शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रविधि र  समर्पण'' - श्यामबदन यादव
प्रमुख, कलश डेरी
युवा अवस्था जोश र जाँगरको उमेर हो, जसले नदीको धारलाई पनि सजिलैसित आफूअनुकूल बनाउन सक्छ ।  पर्साधोरे गाविस-४ का ३१ वर्षीय एक युवा आफ्नो गाउँ र त्यहाँका किसानको जीवनस्तर उठाउने प्रयासमा लागेका छन् । एमबीएको पढाइमा आन्त्रप्रेनरशिपबारे अध्ययन गरेका सफ्टवेयर इञ्जिनीयर श्यामबदन यादवले आफ्नो अध्ययनलाई जीवनमा पनि उतारेका छन् ।

पर्साकै पहिलो डेरी उद्योगका रूपमा गत वैशाखमा स्थापित उनको कलश डेरीले अहिले दैनिक १५ सय लिटरभन्दा बढी दूध उत्पादन गरेर त्यहाँका बासिन्दाको आर्थिकस्तर उकास्न मद्दत गरेको छ । आन्त्रप्रेनरशिप अर्थात् त्यस्तो व्यवसाय जसमा वित्तीय जोखिम बढी हुन्छ, तर यही जोखिम मोल्ने काम गरेर आन्त्रप्रेनरशिपको उदाहरण बनेका छन् यादव । कृषि र कृषिजन्य व्यवसायप्रति युवाको आकर्षण  घट्दै गएका बेला निम्बस र भगवती स्टीलजस्तो प्रख्यात कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबको जागीर छाडेर डेरी उद्योग सञ्चालन गरेका हुन् उनले । किसानहरुलाई ३९ ओटा भैंसी पाल्न दिएका उनले १४ ओटा जर्सीलाई पालेका छन् । यिनै गाईभैंसीको र आसपासका गाउँका अन्य किसानबाट सङ्कलित दूध आफ्नो डेरीमा प्रशोधन र प्याकिङ गरेर विक्रीवितरण गर्छन् । उनको उद्योगमा उत्पादित दूध र घ्यूले सदरमुकाम वीरगञ्ज र छिमेकी भारतीय शहर रक्सौलसम्म पनि बजार विस्तार गरेको छ । उनको डेरीले किसानबाट प्रतिलिटर ३२ रुपैयाँमा दूध खरीद गरी त्यसको प्रशोधनपछि ३६ रुपैयाँमा विक्री गर्दै आएको छ । परम्परागत पशुपालनबाट दूधको आपूर्ति असहज भएकाले व्यवस्थित पशुपालन गर्न र डेरीमा लगानी गरेको यादव बताउँछन् ।

अहिलेसम्म विनाधरौटी र निर्ब्याजी रूपमा ३० भन्दा बढी किसानलाई उन्नत जातको भैंसी खरीदका लागि प्रत्येकलाई ४० हजार रुपैयाँ उद्योगका तर्फबाट दिइसकेको उनले बताए ।  'किसानलाई दिएको रकम किसानले उद्योगमा ल्याउने दूधबाटै दैनिकरुपमा कट्टा हुने गरेको छ,' यादवले भने । अरू २ सय किसानलाई यस्ता दुधालु भैंसी खरीद गर्न रकम वितरण गर्ने आफ्नो योजना बनाएका उनी छिट्टै यसलाई सहकारीमा परिणत गर्ने सोचमा छन् । साढे ३ करोड रुपैयाँ लगानी भैसकेको उनको कलश डेरीमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

डेरी उद्योग सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले सीएलडीपी कार्यक्रममार्फत अनुदानस्वरुप उनको डेरीलाई एउटा उपकरण खरीद गर्न रकम उपलब्ध गराएको छ । बाँकी रकम उनले आफ्ना सबै अचल सम्पत्ति विभिन्न सरकारी तथा निजी बैङ्कमा धरौटी राखी जुटाएका हुन् । 'कृषि विकास बैङ्क र कुमारी बैङ्कबाट ऋण लिई केही गर्ने सोचका साथ अघि बढेको छु,' यादव भन्छन्, 'यहाँका किसानको जीवनस्तरमा कुनै सुधार आएको छैन । व्यवस्थित रूपमा कृषि र पशुपालन गर्न नजान्दा पर्साका किसानले लागू औषध खेती गरेका थिए, त्यसैले मैले किसानलाई केही राहत दिन सकिन्छ कि भन्ने सोचले यो व्यवसायमा हात हालेको हुँ ।' किसानको छोरो भएकाले नै अन्य किसानको दु:खलाई सजिलै बुझ्नसकेको बताउने यादव डेरी उद्योग खोलेर किसानहरुलाई व्यवस्थित पशुपालन गर्न सिकाएपछि स्थानीय किसानले गाँजाखेती गर्न छाडेको दाबी गर्छन् ।

आमाबुबाका एक्ला सन्तान उनले डेरी सञ्चालनका लागि आफ्नो घरघडेरी मात्र धितो राखेका छैनन्, अभिभावकको सपनालाई पनि धितो राखेका छन् । बैङ्गलोर विश्वविद्यालयबाट सफ्टवेयर इञ्जिनीयरको पढाइ सकेपछि एमबीए गरेका यादवले कुनै कम्पनीको जागीरभन्दा आफै पौरख गर्ने र अरूलाई पनि त्यसमा सहभागी बनाउने आँट गरेका हुन् ।

अहिले एउटा मात्र चिस्यान केन्द्र रहेको उनको उद्योगले अन्य ३ ठाउँमा पनि चाँडै चिस्यान केन्द्र खोल्ने र बढीभन्दा बढी दूध सङ्कलन गर्ने योजना बनाएको छ । उनको अर्को योजना पनि छ, हस्क (धानको भुस) पावर प्लाण्ट स्थापना गर्ने । खेर जाने धानको भुसबाट बिजुली निकालेर लोडशेडिङले आक्रान्त गाउँमा उज्यालो र्छर्ने उनको योजना साँच्चै नै अनुकरणीय  छ । अहिले उनी गाउँ र आसपासका किसानको घरघर पुगी उनीहरुलाई उन्नत जातको भैंसीपालन गर्न प्रोत्साहित गर्दै त्यसका लागि रकम दिने कामसमेत गरिरहेका छन् ।

'नेपालमा दैनिक १७ लाख लिटर दूध आवश्यक भए पनि अहिले करीब ५ लाख लिटर मात्र उत्पादन भइरहेको छ । त्यो अभावलाई हटाउन दूध क्रान्ति आवश्यक छ,' उनले भने । दूधको अभावलाई पूर्ति र आफ्नो डेरीलाई यस क्षेत्रकै नमूना डेरी बनाउन कम्मर कसेर लागेका छन् उनी ।

Admin  2011-03-25