''आफ्नै सोचेर संस्थाको काम'' - उपेन्द्र पौड्याल
प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैङ्क
मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु उनलाई औचित्यहीन लाग्छ । व्यवसाय गर्नेले आशावादी हुनुपर्छ भन्ने उनी राजनीतिक कारणले आर्थिक गतिविधि प्रभावित हुननहुने दृष्टान्त प्रस्तुत गर्छन् । सधै सकारात्मक सोच र आशावादी रहने उनी देशको आर्थिक अवस्था सुध्रिनेमा ढुक्क छन् । एनएमबी बैङ्कका प्रमुृख कार्यकारी अधिकृत उपेन्द्र पौड्याललाई देशको अर्थतन्त्र सुधार्न राजनीतिक नेतृत्व संवेदनशील हुन्छ भन्ने लाग्छ । 'विश्वका कैयौँ द्वन्द्व प्रभावित मुलुकको राजनीतिले आर्थिक क्रियाकलापलाई प्रभावित पारेको छैन' अर्थतन्त्र राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिँदै उनी भन्छन् । तत्काल समाधान गर्नुपर्ने मुद्दालाई राजनीतिकरण गरेर तन्क्याइने प्रवृत्ति समस्याको जड भएको उनको बुझाइ छ । राजनीतिक मतभेदलाई थाँती राखेर सहमतिको बाटोमा हिँड्नु अपरिहार्य भएको बताउने उनी निजी क्षेत्रले अर्थतन्त्रलाई टेवा दिन धैर्यपूर्वक काम गरिरहेको उल्लेख गर्छन् । तराइआन्दोलन होस् वा देशव्यापी आमहडताल सहिष्णु र सहनशील निजी क्षेत्रले कारखाना बन्द नगर्नु धीरताको अनुपम उदाहरण भएको उनको ठम्याइ छ । 'प्रतिशोधको भावना छैन जसले काम गर्न सहज भएको छ' बेलाबेलामा हुने आन्दोलनबाट आजित भए पनि गर्छूभन्नेलाई जनताले अवसर दिएको र दिने गरेको उनको अनुभव छ । झण्डै १२ वर्षम्म मुलुक द्वन्द्वमा जकडिए पनि संविधानसभामा माओवादीलाई सर्वाधिक स्थान प्राप्त हुनु र्'गर्नचाहनेलाई मौका' दिने नेपाली जनताको प्रतिशोधरहित भावना हो । वातावरण बनाइदिँदा नहुने केही छैन भन्ने उनी नेपालका पर्यटकीय क्षेत्रमा लागेको पर्यटकको आइरोलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्छन् । द्वन्द्व, बन्द, हडताल, चक्काजामजस्ता गतिविधि रोकिने वित्तिकै पर्यटन क्षेत्रमा भएको बढोत्तरी उल्लेख्य भएको उनी उल्लेख गर्छन् ।
विगत एक दशकदेखि एनएमबीलाई नेतृत्व दिइरहेका पौड्याल आफ्नो मातहतका कर्मचारीलाई स्वामित्वबोधसहितको निर्णय अधिकार दिन्छन् । सबै कार्य सकारात्मक विचारका साथ गर्ने र सबैलाई त्यसै गर्न उत्प्रेरित गर्ने उनको बानी छ । साङ्गठनिक संरचनाअनुसार उनको कार्यालयमा हरेक साता बजारको उतारचढाव, प्रगति र प्रवृत्तिको समीक्षा हुन्छ । असल कार्य गर्ने कर्मचारीको उनी र्सार्वजनिक रुपमा प्रशंसा गर्न चुक्तैनन् । एघार अर्ब २८ करोड निक्षेप सङ्कलन र ९ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको एनएमबी २ सय ५० जना नेपालीको रोजीरोटी कमाउने स्थान भएको छ । काठमाडौं उपत्यका बाहिर धरान, विराटनगर, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज र वनेपामा शाखा सञ्चालन गरेर र्सवसाधारणलाई बैङ्किङ सेवा प्रवाह गरिरहेको एनएनबीले चालु आर्थिक वर्षभित्र थप ५ वटा शाखा विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । प्रगतिका निम्ति निरन्तर काम गर्न सुझाव दिने उनी बढीभन्दा बढी ग्राहकलाई समेटेर एनएमबीलाई नेपालको बैङ्किङ प्रणालीमा प्रमुख बैङ्कको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेका छन् ।
तीनदशक अघि त्रिभुवन विश्वविद्यालयबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका पौड्यालले सोल्टी होटलबाट जागिरे जीवन थालेका हुन् । केही समय सोल्टीमा काम गरेका उनको बैङ्किङ 'करियर' तत्कालीन ग्रिण्डलेज बैङ्कबाट प्रारम्भ भएको हो । त्यही काम गर्दा बैङ्कको प्रमुख कार्यकारी अधिकृत हुने लक्ष्य निर्धारण गरेका उनले १४ वर्षस्ट्यार्डड चार्टर्ड बैङ्कमा काम गरेपछि लक्ष्य प्राप्त हासिल गरेका हुन् । काठमाडौंको मध्यम वर्गीय परिवारमा जन्मेका उनका 'रोलमोडल' कोही छैनन् । यद्यपि आफ्ना विदेशी हाकिमबाट उनले पर्याप्त प्रेरणा पाएका थिए । बैङ्क तथा वित्तीय सेवासम्बन्धी अन्तरराष्ट्रिय अभ्यास उनीहरूबाट सिकेको उनी सगर्व स्वीकार गर्छन् ।
'कुनै व्यक्ति, संस्था वा परियोजनालाई ऋण दिने निर्णय गर्दा हरेक व्याङकरले त्यो रकम आफ्नै खल्तीको भए पनि दिन्थे -'निर्णय गर्दा दुइ पटक सोचेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्दै पौड्याल भन्छन् । बैङ्क तथा वित्तीय संस्थको विकास भएपनि यस क्षेत्रमा दिन प्रतिदिन दक्ष जनशक्तिको अभाव खट्किएको उनको अनुभव छ । 'बैङ्क स्थापनाको गतिको तुलनामा शीप र दक्ष मानव संशासधनको विकास भएजस्तो लाग्दैन 'वास्तविक व्यावासायिक वर्गको खाँचो औल्याउँदै उनी दोहोर्याउँछन् । बैङ्क तथा वित्तीय संस्थाले साझेदार तथा प्रवर्द्धकको रकम जोगाउने भन्दा पनि निक्षेपकर्ताहरूको रकम चलाइरहेका छौं भन्ने ठानेर बुद्धिमत्तापूर्ण ढङ्गले काम गर्नुपर्नेमा उनको जोड छ ।
आधुनिक शिक्षा पद्धति, व्यवस्थापन विषयको विशिष्टिकृत अध्ययन, शिक्षा र अनुभवले खारिदै गएको नयाँपुस्ताले संस्थागत संस्कारको विकासमा टेवा पुर्याएको बताउने पौड्याल त्यसमा सर्वाधिक योगदान बैङ्क तथा वित्तीय संस्थाले गरेको दाबी गर्छन् । सबै व्यापारिक प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने उनी एनएमबीले नियमित रूपमा अनाथाश्रमलाई आर्थिक सहयोग गर्दै आएको छ ।