शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''एड होइन ट्रेड'' - बालकृष्ण श्रेष्ठ
अध्यक्ष, हामा ग्रूप अफ इण्डष्ट्रियल एण्ड ट्रेडिङ हाउस

'गुरु गुड चेला चिनी' । यो आहान उनको जीवनमा ठयाकै मिल्छ । किनभने उनी गुडजति मात्र गुलिया भए पनि उनका चेलाहरू प्रशोधित चिनीजस्तै सपाट र सुस्वादु छन् । प्रतिष्ठित उद्योगपति विनोद चौधरी र एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल उनका चेला हुन् । गुरुचेलाबीच व्यावसायिक कामको सिलसिलामा बारम्बार भेट भइरहन्छ । आफ्ना शिष्यहरूले गरेको प्रगति देख्दा हामा ग्रूप अफ इण्डष्ट्रियल एण्ड ट्रेडिङ हाउसका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई गौरव र गर्वको अनुभूति हुन्छ ।

२०२७ सालदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन थालेका उनले शिक्षण पेशालाई एक दशकसम्म निरन्तरता दिए । विश्वविद्यालयमा प्राध्यापन थालेको ३ वर्षमा नै उनले उधारोमा 'छड र सिमेण्ट'को व्यापार थालेका हुन् । विश्वविद्यालयमा आंशिक शिक्षकका रूपमा अध्यापन थालेको केही वर्षमा उनले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगको वरिष्ठ अनुसन्धान अधिकृतबाट सरकारी जागीरमा बिट मारेका हुन् । 'निर्माण सामग्रीको बजार राम्रो भएकाले छड र सिमेण्टको व्यापार थालेँ,' चार दशकअघि सानो कोठाबाट शुरु भएको व्यवसाय सम्झँदै उनले भने । जनसर्म्पर्क बढाउन र प्रतिष्ठा कमाउन निजामती सेवातिर लागेको उनी बताउँछन् । इमानजमानमा सामग्री ल्याएर बेच्दाबेच्दै उनको मुनाफा पनि बढ्दै गयो । त्यही कमाइले उनलाई अहिले अर्बौंको मालिक र समाजमा प्रतिष्ठित उद्यमी बनाएको छ । दैनिक १८ घण्टा परिश्रम गर्ने उनी कामबाट कहिल्यै थाक्दैनन् ।  

बिहान १० नबज्दै कार्यालयमा भेटिएका श्रेष्ठ 'माइस प्ले ह्वेन क्याट इज अवे' अर्थात् कसैले डिष्र्टब गर्नुअघि नै काम गरिसक्नुपर्ने र त्यसको दृष्टान्त आफै हुनुपर्ने तर्क गर्दै गलल्ल हाँस्छन् । उनका बाबुबाजेले पाँच पुस्तादेखि मखनमा थोक तथा खुद्रा पसल सञ्चालन गर्दै आएका थिए । तर, आफ्नो व्यवसाय गर्न उनले घरबाट एक सुका लिएनन् । २०१७ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेबित्तिकै उनले मासिक २५ रूपैयाँ तलबमा पाटनको एउटा विद्यालयमा पढाए । जीवन धान्न आफैले मिहिनेत गर्नुपर्छ भन्ने मान्यताप्रति अडिग उनले कसैसँग सहायता नलिएका हुन् । समय व्यवस्थापन, इमानदारी र परिश्रमी हुन सबैलाई सुझाउने श्रेष्ठ ऋण लिएपछि समयमा नै तिर्नुपर्नेमा जोड दिन्छन् । शिष्टाचारमा पैसा पर्दैन भन्ने उनी विनयी हुन तथा कमप्रति प्रतिबद्ध भएर अघि बढ्न कर्मचारीलाई घचघच्याउँछन् । 'बाबुले बनाएको स्टेजमा डान्स गर्न सजिलो छ' आफूले सृजना गरेर आजको अवस्थामा आइपुगेको ओजपूर्ण अभिव्यक्ति दिने उनी जतिसुकै वैभवशाली एवम् सम्पन्न भए पनि आफ्नै पौरखमा उभिनेलाई सामर्थ्य मान्छन् । व्यावसायिक गोपनीयता भङ्ग गर्ने र शिष्टाचारविहीन मान्छे उनलाई फिटिक्कै मन पर्दैन । कर्मचारीलाई आफ्नै परिवारका सदस्य मान्ने उनी कहिलेकाहीँ कम्पनी घाटामा गए पनि बोनस  दिएर खुशी पार्छन् ।

साखः ग्रूपका निर्देशक किरण साखःलाई व्यवसाय गर्न खप्पिस भद्र व्यक्तिका रूपमा चित्रित गर्छन् उनी । सट्टामा साखः श्रेष्ठलाई अति मिलनसार, मृदुभाषी एवम् काठमाडौंको नेवार समुदायका अग्रणी 'बिजनेश लिडर'को विशेषणले विभूषित गर्छन् । श्रेष्ठको तत्काल निर्णय गर्ने क्षमता र कार्यव्यवस्थापन पद्धतिबाट आफू प्रभावित भएको साखः बताउँछन् ।

नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत्, पर्यटन र कृषिक्षेत्रलाई सँगसँगै विकास गर्नुपर्नेमा जोड दिने श्रेष्ठ बिजुली विकासका 'ठूला कुरा गर्ने तर काम नगर्ने'हरूलाई चुनौती दिन्छन्- बिजुली बालेर देखाउन । सडक, पुलपुलेसा, नहर, विमानस्थललगायत भौतिक पूर्वाधार विकासका निम्ति सरकारी स्तरमा 'पूर्वाधार विकास कोष' स्थापना गर्नुपर्ने उनको मत छ । बजेटमा नै त्यससम्बन्धी व्यवस्था हुनुपर्ने तथा नेपाल राष्ट्र बैङ्कले देशभरका बैङ्क तथा वित्तीय संस्थासँग कोषका निम्ति रकम सङ्कलन गर्नुपर्ने उनको सुझाव छ । 'क वर्गका बैङ्कसँग उनीहरूको चुक्ता पूँजीको ५, विकास बैङ्कबाट ३, वित्तीय संस्थाहरूबाट १ प्रतिशत र सहकारीलाई पनि केही प्रतिशत तोकेर उक्त कोषमार्फत विकासको लहर ल्याउनुपर्छ' नेपाल-एसबीआई बैङ्कका अध्यक्षसमेत रहेका श्रेष्ठ कर्जामा राखिने 'लोन लस प्रभिजन' लाई पनि यसमा प्रयोग गर्नुपर्छ भन्छन् । नेपाल अब 'एड' होइन 'ट्रेड'बाट चल्नुपर्ने उनको बुझाइ छ ।

टाटा, बिडला तथा बिल गेट्सजस्ता विश्वविख्यात व्यवसायीका जीवन-वृत्तान्त पढ्न रुचाउने ६८ वर्षीय श्रेष्ठका दुइ छोरी एक छोरा छन् । मातापिताका नाममा वृद्धाश्रम स्थापना र आफ्नो जीवन-वृत्तान्त लेख्ने परियोजनालाई लक्ष्य बनाएका उनी 'आजीवन काम गर्नुपर्ने' बताउँछन् । र, त्यसबाट आफू कहिल्यै 'रिटायर' नहुने चाहना व्यक्त गर्छन् ।