शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रतिबद्धता गुणस्तरको '' - ध्रुवकुमार श्रेष्ठ
उपाध्यक्ष, पञ्चकन्या ग्रुप

उनी सञ्चारमाध्यममा अत्यन्त कम आउने थोरै नेपाली व्यवसायीमध्येमा पर्छन् । प्रचारभन्दा काम बढी महत्त्वपूर्ण ठान्छन्, उनी । निर्माण सामग्री उत्पादक मुलुकको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ जटिल परिस्थितिका कारण सिमेण्ट उद्योग स्थापनाका लागि प्रारम्भ भएको प्रक्रियालाई थाँति राख्नुपरेको दुखेसो पोख्छन् । नेपाली जनताको वलिदान र योगदानबाट प्राप्त उपलब्धि संस्थागत हुन नपाउँदै मुलुकमा उत्पन्न राजनीतिक अस्थिरताले आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माणको जनआकाङ्क्षामा कुठाराघात भएको उनको टिप्पणी छ । 'जबसम्म देशमा राजनीतिक स्थायित्वसहित शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुँदैन तबसम्म लगानी गर्ने उचित वातावरण बन्दैन', राजनीतिक अस्थिरता र सुरक्षाको अभावमा उद्योगधन्दामा लगानी गर्न नसकिने उद्घोष गर्दै उनी भन्छन् । श्रम विवाद र बन्दहड्तालले लगानीको वातावरण तहसनहस भएको उल्लेख गर्ने उनलाई नयाँ संविधान जारी भई पाँचवर्षको स्थायी सरकार बनेमा उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकषिर्त गर्न सकिने लाग्छ ।

बढ्दो प्रतिस्पर्धाका कारण उद्योग-व्यवसाय सञ्चालनमा कठिनाई भएको अनुभव सुनाउने श्रेष्ठको कमजोर प्रतिस्पर्धा, पुरातन शैलीमा काम गर्ने प्रवृत्ति, बढ्दो उत्पादन लागत र मागअनुरूप समयमा आफ्ना उत्पादन आपूर्ति गर्न नसक्दा उद्योगहरू धराशायी हुने विश्लेषण छ । त्यस्तो अवस्था उत्पन्न हुन नदिन राजनीतिक नेतृत्वलाई संवेदनशील हुन उनको आग्रह छ । आर्थिक मामिलालाई राजनीतिभन्दा अधिक प्राथमिकता दिनुपर्नेमा जोड दिने उनले दुइ अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले पूँजीगत खर्चमा उल्लेख्य बढोत्तरी गर्नुपर्ने उनको बुझाई छ । 'औद्योगीकरण, आर्थिक रूपान्तरण, पारवहन, सुक्खा बन्दरगाहजस्ता पूर्वाधारको विस्तारलाई सरकारीस्तरमा प्राथमिकता हुनुपर्छ', विकसित मुलुकका सरकारले पनि उद्योगधन्दाहरूलाई संरक्षण गरी तिनलाई प्रोत्साहित गर्दै आएको उदाहरण दिँदै उनी भन्छन् ।

निजी क्षेत्रले व्यवस्थापन गर्ने गरी निर्यातगृह, विशेष आर्थिक क्षेत्रको स्थापना, विद्युत्, पानी, आयकर, निकासी करमा अधिकतम छुटको व्यवस्था भएमा प्रतिकूल अवस्थामा पनि उद्योगहरू नमर्ने श्रेष्ठ तर्क गर्छन् । स्वदेशी उत्पादनको सरकारी निकायले अनिवार्य रूपमा प्रयोग गर्ने, घरेलु तथा साना उद्योग नीति, औद्योगिक नीति, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी ऐन एवम् व्यापारिक नीति तत्काल तर्जुमा गरी तिनको कार्यान्वयन अपरिहार्य भएको उनको ठम्याई छ ।

