चाहना नेपाली ब्राण्डको
मोहनकुमार बुढाथोकी
अध्यक्ष
रिचमण्ड डेरी प्रालि
परिश्रम गर्नेलाई कामको खाँचो नहुने उनको अनुभव छ । विसं २०३७ मा उच्च शिक्षाका लागि रामेछापबाट काठमाडौं आउँदा उनीसँग केही गर्ने जाँगरबाहेक साथमा १ सय रुपैयाँ मात्र थियो । काठमाडौंमा जेनतेन गुजारा चलाएर उनले पिपल्स क्याम्पसबाट प्रमाणपत्र तह पूरा गरे । त्यतिबेला फस्टाउँदो क्रममा रहेको पर्यटन क्षेत्रमा उनको आकर्षण बढयो । यही आकर्षण र जागीर गर्नुपर्ने बाध्यताले उनलाई काठमाडौं गेष्ट हाउसमा वेटर बनायो । र, त्यही जागीर उनको व्यावसायिक जीवनको प्रारम्भविन्दु बन्न पुग्यो । होटल व्यवस्थापन तालीम केन्द्रमा लिएको ६ महीनाको प्रशिक्षणले उनलाई यस क्षेत्रमा दृढ विश्वासका साथ अघि बढ्न मद्दत गर्यो । उनी अर्थात् रिचमण्ड डेरीका अध्यक्ष मोहनकुमार बुढाथोकी काठमाडौं गेष्ट हाउसमा जागीर गरेको १ वर्षमै होटल मल्लमा सुपरभाइजरको पदमा काम गर्न पुगे । त्यहाँ १ वर्षबिताएपछि ५ तारे होटल एभरेष्टबाट आएको प्रस्तावलाई अस्वीकार गर्न सकेनन् उनले- वृत्तिविकासका निम्ति । बहुराष्ट्र सञ्जाल भएको एभरेष्ट होटलबाट नै उनी बहराइन, दुबई र हङकङसम्म पुगे ।
बुढाथोकी अहिले करोडौंको व्यवसाय गर्छन् । केही वर्षविदेशमा बसेर कमाएको धन र ज्ञानले उनलाई यसै क्षेत्रमा व्यवसाय गर्न उत्प्रेरित गर्यो । फलस्वरूप उनले २०५२ सालमा साथीसँग मिलेर रोयल एलिनाज बेकरी क्याफेको स्थापना गरे । काठमाडौंमा विकसित हुँदै गएको 'फाष्टफूड कल्चर' र युवावर्गको यसप्रतिको आकर्षण देखेर उनी एकल व्यवसायतर्फआकर्षित भए । विसं २०५६ मा उनले साझेदारीको व्यवसाय छाडेर महाराजगञ्जमा रिचमण्ड बेकरी क्याफेको स्थापना गरे । अहिले उनले क्याफेसँगै रिचमण्ड डेरी उद्योग पनि सञ्चालन गरेका छन् । उनले क्याफे र डेरीमा गरी ५० भन्दा बढी कर्मचारीलाई रोजगारी दिएका छन् । 'मेरो जीवनको सन्तुष्टि नै मैले केहीलाई भए पनि रोजगारी दिन सक्नु हो,’ उनी भन्छन् । कर्मचारी भए पनि उनी दिनको १२ घण्टाभन्दा ज्यादा काम गर्छन् । क्याफे सञ्चालनको लामो अनुभवपछि पनि उनी यसलाई परिमार्जन गरेर अघि बढाउने चिन्तनमा छन् । 'नेपालमा रहेर स्वदेशी र विदेशी ग्राहकलाई पिज्जा, सिजलर र वर्गर पस्के पनि नेपाल भित्रन थालेका बहुराष्ट्रिय 'फाष्टफूड सेण्टर'सँग प्रतिस्पर्धा गरेर विश्वभरका मेनुमा अट्ने नेपाली स्वादको फाष्टफूडको ब्राण्ड विकासमा लाग्नु आवश्यक भएको छ,’ उनी भावी लक्ष्य र योजना सुनाउँछन् । नेपाल फाष्टफूड व्यवसायी सङ्घको महासचिवसमेत रहेका बुढाथोकी हजारौंले फाष्टफूड क्याफेमा रोजगारी पाएको उल्लेख गर्छन् । त्यसैले यो व्यवसायको संरक्षण र प्रवर्द्धनमा लागिरहेको उनी बताउँछन् ।
व्यवसायमा सम्भावनाको निरन्तर खोजी गर्ने बुढाथोकीले पछिल्लो समय डेरी उद्योग स्थापना गरेर आइसक्रीम उत्पादन थालेका हुन् । विगत ३ वर्षदेखि 'रिचमण्ड आइसक्रीम’ले बजारमा आफ्नो उपस्थिति राम्ररी जमाएको छ । स्वदेशमा नै उपलब्ध कच्चा पदार्थबाट बनाउन सकिने भएकाले आइसक्रीम उत्पादन थालेको उनी स्पष्ट गर्छन् । भविष्यमा गाउँगाउँसम्म दुग्ध चिस्यान केन्द्र स्थापना गरेर बजार नपाएको दूधलाई सङ्कलन गर्ने उनको योजना छ । यसबाट किसानलाई राहत र व्यवसायका लागि आवश्यक कच्चा पदार्थको सहज रूपले जोहो हुने उनको ठम्याइ छ ।
पचास वर्षको भइसक्दा पनि २५ वर्षको जवानजस्तो फूर्तिलो देखिने बुढाथोकी यसको रहस्य निरन्तरको परिश्रम र आत्मसन्तुष्टि हो भन्छन् । हरेक दिन बिहान ५ बजे उठेर योग गर्छन् उनी । र, प्रातः भ्रमणमा निस्कन्छन् । हिन्दूधर्ममा अगाध आस्था भएका उनी मुलुकको विकासका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिन्छन् । दुई छोराका पिता बुढाथोकीलाई जीवनमा सफलता पाउन पारिवारिक भूमिका महत्त्वपूर्ण हुने लाग्छ ।
हप्ताको एकदिन परिवारसँग बिताउने बुढाथोकी देशको वर्तमान परिस्थिति नकारात्मक मान्दैनन् । 'हरेक कुरालाई सकारात्मक भएर हेर्ने गरेकाले होला म जस्तोसुकै परिस्थितिमा पनि आशाको किरण देख्छु,' सकारात्मक सोचविचारबाट सत्कर्म र सन्मार्गमा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्दै उनी भन्छन् । उनले रिचमण्ड क्याफे शुरू गर्दा मुलुकमा सङ्कटकाल थियो । मेहनती उनले त्यस्तो प्रतिकूल अवस्थामा पनि सफलता हात पारेरै छाडे ।
रिचमण्ड लिटरेचर बुक शप, नर्थप्वाइण्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सञ्चालकसमेत रहेका उनी आफ्नो जन्मथलोको विकासमा समेत लागिपरेका छन् । यसका लागि उनले त्यहाँ विद्यालय, खानेपानी र बाटोघाटो निर्माणमा निरन्तर सहयोग गरिरहेका छन् । विभिन्न चलचित्र र टेलिशृङ्खलामा अभिनय गरेका बुढाथोकीले थुप्रै कविता लेखेका छन् ।
Admin 2011-05-25