''प्राथमिकता कृषिक्षेत्रमा''
अशोककुमार टेमानी
अध्यक्ष
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ
पैंतालीस वर्षअघि पर्सामा जन्मेका उनको बाल्यकाल पनि त्यहीँ बित्यो । आफूलाई किसानको छोरो भन्न रुचाउने उनले मुलुकको प्रगति कृषिको विकासमा देखेका छन् । आधुनिक कृषि प्रणालीले आर्थिक क्षेत्रको उत्थानमा मनग्गे भरथेग गर्ने भएकाले त्यसलाई उच्च प्राथमिकता दिनुपर्ने उनको अभिमत छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार टेमानीको एकमात्र चाहना छ- कृषि विकासको माध्यमबाट पर्सालाई रोजगारीयुक्त जिल्लामा रूपान्तरण गर्ने । किसानलाई उन्नत बीउबिजनका साथै प्रविधिसम्बन्धी प्रशिक्षण दिएर बेमौसमी तथा नगदेबाली लगाउन प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।
पर्साको हरपतगञ्ज गाविसमा खेतबारी भएका टेमानीको व्यावसायिक जीवन उनका बुबाले लोहारपट्टीमा खोलेको शृङ्गारसामग्रीको पसलबाट प्रारम्भ भएको हो । पसलसँगै केही वस्तुको स्थानीय एजेण्ट रहेका उनले अहिले 'यश इण्टरनेशनल’ नामक कम्पनी सञ्चालन गरेका छन् । त्यसले औद्योगिक 'केमिकल'को कारोबार गर्छ ।
टेमानीले सञ्चालन गरेको उद्योगमा १ सयभन्दा बढीले रोजगारी पाएका छन् । मातहतका कर्मचारीसँग मित्रवत् व्यवहार गरेर काम लिन खप्पिस उनी विकेन्द्रित कार्यप्रणालीमा विश्वास गर्छन् । कर्मचारीबाट उत्कृष्ट सेवा प्राप्त गर्न घरेलु र स्नेहपूर्ण वातावरण उपयोगी हुने उनलाई लाग्छ । गाली गर्दैनन् उनी कर्मचारीलाई, बरु नजानेकालाई सिकाउने गर्छन् । जापानमा व्यवस्थापनसमम्बन्धी तालीम लिएका उनले समूहगत काम गर्ने तथा कर्मचारीमा भ्रातृत्वको भावना विकास गरेका छन् । चरम राजनीतिक अस्थिरताले अन्योल बढाएको बताउने उनी आर्थिक क्षेत्र राजनीतिबाट मुक्त हुनुपर्ने बताउँछन् । मुलुकको अर्थतन्त्रलाई उँधो लाग्नबाट जोगाउन त्यसो गर्नु अपरिहार्य भएको उनको बुझाइ छ । अर्थव्यवस्थालाई उकास्न, उजिल्याउन र उन्नत पार्न राजनीतिक जगत्ले आर्थिक क्षेत्रलाई सहयोग र सुरक्षा गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
अङ्ग्रेजीमा पोख्त जनशक्ति विदेश पलायन भएकाले उनीहरूलाई स्वदेशमा नै रहने वातावरण बनाउन सबै प्रकारका प्राविधिक शिक्षा नेपाली भाषामा दिनु श्रेयस्कर हुने टेमानीको बुझाइ छ । राष्ट्रियता भनेपछि हुरुक्क हुने उनी देशको विकासमा आफ्नो उन्नति देख्छन् र आफ्नो भूमिमा परिश्रम गर्न युवा जमातलाई प्रेरित गर्छन् । राजस्व चोरी गर्नेलाई अपराधीको संज्ञा दिने उनी राष्ट्रद्रोहीले मात्र त्यस्तो कुकर्म गर्छ भन्छन् । इमानदारीपूर्वक शतप्रतिशत राजस्व तिर्नुलाई राष्ट्रभक्ति मान्छन् उनी । उद्योग-व्यापार क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धा, बैङ्कको चर्को ब्याज अनि निरन्तरको बन्दहडताल र लोडशेडिङले व्यवसायी हतोत्साही भएको उनको अनुभव छ ।
वीरगञ्ज-पथलैया करिडोरलाई प्रमुख औद्योगिक करिडोरका रूपमा विस्तार गर्न लागिपरेका छन् टेमानी । उद्योगलाई आवश्यक पर्ने दक्ष मानव संसाधन उत्पादनका निम्ति प्रशिक्षण केन्द्रको स्थापनाको तयारीमा जुटेका छन् उनी । करिडोर विस्तार र प्रशिक्षण केन्द्र स्थापनाको लक्ष्य आफ्नो कार्यकालमा पूरा गरेरै छाड्नेमा उनी विश्वस्त छन् । टेमानी आफ्नै पितालाई आदर्शपुरुष मान्छन् । मार्शल आर्टस्का विख्यात व्यक्ति ब्रुस लीबाट प्रभावित टेमानी करातेका 'सेकेण्ड डन' हुन्, । नेपालको प्रतिनिधित्व गर्दै उनले २०४२ सालमा सिङ्गापुरमा आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए । पोखरामा भएको राष्ट्रिय खेलकुदमा पनि उनी आकर्षणको केन्द्र बनेका थिए टेमानीलाई नयाँ ठाउँ घुम्न, त्यहाँका मान्छे भेट्न र उनीहरूको संस्कार र संस्कृतिबारे जान्न असाध्यै मन लाग्छ । गीतसङ्गीत सुन्नमा रुचि भएका टेमानीले अहिलेसम्म १० ओटा देश भ्रमण गरिसकेका छन् । सङ्घको अध्यक्ष भएपछि दोहोरो जिम्मेवारी कारण परिवारलाई समय दिन कठिनाई भएको छ उनलाई । नास्तिक होइनन् उनी ।
कहिलेकाहीँ व्रत पनि बस्छन् । नवरात्रमा भने उनको व्रत सधैं हुन्छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्नुलाई उनी समाजप्रतिको कर्तव्य मान्छन् । र, सामाजिक संस्थाहरूसँग आबद्ध भएर सक्दो सहयोग पनि गरिरहेका छन् । तर, त्यसलाई प्रचारको विषय बनाउन चाहँदैनन् उनी ।
Admin 2011-05-24