पिता प्रेमबहादुरले २०२८ सालमा झापाको चारपानेमा पञ्चकन्या राइस मिलबाट थालेको पारिवारिक व्यवसायलाई पञ्चकन्या ग्रुप अफ इण्डष्ट्रिजमा परिणत गर्न उनले कठोर परिश्रम गरेका छन् ।  रगतपसिना गरेर हालको अवस्थामा पुर्‍याइएको पञ्चकन्या समूहअन्तर्गत स्थापना भएका डेढ दर्जनबढी औद्योगिक एवम् व्यापारिक प्रतिष्ठानलाई नेपालको अग्रणी औद्योगिक समूह बनाउन उनले दिनरात मेहनत गर्न छाडेका छैनन् । काममा मात्र विश्वास गर्ने उनलाई 'कर्मवीर'को संज्ञा दिँदा अत्युक्ति हुँदैन । 'गुणस्तरमा सम्झौता नगर्ने' समूहको मूलमन्त्रलाई कार्यान्वयन गर्न उनले सुविधासम्पन्न राजधानीको प्रमुख कार्यालयको साटो भैरहवाको कोटीहवास्थित कारखानालाई रोजेका छन्-समूहको मुख्य उद्योग पञ्चकन्या आइरन इण्डष्ट्रिजलाई नेतृत्व दिएर । उनले समूहका अन्य उद्योगलाई पनि उत्तिकै महत्त्व र प्राथमिकता दिएका छन्, गुणस्तरका निम्ति । आफैं कारखानामा पुगेर काम सुनिश्चित गर्ने उनको कायशैलीले पञ्चकन्या समूहका  उत्पादनले नेपाल गुणस्तर प्रमाण चिह्न र अन्तरराष्ट्रिय गुणस्तर सङ्गठनबाट (आइएसओ) प्रमाणपत्र पाएका छन् । पञ्चकन्याका उत्पादन उपभोक्तामाझ लोकप्रिय हुनुको कारण पनि गुणस्तरीय उत्पादन भएको उनको बुझाई छ ।

देश दर्शनबाट मुलुक र नेपाली दाजुभाइको वास्तविक अवस्थाबारे बुझ्न सहज हुन्छ भन्ने उनले विश्वका प्रमुख मुलुकको भ्रमण गरेका छन् । बाह्य भ्रमणबाट ती राष्ट्रले गरेको आर्थिक विकास, उद्योग व्यवसाय र प्रशासनिक सुशासनको गहिरो ज्ञान र अनुभव हुने उनलाई लाग्छ । सम्भव भएसम्म परिवारका साथ विदेश भ्रमणमा निस्कने उनले हालै जीवनसङ्गिनी किरणका साथ चीनको भ्रमण गरेको बताए ।

युवा वर्गलाई राष्ट्रका गहना भन्ने श्रेष्ठ उनीहरूलाई लक्ष्य निर्धारण गरेर काम गर्न सुझाव दिन्छन् । एकाधपटक असफल हुँदैमा हरेस खान नहुनेमा जोड दिने उनी एकाग्रचित्तले काम गर्नुपर्ने उल्लेख गर्छन् । उनको समूहले १ हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएको छ । राम्रो काम गर्नेलाई उनी साइकल, टीभीजस्ता सामानले पुरस्कृत गर्छन् । कामको मूल्याङ्कन गर्दै कामदारको प्रशस्तीमा लेखिएका प्रमाणपत्र र प्रशंसापत्रले कर्मचारीको मन जित्नु र हौसला बढाउनु उनको कार्यशैलीको अर्को पाटो हो । २०४५ सालमा भैरहवामा पौडी खेल्दा डुबिसकेका उनलाई स्थानीय दुइ बालकले बचाएर नयाँ जीवन दिएको क्षण उनको जिन्दगीको बिर्सन नसक्ने घडी हो । एकछोरा र छोरीका पिता उनलाई ब्याडमिण्टन खेलमा अधिक रुचि छ । धर्मकर्ममा विश्वास गर्ने उनी भ्याएसम्म मन्दिर जान्छन् । मन्दिर जाँदा मनोवैज्ञानिक रूपमा मनलाई शान्ति मिल्ने उनले अनुभूत गरेका छन् । संस्थागत संस्कारको विकासले क्रमशः गति लिन थालेको बताउने उनलाई प्रचारसहितको दानदातव्य सार्थक लाग्दैन । पूर्वी नेपालको रमणीय जिल्ला इलाममा जन्मिएका ध्रुवलाई त्यहाँको सौर्न्दर्यले अझै तान्न छाडेको छैन ।