शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्राथमिकतामा पद्धति'' - पुरुषोत्तम ओझा
सचिव, वाणिज्य तथा आपूर्ति

२०१२ सालमा तनहुँको पाँगेफाँटमा जन्मेका उनले बाल्यावस्थामा नै चण्डीरुद्री मुखाग्र गरेर एकैपटक कक्षा ७ बाट औपचारिक शिक्षा थालेका हुन् । उनी निजामती सेवामा संलग्न भएको तीन दशक नाघिसकेको छ । खानेपानी कार्यालयमा शाखा अधिकृतका रूपमा पहिलो 'पोष्टिङ' मा परेका उनले त्यो पदमा एक दशक बिताए । सात शिशिरसम्म उपसचिव रहेका उनी ११ वर्ष सहसचिव भएपछि निजामती सेवाको उपल्लो तहमा पुगेका हुन् । सबै पदमा परीक्षा पास गरेर पुगेका उनी कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठताका आधारमा सचिव भएका हुन् । विगत ४ वर्षदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका पुरुषोत्तम ओझाले कहिल्यै सरुवाका निम्ति हाकिमहरूसँग हारगुहार गरेनन् । प्राप्त जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गर्नुपर्ने मान्यतामा अडिग उनलाई धादिङमा स्थानीय विकास अधिकारी रहँदा निर्माण गरेको हरित सडक र सामुदायिक विकासका कार्यक्रमले सन्तुष्टि दिएको छ । सहभागितामूलक विधि अपनाएर गरिएको ग्रामीण भेगको उत्थानका कामका साथै भैरहवा, वीरगञ्ज र विराटनगरमा भन्सारको आधुनिकीकरण एवम् सुदृढीकरणमा उनको योगदान उल्लेख्य छ । स्वचालित भन्सार तथ्याङ्क पद्धति अर्थात् आशिकुडा कार्यान्वयन र नेपाल-भारत पारवहन सन्धि नवीकरणमा पनि उनले राष्ट्रलाई गुन लगाएका छन् ।

सहभागितामूलक व्यवस्थापन र सामूहिक कार्यप्रणालीमा ओझा विश्वास गर्छन् । परिणाममुखी नतिजा प्राप्तिका लागि सबैलाई सँगै लिएर जाने तथा उनीहरूमा स्वामित्वबोधको भावना विकास गर्नुपर्ने उनको बुझाइ छ । निर्णय पद्धतिसमेत सहभागितामूलक हुनुपर्नेमा उनको जोड छ । कर्मचारीलाई वित्तीय रूपमा पनि उत्प्रेरित गर्न सकिने उनलाई लाग्छ । सरकारी सेवामा वित्तीय उत्प्रेरणाको पक्ष त्यति सबल नहुने उनको विश्लेषण छ । ग्रेड र पुरस्कार पनि  दिन्छन् उनी कर्मचारीलाई । उचित मानिसलाई उचित तालीम दिने र उसलाई वृत्तिविकासको पर्याप्त अवसर दिनुपर्ने मान्यताप्रति उनी सहमत छन् ।

अनुभव, योग्यता र क्षमताका आधारमा कर्मचारीलाई काम लगाउने उनको बानी छ । सार्वजनिक सेवामा मेधावी मानिसको आकर्षित नहुनुका कारण अवैज्ञानिक कर्मचारी छनोट प्रक्रिया भएको उनको ठम्याइ छ । भूमण्डलीकरणको वर्तमान युगमा अधिक अवसर र सुविधाको खोजी गर्नु मानवीय स्वभाव भएकाले विश्वविद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउने निजामती सेवामा आएनन् भन्नु असान्दर्भिक भएको उनको तर्क छ । निजामती सेवालाई आकर्षक बनाउन समग्र परीक्षाप्रणाली परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । यसको गरिमा बढाउन पनि त्यो आवश्यक भएको उल्लेख गर्छन् उनी । कामचोरहरूसँग व्यवहार गर्न पटक्कै मन लाग्दैन उनलाई । गफमात्र गर्ने इलम नगर्नेहरूबाट सधैँ  टाढा रहन रुचाउँछन् उनी ।
 
निजामती सेवामा राजनीतिक प्रवेश गरेको महसूस गरेका छन् सचिव ओझाले । राजनीतिक सङ्क्रमणका कारण त्यस्तो भएको उनको अनुमान छ । प्रशासन यन्त्र तटस्थ र ट्रेड युनियनहरू कर्मचारीहरूको हकहितका निम्ति केन्द्रित हुनुपर्ने उनलाई लाग्छ । पद्धतिगत ढङ्गले कार्य सञ्चालन गर्ने र त्यसलाई दिगो बनाउनुपर्ने उनको अभिमत छ । निजामती सेवामा धेरै सुधार आवश्यक देख्ने उनी भर्ना प्रक्रिया, उचित मान्छेलाई उचित स्थानमा पदस्थापनाका साथै सरुवाबढुवा प्रणालीलाई व्यवस्थित एवम् पारदर्शी बनाउनुपर्ने बताउँछन् ।

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार नेपाल आयल निगममा निहित हुन नहुनेमा सहमत सचिव ओझा त्यसलाई प्रतिस्पर्धी बनाउन पनि निजीक्षेत्रको आगमन आवश्यक ठान्छन् । निजीक्षेत्रले पेट्रोलियम पदार्थको व्यापार गर्दा सर्वसाधारणले प्रभावकारी सेवा पाउनेमा विश्वस्त छन् उनी । त्यससम्बन्धी विधेयक सदनमा लैजाने तयारी भइरहेको उनको  कथन छ । जनताले सेवा पाए/नपाएको सुनिश्चित गर्ने संयन्त्र आवश्यक भएको बताउने उनलाई भ्रष्टाचारमुक्त प्रशासनका निम्ति आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने लाग्छ । शून्य सहनशीलताको परिपाटी भ्रष्टाचार घटाउन उपयोगी हुने उनको बुझाइ छ ।

चार पुस्तादेखि ओझा बन्धुहरू निजामती सेवामा रहेकाले पुरुषोत्तम पनि अग्रजहरूको पदचिन्ह पहिल्याउँदै सरकारी सेवामा लागेका हुन् । निकासी व्यापार बढाउनु चुनौतीपूर्ण भएको बताउने उनी वस्तुको उत्पादन बढाउन नसकिएकोमा दुःख व्यक्त गर्छन् । आर्थिक विषयलाई अधिक प्राथमिकता दिने सरकारी नीति भए पनि बढ्दो ऊर्जा सङ्कट र कच्चा पदार्थको अनुपलब्धता विकासको बाधक भएको बताउँछन् उनी । सकारात्मक सोचका साथ काम गर्नुपर्छ भन्ने उनी अहिलेको असहज परिस्थितिमा सुधार आउनेमा आशावादी छन् । पूजाआराधनामा विश्वास गर्छन् ओझा । सामाजिक एवम् धार्मिक कार्यमा सकेसम्म दान गर्नुपर्ने उनको मान्यता छ । मुलुकमा संस्थागत संस्कृति र संस्कार क्रमशः बामे सर्न थालेको उनको अनुभव छ ।

Admin 2011-02-23