आधा शतकको समर्पण
बाबुलाल चाचान
अध्यक्ष
चाचान समूह
२०१८ सालमा भारतबाट कपडा ल्याएर वीरगञ्जमा सानो व्यापार शुरू गरेका बाबुलाल चाचानलाई व्यवसायप्रतिको समर्पणभावले नै त्यो शहरकै प्रतिष्ठित व्यापारी बनाएको छ । अहिले चाचानसमूह मुलुककै एक प्रतिष्ठित व्यावसायिक घराना हो । 'कडा मेहनत, परिश्रम र लगनशीलताको सम्मिश्रम हो यो सबै,' व्यवसायमा सफलता प्राप्त गर्नुको रहस्य बताउँछन् भन्छन् बाबुलाल ।वीरगञ्जमा चाचानसमूह आफ्नै खालको पहिचान बनाउन सफल भएको छ । वीरगञ्जभित्र ११ ओटा उद्योग सञ्चालनमा छन् सो समूहका । योसँगै बाबुलालको पहिचान पनि व्यवसायीबाट उद्योगपतिमा समेत रूपान्तरण भएको छ । यो समूहले आफ्ना उद्योगबाट उत्पादित सामान भारततर्फ समेत निर्यात गरिरहेको छ ।
आफ्नो ५० वर्षको व्यावसायिक यात्रा सफल भएकोमा सन्तुष्ट छन्, बाबुलाल । 'मेरो सपना पूरा भएको छ,' उनी भन्छन्, 'तर अझै गर्नुपर्ने काम धेरै छन् ।'सिमेण्ट, प्लाष्टिक, दाल र छालाजन्य उद्योगलगायतमा मरिमेटेर लागिपरेका छन् उनी । उमेरले ७५ वर्षपुगिसके । तर पनि व्यवसाय विस्तारको भोक र शुरू गरेको कामलाई सफल पार्ने सक्रियता घटेको छैन उनमा । आफ्ना सन्ततिलाई उद्योगव्यवसाय सञ्चालनको जिम्मा दिइसकेका छन्, तथापि अनुगमनको जिम्मेवारी भने उनी आफै पूरा गर्छन् ।
१ हजार १ सयभन्दा बढीलाई रोजगारी दिएको छ चाचानसमूहले । करीब रु. १ अर्बको लगानी छ उनको । वार्षिक कुल विक्री मात्रै ५ सय करोडको छ । ७ वर्षअघि बाबुलालले सञ्चालनमा ल्याएको नारायणी सिमेण्ट उद्योगले भारतीय बजारबाट आउने सिमेण्ट आयात कम गर्न सफल भएको छ । त्यस्तै, उनको दाल उद्योगबाट उत्पादित मुसुरो दाल सबैभन्दा धेरै विदेश निर्यात हुने वस्तुमा पर्छ । 'गत आवमा मात्रै २५ करोड मूल्यबराबरको छाला र दाल विदेश निर्यात गर्यौं,' उनी भन्छन् । उनले सन् १९७२ मा खाद्यवस्तुको थोक व्यापार शुरू गरेका हुन् । त्यसको १ वर्षपछि आदर्श तेल र दाल उद्योग स्थापना गरे । १९७६ मा उनले नारायणी राइस मिल र नारायणी लेदर उद्योग थपे । त्यस्तै, क्रमश: उनले वित्तीय संस्था क्षेत्रमा पनि हात हाले, जसको श्रीगणेश महालक्ष्मी फाइनान्सको स्थापनाबाट गरेका हुन् ।
वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेपछि उनी व्यवसायमै होमिए । उनी पढाइमा अब्बल थिए । सहपाठीहरू पढाइमा उनको क्षमता देखेर 'सरकारी उच्च ओहदामा जान्छौ,' भन्थे । 'मलाई सरकारी जागीरमा जाने रहरै जागेन,' उनी भन्छन् । उनले चाहेको भए त्यतिबेला सरकारी जागीरमा धेरै ठाउँमा उनको माग थियो । किनभने उनी क्याम्पसका सर्वोत्कृष्ट विद्यार्थी थिए । 'परिवारको पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहन्थेँ,' उनी भन्छन् । काममा जोखिम उठाउने साहस र व्यवस्थापकीय क्षमताले व्यवसायमा सफल हुन सकिने उनको बुझाइ छ । वर्तमानमा राजनीतिक अस्थिरताले आर्थिक मुद्दा ओझेलमा परेको बताउँछन् बाबुलाल । तर पनि भविष्यप्रति आशावादी हुनुपर्ने उनको मान्यता छ । २०४७ सालपछि राज्यले अपनाएको उदारीकरण नीतिले उद्योग-व्यवसायलाई प्राण भरे पनि वर्तमान राजनीतिक अस्थिरताले त्यसलाई छायाँमा पारेको उनको तर्क छ ।
बाबुलालले 'चाचान सेवा ट्रष्ट'मार्फत सामाजिक काम पनि गरिरहेका छन् । उनले वीरगञ्जको नारायणी अस्पतालमा जनरल वार्ड निर्माण गरिदिएका छन् । धर्मप्रति औधी आस्था राख्ने उनी आत्मशान्तिका लागि दैनिक पूजापाठ गर्छन् । राति ११ बजे सुतेर बिहान ६ बजे उठिसक्छन् । बेलायत, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, इटालीलगायत १० ओटा देशको भ्रमण गरिसकेका छन् उनले । सधैं सेतो पहिरन लगाउन रुचाउने बाबुलालको अध्ययनमा पनि रुचि छ । 'इतिहाससम्बन्धी पुस्तक पढ्छु,' उनी भन्छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई लामो समयसम्म अभिभावकत्व प्रदान गरेका उनले वीरगञ्जमा सुक्खा बन्दरगाह निर्माण गर्नका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए ।
Admin 2011-07-27