''एकैसाथ साहित्य, समाजसेवा र व्यापार'' - वसन्तकुमार चौधरी
प्रबन्ध निर्देशक, चौधरी ग्रूप
उनले लक्ष्मी र सरस्वतीको आशिर्वाद पाएका छन् । दुवै देवीको सेवामा समर्पित उनलाई सुखदुःखको पनि राम्रो ज्ञान छ । अथाह वैभावशाली भए पनि त्यसको रत्तीभर अभिमान छैन उनमा । मुलुकको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रूपका प्रबन्ध निर्देशक वसन्तकुमार चौधरीको जीवनचर्या आम नेपालीको भन्दा खासै पृथक् छैन । विनयशीलता र मृदुवाणी उनका गहना हुन् । बेलाबेलामा प्रकट हुने उनको मन्दमुस्कानले जोकोही मन्त्रमुग्ध हुन्छन् । आफूलाई मध्यम विद्यार्थीको कोटिमा राख्ने वसन्तले सरकारी विद्यालय पढेका हुन् । त्यसबेला पिता लुनकरणदासले दिएको २५ पैसा खाजा खर्च अहिले पनि झल्झली सम्झन्छन् उनी । ४५ वर्षघिको उनको स्मरण सुन्दा जोसुकै अचम्मित हुन्छन् । सानोठिमी स्कूल जान त्यसबेला वसन्तपुरबाट बस चढ्थे विनोद र वसन्त । बसबिसौनीमा एक दिन घाइते गाईलाई देखेर मन थाम्न नसकेका अतिकोमल हृदयका बालक वसन्तले त्यसको उद्धार र उपचारमा विद्यालयको शुल्क तिर्न लिएको पैसा खर्चेका थिए । गोपोपचारमा खर्चेको रकमबारे धेरैपछि पिताजीले थाहा पाउँदा गालीको स्थानमा स्याबासी पाएका थिए उनले ।
पब्लिक युथ क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका छन् वसन्तले । जीवनमा कैयौं आरोहअवरोह पार गरेका उनले १६ वर्षो हुँदा पारिवारिक व्यापार अरुण इम्पोरियमबाट उद्यमशीलता र व्यावसायिकता सिकेका हुन् । 'काउण्टरको पछाडि उभिएर ग्राहकको प्रतीक्षा र मालसामान प्याक गर्थे' जीवनका ५३औं हिउँदझरी भोगेका उनी इमानदारीपूर्वक आफ्नो विगत सुनाउँछन् । विज्ञापन एजेन्सी, रेकर्डिङ स्टुडियो र पत्रिका प्रकाशनमा पनि हात हालेका उनले तत्कालीन परिस्थितिका कारण तिनलाई निरन्तरता दिन सकेनन् । आफ्नै पितालाई प्रेरणाका पुञ्ज मान्ने उनी मानवता, इमान र अनुशासन उनबाटै सिकेकोमा गर्व गर्छन् । पितामह भूरामलले करीब डेढ शताब्दीअघि थालेको सानो कपडाको पसलले बहुराष्ट्रिय कम्पनीको रूप लिएको छ चौथो पुस्तासम्म आइपुग्दा । चौधरी ग्रूप सीजीका नामले समेत प्रसिद्ध छ, देशभित्र र बाहिर । कृषिजन्य उद्योग, अटोमोबाइल, स्वास्थ्य, शिक्षा, इलेक्ट्रोनिक्स, बैङ्क तथा वित्तीय सेवा, शिक्षण अस्पताल, ऊर्जा, रियल इस्टेटलगायत ५० भन्दा बढी व्यवसाय सञ्चालित छन्- सीजीअन्तर्गत । चार पुस्तासम्मको अथक मेहनत, इमानदारी, विश्वास र व्यावसायिक संस्कारले यसलाई टाकुरातिर उकालेको हो ।
