''उमेरभन्दा धेरै परिपक्व'' - दीपेन्द्र कार्की
प्रमुख कार्यकारी अधिकृत/महाप्रबन्धक
सिध्दार्थ डेभलपमेण्ट बैङ्क
सम्भवतः बैङ्क तथा वित्तीय क्षेत्र मात्र होइन, मुलुकको सीमित 'कर्पोरेट' दुनियाँमा कान्छा सीईओ हुन् उनी । आफ्नै बुतामा सीईओ भएकोमा गौरव र गर्व छ उनमा । तर, उनले कुनै दिन त्यो पदमा पुग्ने कल्पना गरेका थिएनन् । विज्ञानमा स्नातक गरेको मान्छेले बैङ्कमा पुग्ने सोच पनि बनाओस् कसरी ? दृढ इच्छाशक्ति, आत्मविश्वास र परिश्रमले नै उनलाई आजको उचाइमा पुर्याएको हो । सिध्द्दार्थ डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत/महाप्रबन्धक दीपेन्द्र कार्की पढेर मात्र होइन, परेर पनि धेरै गर्न सकिने दृष्टान्त भएका छन्- देशका सबै उद्यमीमाझ र विशेषगरी युवाजमातमा । जीवनको ३३औं वसन्तमा हिँडिरहेका उनले सिर्द्धार्थको नेतृत्व सम्हालेको पनि ५ वर्षभइसकेको छ ।
सैनिक पृष्ठभूमिका पिताको आफ्नै क्षेत्रमा छोरालाई लगाउने चाहना अधुरै रह्यो मातृवात्सल्यले । यद्यपि दीपेन्द्रले 'सेकेण्ड लेफि्टनेण्ट' छनोटको लिखित परीक्षा उत्तीर्ण गरेका थिए । तर, देश द्वन्द्वमा दबिएकाले आमाको नै जित भयो । सेरलक होम्सका सनसनीपूर्ण जासूसी कथाले उनको किशोर मगजलाई नजानिँदो पाराले आकर्षित गरेको थियो । 'हुने बिरुवाको चिल्लो पात' भनेझैं बाल्यावस्थादेखि नै पढाइमा तीक्ष्ण उनले नवौं श्रेणीमा अध्ययन गर्दा एसएलसीको तयारीमा रहेका अग्रजहरूलाई टयुशन पढाएर टोलछिमेकमा नाम कमाएका थिए । विद्यालयमा उनी कहिल्यै दोस्रो भएनन् । चितवनका रैथाने उनले आईएस्सी गर्नेबित्तिकै स्थानीय बोर्डिङमा १ हजार ५ सय तलबमा शिक्षण शुरू गरेका हुन् । ३ वर्ष माष्टरी गरेपछि त्यस बेला निकै आकर्षक मानिएको 'मेडिकल रिप्रेजेण्टटेटिभ' को भूमिकामा ६ महीना देखिएका उनलाई भरतपुरस्थित नेशनल बायोग्यास कन्सट्रक्सन कम्पनीले चुम्बकले झैँ तान्यो । त्यहाँ प्रशासकीय अधिकृत भएर २ वर्ष बिताउन नपाउँदै संयुक्त लगानीको नेपाल एसबीआई बैङ्कमा पुगेका उनको बैङ्किङ 'करिअर'त्यहीँबाट प्रारम्भ भएको हो । एसबीआईमा सहायक तहबाट काम शुरू गरेका उनले बैङ्क तथा वित्तीय संस्थामा स्थापित हुन एमबीएस गरेरै छाडे । व्यवस्थापनको डिग्री ड्रि्रीसँग अनुभवले खारिएका उनले नदेखेको सपना साकार गरे सन् २००६ मा त्रिवेणी विकास बैङ्कमा प्रमुख कार्यकारी अधिकृत भएर । त्रिवेणीमा ३ महीना उक्त पदमा रहेका उनलाई सोही पदमा सिध्दार्थले लोभ्याएपछि उनको अविराम यात्रा जारी छ ।
क्षेत्रीयस्तरको सिध्दार्थ बैङ्कलाई राष्ट्रियस्तरको बनाउने श्रेय दीपेन्द्रलाई जान्छ । उनी आफ्नो संस्थालाई मुलुकको स्थापित वाणिज्य बैङ्क बनाउन कृतसङ्कल्पित छन् । उनको लक्ष्य र उद्देश्य पनि ८९ ओटा विकास बैङ्का भीडमा सिध्दार्थलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहका हिसाबले एक नम्बर बनाउनेछ । पारदर्शिता, समन्वय र सामूहिक कार्य संस्कार उनको व्यवस्थापन मन्त्र हो । उनी 'टप टु बटम एप्रोच'मा विश्वास गर्छन् । उनको मातहतमा १ सय ८८ कर्मचारी कार्यरत छन् । जिम्मेवारीबोधका साथ काम गर्न उनीहरूलाई उनी उत्प्रेरित गरिरहन्छन् । कामको मर्म र भावना नबुझ्नेसँग व्यवहार गर्न उनलाई हिचकिचाहट हुन्छ । उनी व्यक्तिलाई भन्दा संस्थालाई अधिक प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्छन् । कुनै पनि काम सानो वा ठूलो नहुने उनको बुझाइ छ । उनी आफूलाई सफल भन्न रूचाउँदैनन् तर प्राप्त उपलब्धिप्रति सन्तुष्ट छन् ।
ग्रोमोर मर्चेण्ट बैङ्कर लिमिटेडका अध्यक्ष झपट बोहरा दीपेन्द्रलाई कामप्रति समर्पित व्यक्ति मान्छन् । उनी नियमक निकायसँग समन्वय गर्ने क्षमता भएको र सन्तुलित व्यवहार गर्न माहिर लाग्छन् बोहरालाई । परिणाममुखी युवक सीईओ कार्कीको सफलताबाट उनी अत्यन्त प्रभावित छन् । ६४ करोड ५० लाख चुक्तापूँजी रहेको उनले नेतृत्व गरेको बैङ्कले ४ अर्ब ३ करोड निक्षेप सङ्कलन र ३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । ३ करोड १० लाख २८ हजार खुद मुनाफा गर्न सफल सिध्दार्थ बैङ्कमा ५० हजार ग्राहक छन् । ३२ करोडबराबरको अचल सम्पत्तिसमेत यसले जोडिसकेको छ ।
दीपेन्द्रकी जीवनसाथी मर्चेण्ट बैङ्कमा काम गर्छिन् । उनीहरूका दुइ सन्तान छन् । सधैँ कामको चापले थिचिएका उनले निकट भविष्यमा नै परिवारलाई देशदेशावरको भ्रमण गराउने वाचा गरेका छन् । आफै मोटर चलाउन रुचाउने उनलाई गीतसङ्गीत अति मनपर्छ । युवापुस्तालाई महत्त्वाकाङ्क्षी नहुन सुझाव दिने उनी उद्यमशील हुन र नयाँ नेपाल निर्माणको महायज्ञमा सकेको सघाउन आह्वान गर्छन् ।