शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ध्रुवनारायण श्रेष्ठ''उद्देश्य गन्तव्यमा पुर्याउनु'' - ध्रुवनारायण श्रेष्ठ
कार्यकारी अध्यक्ष, लालिमा ट्राभल्स
देशदेशावरको यात्रा गर्नेहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्नु उनको पेशा हो । उनले मागअनुसार यात्रीलाई वास र भोजनको प्रबन्ध पनि गर्ने गरेका छन् - सेवा उपलब्ध गराएबापत न्यूनतम रकम लिएर । लालिमा ट्राभल्सका कार्यकारी अध्यक्ष ध्रुवनारायण श्रेष्ठ 'ट्राभल ट्रेड' लाई व्यवसायका साथै समाजसेवाका रूपमा परिभाषित गर्छन् । अतिकम लाभमा सेवा दिइरहेकाले यसलाई समाजसेवाको श्रेणीमा राख्दा असान्दर्भिक नहुने उनको तर्क छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योगको विकासप्रति सम्बन्धित निकाय संवेदनशील नभएको उनको गुनासो छ । 'आर्थिक क्रान्तिको वाहक पर्यटन क्षेत्रलाई बेवास्ता गर्नु विडम्बना हो' नेपाल वायुसेवा निगमलाई जहाजविहीनस्थितिमा पुर्याइएको वर्तमान अवस्थाप्रति लक्ष्य गर्दै राष्ट्रिय ध्वजावाहकको अपरिहार्यता र महत्व बुझ्न उनी  सम्बद्ध अधिकारीहरूलाई अनुरोध गर्छन् ।

नेपाल वायुसेवा निगमलाई सुदृढ बनाएपछि पर्यटन आगमनमा उल्लेख्य वृद्धि हुने उनको दाबी छ । 'राष्ट्रिय ध्वजावाहक कुन मुलुकमा छैनन् ?' धराशयी हुन लागेको नेपाल वायुसेवा निगमलाई जसरी भए पनि नवजीवन दिन दुइवटा नयाँ जहाज चाहिनेमा उनी जोड दिन्छन् । नेपालमा विमान टिकटमा वार्षिक ७० अर्बको कारोबार हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै हाम्रो ध्वजावाहकले मुस्किलले ३ अर्ब ५० करोड कमाउने गरेको विवरण सुनाउँदा उनलाई आत्मग्लानि हुन्छ । दुइवटा विमान थप्नेबित्तिकै २५ अर्बको हाराहारी व्यापार हुनेमा उनी विश्वस्त छन् । टिकटबाट बाहिरिने विदेशी मुद्रा जोगाउन पनि विमान थप्नुको विकल्प नभएको उनको ठम्याइ छ । दुइ महिनापछि प्रारम्भ हुने नेपाल पर्यटन वर्षलाई सफल बनाउन नयाँ विमान नभई नहुने उनलाई लाग्छ ।

पर्यटक खोज्न यूरोप अमेरिका गइरहनु नपर्ने धारणा व्यक्त गर्ने श्रेष्ठ चीन र भारतका पर्यटकलाई मात्र लक्षित गरी कार्यक्रम केन्द्रित हुनुपर्ने सुझाव दिन्छन् । धार्मिक पर्यटनको प्रशस्त सम्भावना देखेका उनी 'रामजानकी मन्दिरमा विवाह गरेमा दाम्पत्यजीवन सफल हुन्छ' बजार प्रवर्द्धनको मन्त्र सुझाउन उनी पछि पर्दैनन् । ग्रीष्मयाममा गोरखपुर हुँदै नेपाल आउने भारतीयलाई पाल्पा, जोगवनी नाकाबाट भित्रिनेलाई हिले र भेँडेटार अनि काँकडभिट्टा, धूलबारी क्षेत्रबाट नेपाल प्रवेश गर्नेलाई इलाम पुर्याउने 'प्याकेज' बनाउन उनी सहकर्मी व्यवसायीलाई सल्लाह दिन्छन् । भारतीय सीमाक्षेत्रमा त्यस्ता प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकिने उनको बुझाइ छ । थोरै लगानीमा धेरै प्रतिफल प्राप्त गर्न सकिने पर्यटन व्यवसायसँगै जलस्रोत र जडीबुटीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने मान्यता राख्ने उनी राजनीतिक स्थायित्व र सुरक्षाको सुनिश्चितता भएमा वैदेशिक लगानीको ओइरो लाग्नेमा आशावादी छन् ।

