''तालमेल वचन र कर्ममा'' - श्यामसुन्दरलाल कक्षपति
प्रमुख कार्यकारी अधिकृत, नाङ्लो इण्टरनेशनल
सानोतिनो सभासम्मेलन गर्न मिल्नेखालको ठूलो कोठाको शानदार कार्यकक्षमा प्रवेश गर्दा उनको व्यावसायिक वैभव र व्यक्तित्व बुझ्न बेर लाग्दैन । त्यो व्यक्तित्वसँग भनाइ र गराइबीच तालमेल मिलाउने नेपाली उद्यमीको सूचीमा पर्ने नाङ्गलो इण्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दरलाल कक्षपति आफूलाई व्यावहारिक मानिस भन्न रूचाउँछन् ।
'आईएमए प्राक्टिकल म्यान' उनी भन्छन् । असम्भव कुरा बोल्दै नबोल्ने र बोलेको कुरा पूरा गरेर छाड्ने आफ्नो बानी रहेको उनी बताउँछन् । आफ्ना कर्मचारीको वृत्तिविकास र कम्पनीको विस्तारलाई हरपल केन्द्रविन्दुमा राखेर काम गर्ने उनलाई सामूहिक कार्य परम्परामा विश्वास छ । व्यवस्थापनको औपचारिक शिक्षा नलिए पनि एमबीए गरेकाभन्दा कम छैन उनको व्यवस्थापन शैली । उनी 'पढेरभन्दा परेर जानिने' विचारप्रति समहत छन् । आफूलाई अत्यन्त सरलरूपमा प्रस्तुत गर्ने उनले काम गर्दै शीप विकास गरेको मात्र बताएनन् कामप्रति प्रतिबद्ध समूहको सहयोगमा सफलताको शिखरमा सजिलै पुग्न सकिने सूत्र सुनाए । सहकर्मी र कर्मचारीलाई उनीहरूको दक्षताका आधारमा काम लगाउने उनी कर्मचारीको खुशीमा रमाउँछन् । उनका निम्ति 'पैसा, पदोन्नति र प्रशंसा' असल काम गर्ने कर्मचारीको हक हो ।
कामको निरन्तर अनुगमन, समस्या समाधानका लागि तत्काल निर्णय दिने तथा कर्मचारीलाई उत्प्रेरणा र सहयोग गर्ने बानीका कारण श्यामसुन्दर नामअनुरूप सबैलाई सुन्दर लाग्छन् । आवाज र श्रवणशक्ति नभएका ६५ जनालाई रोजगारीको अवसर दिएर उनले भौतिक मात्र होइन, आन्तरिक सौन्दर्यसमेत झल्काएका छन् । बेकरी क्याफे, नाङ्गलो बेकरी, रिभरसाइड रिसोर्ट, शुभतारा स्कूललगायत व्यापारिक प्रतिष्ठान सञ्चालन गरेर उनले झण्डै १ हजार जनालाई रोजगारी दिएका छन् । करोडौँको लगानीमा थालिएका उनका कम्पनीले देशको ढुकुटीमा उल्लेख्य योगदान गरेका छन् । आफ्ना रेष्टुरँ 'सबैका लागि' भएको दाबी गर्ने उनी 'कुनै पनि ग्राहकले आफू ठगिएको महसूस गर्नु नपरोस् भन्नेमा आफू अत्यन्त संवेदनशील रहेको उल्लेख गर्छन् । 'मेनू' मा उल्लिखित माले मा 'एभ्रिवडी फिट्स इन' संवादका क्रममा अङ्ग्रेजी र नेपाली सराबरी मिसाउँदै उनी उद्घोष गर्छन् । गुणस्तर, स्वाद र सरसफाईलाई सर्वाधिक महइभ्व दिइने उनका रेष्टुराँलाई 'ब्राण्डिङ' नगर्दा उपयुक्त हुने उनको कथन छ । 'वी भ्यालु फर मनी' उनी अगाडि थप्छन् ।