कला, साहित्य, संस्कृति र समाजसेवामा गहिरो अभिरुचि भएका उद्यमी वसन्त आफूलाई व्यवसायीभन्दा साहित्यकार र समाजसेवी भन्न रुचाउँछन् । विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित उनका लेखहरूको सँगालो 'संवाद' र मायापिरतीका गीतहरू 'द रिफ्लेक्सन अफ लभ'ले यसको पुष्टि गर्छ । चौथो गीति एल्बम र्सार्वजनिक गर्ने तरखरमा छन् गीतकार वसन्त । गीतसङ्गीतरहित जीवन उनका लागि पानीविनाको माछाको जस्तै हो । नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने उद्देश्यले उनकै सक्रियतामा लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य कलामन्दिर स्थापना भएको हो ।
सीजीअन्तर्गतका प्रतिष्ठानलाई विविधीकरण पनि गरिएको छ- सेवाको क्षेत्रमा अधिक ध्यान दिन्छन् वसन्त । नेपालको प्रगति पनि यसैबाट हुने उनको ठोकुवा छ । भारतको बहुचर्चित मेदान्त अस्पतालसँगको सहकार्यमा ललितपुरको लुभुमा शिक्षणअस्पताल निर्माणको कार्य शुरू भइसकेको छ । एक वर्षभित्र परियोजना पूरा गर्ने लक्ष्यका साथ अहोरात्र खटिरहेका छन् उनी । ईश्वरसँग डराउने उनको व्यवस्थापन मन्त्र इमानदारी हो । चुनौतीलाई जीवनका अंश मान्नुपर्ने उनको मान्यता छ । बेइमानपूर्ण व्यापार बालुवाको घर भन्ने उनी सुपथ कारोबार गर्न सुझाउँछन् । स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना र त्यसलाई व्यवहारमा अनुवाद गर्ने दृढ इच्छाशक्ति तथा आत्मविश्वासबाट व्यवसाय र व्यवसायी दुवै सफल हुने उनको ठम्याइ छ ।
अत्यन्त सरल र सरस छन् वसन्त । उनलाई चिन्नेहरू पनि यसै भन्छन् । उनलाई फोस्रो आडम्बर मन पर्दैन । समाजसेवा र साहित्य साधनाका काम गर्दा उनलाई असीम आनन्द प्राप्ति हुन्छ । व्यक्तिगत काम कार्यालय नपुर्याउने र कार्यालयको काम घरमा नगर्ने उनको अनौठो बानी छ । सेवानिवृत्त सैनिक सचिव विवेक शाहको 'मैले देखेको दरबार' पढिरहेका छन् । त्यसलाई आत्मरति वृत्तान्त मान्छन् उनी । स्वच्छ आलोचनात्मक आफ्ना लेखरचनाबाट सम्बन्धित पात्रहरू चिढिएकाले छपाइको कामलाई थाँती राखे पनि लेख्न छाडेका छैनन् उनले । मनमा आएका भावनालाई लिपिबद्ध गर्न चुक्तैनन् उनी । आफ्नो कामको मूल्याङ्कन आफै गर्नुपर्छ भन्ने उनी सधैँ सकारात्मक सोचका साथ अघि बढ्न र अरूको अहित हुने काम नगर्न सबैलाई उनको अनुरोध छ ।
नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूतसमेत रहेका वसन्तलाई आर्थिक कूटनीति भाषणमा मात्र सीमित भएको लाग्छ । आर्थिक विकासका निम्ति यो विधा परिणाममुखी भएको उनको बुझाइ छ । 'ग्रीन टी'क्यासाब्लाङ्का र रबाट पुर्याउन उनले पहल पनि गरेका थिए । तर, त्यही गुणस्तरको चियापत्ती वर्षोनि उपलब्ध हुने 'ग्यारेण्टी' नभएपछि नेपालको निर्यात उकास्ने र विदेशी मुद्रा भित्र्याउने उनको चाहना पूरा हुन पाएन । औपचारिक समारोहमा बाहेक वाणिज्यदूतको झण्डा फर्फाउँदै उनी हिँड्दैनन् । भियना अभिसन्धिमा बाँधिएका छन् उनी र अरूले हरपल झण्डाको दुरुपयोग गरेकामा टिप्पणी गर्न पनि रुचाउँदैनन् ।
Admin 2011-02-22