चार दशकअघि शङ्कर होटलको 'रिसेप्सनिष्ट'बाट शुरू भएको श्रेष्ठको सेवा त्यही होटलको सर्वोच्च पदमा पुगेर सन् ९० को पूर्वार्द्धमा टुङिगएको हो । व्यक्तिगत रुचि र पर्यटन क्षेत्रमा लामो समय काम गरेका कारण लालिमा ट्राभल्स थालेका उनी आफूलाई 'सेल्फ मेड म्यान' घोषणा गर्छन् । 'जनसर्म्पर्क, इमानदारी र प्रतिष्ठा'  उनका सफलताका सिँढी हुन् । 'सबैलाई आदरका साथ सखावत् व्यवहार, कामप्रति समर्पण एवम् आर्जित सम्मान जोगाउनु मेरो जीवनका उद्देश्य र लक्ष्य हुन्' उनी अगाडि थप्छन् । ज्ञान, वैभव वा कुनै पनि कुराको घमण्ड गर्नु उनका लागि तुच्छ विषय हुन् । घमण्डले मानिसलाई पतनतिर डोर्याउँछ (दार्शनिक पारामा अङ्ग्रेजी आहान 'प्राइड हयाज ए फल' उनी दोहोर्याउँछन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गरेका श्रेष्ठसँग पर्यटन व्यवस्थापनसम्बन्धी इटाली र जर्मनीका विश्वविख्यात शैक्षिक प्रतिष्ठानका प्रमाणपत्र छन् । त्यहाँ सिकेको शीपलाई उनले व्यवहारमा उतारेका छन् । वर्तमान काल व्यावहारिक शिक्षाको युग मान्ने उनका वास्तविक गुरुहरू उनका दुइ दिदी हुन् । आठ वर्षको उमेरमा मातृवात्सल्यबाट वञ्चित उनका दुइ दिदी नै प्रेरणाका स्रोत हुन्- शिक्षा, व्यवसाय जीवन र जगत्का । कर्मचारी र व्यवस्थापन पक्षबीच पारिवारिक सम्बन्ध नभए कुनै पनि कम्पनीको प्रगति नहुने उनको अनुभव छ । कर्मचारी र आफूबीच नङमासुको जस्तो सम्बन्ध रहेको दाबी गर्ने उनी दिएको जिम्मेवारी पूरा गर्ने कार्यसंस्कार विकास गरेको बताउँछन् ।

गरीब तथा जेहेनदार चार विद्यार्थीलाई प्रवेशिकासम्मको पठनपाठनको सम्पूर्ण व्यवस्था गरिदिएको बताउने श्रेष्ठ धार्मिक एवम् आध्यात्मिक गुणले भरिपूर्ण छन् । हरेक बिहान विष्णुसहस्रनाम पाठ गर्ने उनी आफूलाई गणेशका अनन्य भक्त मान्छन् । एक छोराका पिता उनलाई पारिवारिक एवम् सामाजिक जमघटमा व्यवसायका कुरा गर्नु एउटा अवसर हो । अवसरको उपयोग गर्न पछि नपर्ने उनको बानी छ । विश्वका महत्वपूर्ण २८ मुलुक घुमेका उनले अनुकूल भएसम्म जीवनसाथीलाई पनि ती यात्रामा सहयात्री बनाएका छन् । 'कर्म गर फलको आश नगर' गीता ज्ञान बाँडेर उनले शैलीसंवादलाई बिट मार्ने सङ्केत गर्दै निरन्तर बजिरहेका घुम्ती र स्थिर टेलिफोनतर्फआफ्ना हात बढाए ।