''सेवामुखी व्यापार'' - विजयकुमार सरावगी
प्रबन्ध निर्देशक, सरावगी ग्रूप तथा
अध्यक्ष, वीरगञ्ज फाइनान्स एवम् एशियन लाइफ इन्स्योरेन्स
अत्याधुनिक प्रविधिसँग हातेमालो गर्न रुचाउने उनी आफ्नो सेवामुखी व्यापारको गुणात्मक विस्तार गर्न चाहन्छन् । वीरशमशेरले भारतबाट नेपालमा व्यापार गर्न भनेर ल्याएका सरावगी परिवारका विजयकुमार सरावगी चौथो पुस्ताका हुन् । हजुरबुबा र बुबाको पालामा दाल, तेल, साबुन, काठ र कार्पेटको व्यवसाय गर्दागर्दै हुर्केको सो परिवार अहिले सेवामुखी व्यापारमा केन्द्रित छ । उनको प्रमुख व्यापार खाद्यपदार्थमा प्रयोग हुने केमिकल आयात गरी विक्रीवितरण गर्ने हो । उनको कम्पनीले करीब ३ सय ५० ओटा केमिकलको आयात गरेर विभिन्न खाद्य उद्योग तथा कम्पनीलाई विक्रीवितरण गर्दछ । सरावगी ग्रूपअन्तर्गत रहेका आठओटा कम्पनीका प्रबन्ध निर्देशक रहेका उनी अन्य २० भन्दा बढी संस्थामा आबद्ध छन् ।
तीक्ष्ण बुद्धिका विजयले सानै उमेरमा उद्योग व्यापारको काम शुरू गरेका हुन् । विगत २५ वर्षदेखि आयात निर्यातको व्यापार गर्दै आएका उनी अहिले ४४ वर्षका भए । भविष्यमा जलस्रोतमा लगानी गरेर देशमा रहेको अँध्यारोलाई मेटाउन चाहन्छन् उनी ।
यस्तै, नेपालमा बजार मागअनुसार दूध उत्पादन र आपूर्ति हुन नसकेकाले डेरी उद्योग खोल्ने योजनामा छन् उनी । स्पष्टवक्ता सरावगी अरूले बताउन नचाहने आफ्नो व्यवसायको लगानी र वार्षिक रिर्टन पनि खुलस्त बताउँछन् । सरावगीको एउटै गुनासो छ- सरकारले उद्योगी व्यापारीको योगदानको कदर गरेन । सबैभन्दा बढी उद्योग कलकारखाना रहेको बारा-पर्साकरिडोरलाई सरकारले बेवास्ता गरेको बताउने उनी जन्मभूमि तथा आर्थिक नगरी वीरगञ्जलाई औद्योगिक राजधानी बनाउनुपर्नेमा जोड दिन्छन् ।
सरावगी ग्रूपअन्तर्गत कञ्चन प्लाष्टिक उद्योग, सिण्डिकेट हाउजिङ डेभलपस, त्रिशूल एन्सिलरी प्रोडक्डस् एण्ड प्याकेजिङ र त्रिशूल ट्रेड लिङ्कलगायतका फर्म सञ्चालनमा छन् । वीरगञ्ज फाइनान्स, एशियन लाइफ इन्स्योरेन्स कम्पनीका पनि कार्यकारी अध्यक्ष सरावगी जे व्यापार गरे पनि त्यसले रियल आउटपुट दिनुपर्ने विचार राख्छन् । उनी भन्छन्, सङ्ख्यात्मकभन्दा गुणात्मक सेवामा आधारित व्यापार गरेर देशको आर्थिक प्रगतिमा टेवा दिने चाहना छ । उनले वीरगञ्जको ठाकुरराम क्याम्पसबाट बीकम र भारतबाट चार्टर्ड एकाउण्टेण्ट पढेका हुन् ।
दुई छोरी र एक छोराका पिता सरावगी नारीशिक्षामा जोड दिन्छन् । छोरालाई भन्दा छोरीलाई शिक्षित बनाउनुपर्ने विचार राख्छन् उनी । वीरगञ्जकै एउटा सरकारी विद्यालय नृसिंह माविको व्यवस्थापन समिति अध्यक्ष भएका बेला त्यसको कायापलट नै गरिदिएका छन् उनले । त्यो सरकारी स्कूलमा ४० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका सरावगीले छात्राहरूको सङ्ख्या बढाउन उनीहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाएका छन् । फलस्वरूप अहिले त्यस विद्यालयमा अध्ययन गरिहेका १२ सय विद्यार्थीमा छात्राहरूको सङ्ख्या आधाभन्दा बढी छ । सरावगी आफूले गरेको दानदातव्यको चर्चा गर्न चाहँदैनन् । अहिले सो स्कूलका सल्लाहकार मात्र रहेका उनी वार्षिक रूपमा स्कूललाई आर्थिक सहयोग गर्न पाउँदा सन्तुष्ट छन् ।
शास्त्रीय सङ्गीतमा विशेष रुचि भएका उनी अनौपचारिक पहिरन मन पराउँछन् । उनी किताब पढ्न पनि रुचि राख्छन् । आधुनिक प्रविधिलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने विचार राख्ने उनी कम्प्युटर सफ्टवेयरको विकास र व्यवसाय पनि गर्दछन् । सातओटा देश घुमिसकेका सरावगी जहाँ गए पनि आफ्नो थातथलोलाई बिसन नहुने बताउँछन् । पर्यटन र कृषिको विकासबाट मात्र देशको उन्नति हुने मान्यता उनको छ ।
Admin 2011-03-24