वर्षेनि अर्बौँको खाद्यसामग्री आयातले भुक्तानी सन्तुलनमा असर परेको ठान्ने कक्षपति व्यापार विस्तारका प्रशस्त सम्भावना देख्छन् । कृषिमा आधारित उद्योगको मात्र विकास गर्न सके पनि ठूलो धनराशि विदेशिनबाट जोगाउन सकिने भएकाले त्यसतर्फसोच्न अपरिहार्य भएको उनलाई लाग्छ । 'मासु र फलफूलको अत्यधिक माग भए पनि न्यून उत्पादनका कारण धान्न सकिएको छैन ' सधैँ सकारात्मक सोचका साथ काम गर्न सुझाव दिने उनी राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र प्रभावित हुन नहुने ठान्छन् । संसारका जुनसुकै प्रजातान्त्रिक मुलुकमा सत्तापक्ष र प्रतिपक्षबीच वैचारिक विभेद हुनुलाई वास्तविक लोकतन्त्रको अभ्यास भन्ने उनी अर्थतन्त्रलाई राजनीतिबाट मुक्त पार्नुपर्ने तर्क गर्छन् । उच्च शिक्षाका निम्ति युवापुस्ता मुग्लान पस्ने क्रममा आएको वृद्धिसँगै ढुकुटी रित्तिएकोमा उनी पिरोलिएका छन् । शैक्षिक विकासमा निजीक्षेत्रको भूमिका सरकारले स्पष्ट गर्न जरुरी भएको ठान्ने उनले नीतिनियमको अक्षरशः पालनामा जोड दिन्छन् । राजनीतिबाट प्रेरित भएर ट्रेड युनियनहरूले गतिविधि गरेकोमा खिन्न कक्षपति 'व्यवस्थापन र मजदूरबीचको सन्तुलन' लाई ट्रेड युनियनको मूल मर्म ठान्छन् ।
गीतसङ्गीत भनेपछि हुरुक्क हुने कक्षपतिको कार्यालयको वातावरण पनि सङ्गीतमय छ । गीतसङ्गीतको मधुरमन्द आवाजबाट गुञ्जायमान उनको सम्पूर्ण कार्यालय परिसरमा पस्नेबित्तिकै जोकोहीलाई मनोरञ्जन हुन्छ । उनको कार्यकक्षमा रहेको बडेमानको टेलिभिजनले होम 'थेटर'को झझल्को दिन्छ । लामो पदयात्रा र विदेशको भ्रमणमा पनि उनको उत्तिकै शोख छ । धेरै मसलाको प्रयोग का कारण नेपाली खाना कममात्रामा खपत गर्ने उनी पश्चिमा खाना ज्यादा खान्छन् । लनटेनिस र पौडी खेल्ने उनलाई कार्यव्यस्तताले व्यायामको फुर्सद छैन । दुइ सन्तानका पिता उनले बिहानबेलुकाको समय परिवारका लागि छुट्टयाएका छन् । 'म ग्याजेट फ्रिक होइन' आवश्यकतानुसार उपकरण उपयोग गर्ने उनी आफूलाई त्यस्ता सामान फेर्ने बानी नभएको स्पष्ट गर्छन् ।
आफ्ना पितालाई 'रोलमोडल'मान्ने कक्षपति धर्ममा विश्वास गर्छन् तर मन्दिर जाँदैनन् । बुद्ध दर्शन र शिक्षाको अभ्यास गर्ने उनी आफू बसेको समाजका निम्ति केही गर्नु सबै नागरिकको कर्तव्य ठान्छन् । चार दशकदेखि रेष्टुराँ व्यवसायमा लागेका उनले १० वर्षभन्दा बढी समयदेखि जन्मजात कान नसुन्ने र बोल्दै नबोल्नेहरूलाई आत्मनिर्भर बनाएर 'संस्थागत सामाजिक उत्तरदायित्व' (सीएसआर) निर्वाह गर्दै आएका छन् । कसैलाई नगद दिए मात्र 'सीएसआर' हुने तर्कसँग उनी असहमत छन् ।