व्यावसायिक कृषि
डा. त्रिलोक्यनाथ श्रेष्ठ
बागवानी विशेषज्ञ
सिन्धुलीमा जुनार, धनकुटामा सुन्तला र पाँचखालमा तरकारीको व्यावसायिक खेती गर्न सिकाउने डा. त्रिलोक्यनाथ श्रेष्ठलाई बागवानीका अग्रज ज्ञाता मानिन्छ । किसानहरूलाई व्यावसायिक खेती गर्न सिकाएर आत्मनिर्भरताको बाटो देखाउने कामलाई श्रेष्ठले निरन्तर अँगालिरहे । विज्ञान र प्रविधिले यस क्षेत्रमा ल्याएका नयाँ प्रयोगलाई नेपाली कृषिमा जोड्छन् उनी । समष्टिमा किसानहरूका गुरु हुन् श्रेष्ठ । बेमौसमी तरकारी उत्पादन प्रविधिमा होस् वा फलफूलको व्यावसायिक विकासमा उनको योगदानलाई कसैले पनि कम आँक्न सक्दैन ।
सरकारी सेवाका ३ दशक र त्यसपछिको समयमा समेत श्रेष्ठले आफ्नो सम्पूर्ण ध्यान गाउँका किसानहरूको आर्थिक उन्नतिमा लगाए । उमेरले ७० पुगिसकेका छन्, तर पनि उनको जोश, जाँगर, मेहनत र सक्रियता कुनै युवाको भन्दा कम छैन । 'अहिले पनि चुप लागेर बस्नै मन लाग्दैन', उनी भन्छन् । बोक्रा छोडाएर खाने फलफूलको उत्पादन गर्ने कुरामा उनको विशेष दखल छ । भारतको तमिलनाडु कृषि विश्वविद्यालयबाट 'रासायनिक औषधिबाट फूल फुलाउने' विषयमा विद्यावारिधि गरेका श्रेष्ठ कुनै बेला सुन्तला विशेषज्ञका रूपमा चिनिन्थे । तर, अहिले उनको परिचय त्यतिमा मात्रै सीमित छैन । पर्याप्त स्रोतसाधन भएर पनि उपयोग गर्ने नजान्ने नेपाली किसानहरूलाई तरकारीखेती गर्न सिकाउने कामको अगुवाइ गरे श्रेष्ठले । सरकारी जागीरको शिलशिलामा धनकुटामा रहँदा खोकुगाउँका किसानलाई सुन्तलाको व्यावसायिक खेती गर्ने तरीका उनैले सिकाएका हुन् । नेपालभर प्रख्यात धनकुटाको सुन्तला अहिले भारतमा समेत निर्यात हुन्छ । 'घरमा पालेका बँगुरको मल हालेर भिराला पाखाहरूमा सुन्तलाखेती गर्न सिकाउने मै हुँ', उनले आफ्नो कामप्रति गर्व गर्दै भने । मध्यवर्ती पहाडी क्षेत्रका इलाम, भोजपुर, सङ्खुवासभा, सिन्धुली, रामेछाप, धादिङ, गोरखालगायतका जिल्लामा सुन्तला, जुनार, कागती, भोगटेजस्ता फलफूलको व्यावसायिक उत्पादनको श्रेय उनैलाई जान्छ ।
कृषि विभागअन्तर्गतको बागवानी केन्द्रका निर्देशकसमेत रहिसकेका श्रेष्ठले २०५४ सालमा सरकारी जागीरबाट अवकाश पाए । त्यसपछि उनको ध्यान कृषकहरूलाई बेमौसमी तरकारी उत्पादन गर्न सिकाउनेमा केन्द्रित भयो । सिग्रेड नामक संस्थामा रहेर उनले नेपालका थुप्रै गाउँबस्तीमा तरकारीको व्यावसायिक खेती गर्ने तरीका सिकाए । पेटको जोहो गर्न मुग्लान पस्ने सुर्खेतका गाउँलेलाई उनले भेरी नदीको तिरमा तरकारीखेती गर्न सिकाए । छिञ्चु-जाजरकोट सडकखण्ड आसपासका किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित मात्रै गरेनन् उनले गुणस्तरीय बिउबिजन पनि उपलब्ध गराए । अहिले त्यहाँका किसानहरूलाई हिँउदमा 'मुग्लान' झर्नु पर्दैन । किनभने तरकारीखेतीले उनीहरूको जीवन समृद्ध बनिसकेको छ । नेपालगञ्जमा अहिले त्यहाँको तरकारीको अत्यधिक माग छ । त्यसको केही समयपछि श्रेष्ठले काभ्रेको पाँचखालमा बेमौसमी तरकारी उत्पादन गर्न सिकाए । महिलाहरूको आयआर्जन कार्यक्रमअन्तर्गत तरकारीखेतीमा त्यहाँका किसानलाई सुसूचित गर्ने काम गरे । अहिले राजधानी भित्रने ४० प्रतिशत तरकारी पाँचखालबाटै आउँछ । आफूले आजसम्म गरेको काममध्ये सबैभन्दा सन्तुष्टि मिल्ने काम पाँचखालको तरकारीखेती रहेको श्रेष्ठ बताउँछन् ।
प्रविधिको प्रयोग गरेर कृषिलाई व्यवसायीकरण गर्ने कामको अगुवाइ गर्नमा नै जीवनको महत्त्वपूर्ण समय बितेको छ । अहिले अर्ग्यानिक खेतीको विकासका लागि धेरै परिचर्चा भए पनि राज्यले किसानहरूलाई स्रोतसाधन उपलब्ध गराउन नसक्ने दाबी गर्छन् श्रेष्ठ । राज्यले कृषिमा ३० प्रतिशत लगानी गरेको दाबी गरे पनि यथार्थमा १० प्रतिशत मात्रै देखिन्छ । मुलुकभरिका प्रत्येक किसानलाई ४ रोपनी जग्गामा मात्रै खेती गर्ने सुझाव दिँदै भन्छन्, 'एक सिजनमा ३ देखि ४ लाख रुपैयाँ कमाउने कुराको ग्यारेण्टी म दिन सक्छु ।' अहिले उनी 'टिस्यु कल्चर' प्रविधिबाट केराको बोट उत्पादन गर्ने कार्यमा जुटेका छन् । राज्यले उचित वातावरण मिलाइदियो भने पाँचखाल र सुर्खेतमा तरकारीखेती र रूपन्देहीदेखि कञ्चनपुरसम्म व्यावसायिक केराखेतीका लागि काम गर्ने उनको चाहना छ । समूहकार्यमा विश्वास राख्ने उनी अरबियन मुलुकमा तरकारी र फलफूल निर्यात गर्न सके नेपाली कृषकहरूले राम्रो आर्थिक उपार्जन गर्न सक्ने बताउँछन् । धर्ममा भन्दा कर्ममा विश्वास राख्ने श्रेष्ठ फुसदमा पाँचखालको तरकारीखेतीमा गई रमाउँछन् ।
Admin 2011-06-24