहेको बताउँछन् । विषयवस्तुको प्रचुर ज्ञान भएका अजयमा काम फत्ते गरेरै छाड्ने बानीबाट आफू प्रभावित भएको उनी उल्लेख गर्छन् । उनको तर्कपूर्ण प्रस्तुति र व्यावसायिक कार्यशैली गोयललाई गहना लाग्छन् ।
सोर्ह वर्षअघि स्थापना भएको बीओकेलाई बेग्लै पहिचानको बैङ्क बनाउन अजयको सबल नेतृत्वले भूमिका खेलेको छ । गाउँगाउँमा बचत अभियान नै सञ्चालन गरेर उनले ग्रामीण क्षेत्रका बासिन्दाको वित्तीय व्यवहारमा विविधता ल्याउने सत्प्रयास गरेका छन् । बीओकेले १८ अर्ब निक्षेप सङ्कलन गरेको छ भने १७ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । लघुवित्त, जलस्रोत तथा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा बीओकेको कर्जा केन्द्रित छ । चालू आर्थिक वर्षको ६ महीनामा उसले १६ करोड ५० लाख मुनाफा आर्जन गरेको छ । देशभर ३७ शाखामार्फत वित्तीय कारोबार गरिरहेको उक्त बैङ्कले यसै आर्थिक वर्षभित्र गुल्मी र अर्घाखाँचीमा शाखा विस्तार गर्दै छ ।
दुइ बीस नौ वयका अजय आफूलाई सफल बैङ्कर भन्न रुचाउँदैनन् । धेरै गर्न बाँकी रहेको उल्लेख गर्ने उनी शीप सिकेकै स्थानमा अभ्यास गर्न पाएकोमा सन्तुष्ट छन् । विगतको तुलनामा उनले नेतृत्व गरेको बैङ्कको प्रगतिमा २० प्रतिशतले बढोत्तरी भएको छ । कुनै व्यक्तिको प्रेरणाले उनी सीईओ नभएको स्पष्ट गर्छन् । आफू नै दृष्टान्त बन्नुपर्ने उनको मत छ । अनुशासनका पक्का हिमायती उनी सर्वसाधारणलाई 'बाटो होइन पेटीबाट हिँड्नुपर्छ' भनिरहनु नपर्ने बताउँछन् । स्नातक हुनेबित्तिकै उच्च महत्त्वाकाङ्क्षा लिएर फड्को मारिहाल्छु भन्नेतिर नलाग्न युवापुस्तालाई उनको सुझाव छ । संस्थागत सुशासनको संस्कार भर्खर वामे सर्न थालेको उनको बुझाइ छ । आफूलाई नास्तिक र आस्तिकको बीचमा उभ्याउन उपयुक्त मान्ने उनी सामाजिक उत्थानका निम्ति सहायता गर्नुपर्नेमा जोड दिन्छन् । शिक्षा, स्वास्थ्य र पर्यावरण संरक्षणको क्षेत्रमा उनको संस्थाले उल्लेख्य योगदान गरिरहेको छ । दुइ छोरीका पिता उनी भोजभतेरमा विरलै जान्छन् । क्रिकेटका शोखिन उनलाई टेलिभिजनको पर्दा पनि 'पिच'भन्दा कम लाग्दैन- खेलको आनन्द लिन ।